बाटोभन्दा माटो ठूलो हो, सहुलियतभन्दा आत्मा सम्मान ठूलो हो भन्ने दिन आज हो: निरज जिम्बा
सोनादा: गोरामुमो सोनादा टाउन कमिटीद्वारा सोनादा बजारमा अवस्थित रहेको शहीद टाँशी भुटियाको शहीद वेदीमा पूजा आर्चना गरी श्रद्धाञ्जली अर्पण गरेका छन्। यस अवसरमा दार्जिलिङका भाजपा विधायक निरज जिम्बाद्वारा सोनादा बजारस्थित शहीद टाँशी भोटियाको शहीद वेदीमा श्रद्धाञ्जली अर्पण गरेका छन्। शहीद वेदीमा श्रध्दाञ्जली अर्पण गरेपछि भाजपा विधायक निरज जिम्बाले पत्रकारहरूलाई सम्बोधन गर्दै गोर्खाको राजनैतिक इतिहासमा २७ जुलाई मुख्य दिन हो भन्दै बंगाल सरकारले गोर्खाहरूलाई अत्याचारको सीमाको परिधि नाघेको दिन हो भनी बताए। जिम्बाले दुई चारजना साथीहरू बिक्री भए पनि पहाड़मा अझैं पनि गोर्खाहरू मरेको छैन र पहाड़मा अझैं पनि माटो र अस्तित्वको मांग अझैं जीवित नै छ भन्ने दिन हो भनी बताए। दार्जिलिङका भाजपा विधायक निरज जिम्बाले अघि भने- “बाटोभन्दा माटो ठूलो हो, सहुलियतभन्दा आत्मा सम्मान ठूलो हो भन्ने दिन आज हो। वीर वीरंगनाहरूलाई सम्झना गर्ने दिन हो आज। शहीदहरू सहुलियतका लागि शहीद भएको होइन। हामीले शहीदलाई चाहिएको कुरा ल्याउनुपर्छ। शहीदलाई माटो चाहिएको छ र त्यसको लागि हामी कटिबध्द छौं र यसको लागि हामी काम गरिरहेका छौं।”