सिलगढी: जीटीएको प्रमुख कार्यपाल अनित थापाले पहाड़का चालकहरूको निम्ति ६० लाख ४० हजार लागतमा निर्माण हुने विश्राम गृहको आज शिलान्यास गरेका छन्। सिलिगढीको दार्जीलिङ मोडमा अवस्थित ट्रक स्ट्याण्ड परिसरमा चालकहरूको निम्ति निर्माण हुने विश्राम गृहको लागि शिलान्यास गरिएको छ। उक्त विश्राम गृहको शिलान्यास जीटीएको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट गरिएको छ। यस अवसरमा चुनावको समयमा चालक संगठनले विश्राम गृहको मांग राखेको उल्लेख गर्दै अनित थापाले भने, “विश्राम गृहको मांग चुनाव समयको मांग थियो। चालकहरुको निम्ति विश्राम गृह आवश्यक पनि रहेको छ। चालकहरु पहाडदेखि सिलगढी आउँछन्। उनीहरूको निम्ति दिउँसो विश्राम गर्ने कुनै ठाउँ नै छैन। कहिले काहीँ उनीहरूलाई सिलगढीमा नै रात काट्नु पर्ने स्थिति पनि रहन्छ। बिहान आएर बेलुकी फर्कनु पर्दा केही समय विश्राम गर्ने, नुहाउने आदि सुविधा पनि नरहेको स्थिति पाए। हामीले तपाईहरुलाई वचन दिएका थियौं आज त्यही वचन अनुसार विश्राम गृह निर्माणको शिलान्यास पनि भयो। भोलिदेखि यहाँ निर्माण कार्य शुरु हुनेछ। निर्माणपश्चात हामी विश्राम गृहलाई चालक संगठनलाई हस्तान्तरण गर्नेछौं। यसलाई तपाईहरु स्वयंले सञ्चालन गर्नु पर्नेछ।”
भागोप्रमो पार्टीले २०२१ को जीटीए चुनावको समय चालक संगठनलाई वचन दिँदै भनेको थियो कि हामी सत्तामा आएपछि चालकहरूको निम्ति सिलगढीमा विश्राम गृह निर्माण गर्नेछौं। आज त्यही वचन पालन गर्दै दार्जीलिङ मोडस्थित ट्रक स्ट्याण्ड परिसरमा चालकहरुको निम्ति विश्राम गृहको शिलान्यास भयो। यो विश्राम गृह ६० लाख ४० हजारमा निर्माण हुनेछ। आगामी ५ महिनाभित्र निर्माण पूर्ण गर्ने लक्ष्य राखेको पनि बताएका छन्।
आगामी दिनमा पहाडको विभिन्न ठाउँमा पार्किङको व्यवस्था पनि गरिने बताएका छन्।

यस अवसरमा दार्जीलिङ जिल्ला ट्रक मालिक एसोसिएशनको सभापति मन्ना त्रिखत्रीले जीटीए प्रमुख अनित थापाप्रति कृतज्ञता प्रकट गर्दै भने, “पहाडको इतिहासमा पहिलोपल्ट चालकहरुको हितलाई सोचेर विश्राम गृह निर्माण हुन गईरहेको छ। यो पहाडको निम्ति ऐतिहासीक दिन हो। आजसम्म कुनै पनि राजनैतिक दलले चालकहरूको निम्ति यस्तो सोच राखेर काम गरेका थिएनन्। जीटीए चुनावमा अनित थापाले दिनु भएको वचन आज पूरा भएको छ। सम्पूर्ण ट्रक ड्राइभर अनि मालिकको तर्फबाट उहाँलाई धन्यवाद छ।”