२७ जुलाईः दुधे युथ क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप 2022 फूटबल टुर्नामेण्टमा बुधवार खेलिएको म्याच चरम रोमाञ्चक रह्यो। स्थानीय दुधे खेल मैदानमा आज भएको म्याचमा मेथीबारी मेचेबस्तीले सिमाना एफसीलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट शाहिद साईबोले २८औं र ३७औं मिनटमा २ गोल गरे। यसरी नै सन्तोष साईबोले २६औं मिनटमा १ गोल गरे। यसरी नै सिमाना एफसीबाट नोर्साङ लामाले ३५औं र देवेन तामाङले ४०औं मिनटमा गोल गरे। अब बिहीवार तीनवटा म्याच खेलिनेछ। पहिलो म्याच गाड़ीधुरा र विंगर ब्रदर्सबीच खेलिनेछ। यसरी दोस्रो म्याचमा कात्यानी जीम र सामार्थ एफसी सालबारीबीच भिड़न्त हुनेछ। तेस्रो म्याच अल स्टार बाघडुग्रा र एलजीएससी खप्रेलबीच खेलिनेछ। यस सेभेन ए साइड टु्र्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा कोषाध्यक्ष विशाल शर्माले जनाएका छन्।