एसडीएफले नेपालीहरूलाई लागेको विदेशीको कलंक हटाउने के प्रयास गऱ्योः एलबी दास
गान्तोक: एसकेएम पार्टीको सांगठनिक समष्टिस्तरीय एवम् जनसभा गत केही दिनदेखि राज्यका विभिन्न निर्वाचन क्षेत्रमा सम्पन्न भइरहेको छ।
यसै क्रममा आज रिनाक निर्वाचन क्षेत्रस्थित बजारमा एसकेएम गान्तोक पार्टीको जनसभा सम्पन्न भयो। यस अवसरमा मुख्य अतिथिकोरूपमा राज्यका शहरी विकास विभाग मन्त्री एलबी दास उपस्थित रहेका थिए। विशिष्ट अतिथिकोरूपमा क्षेत्र विधायक एवम् मन्त्री विष्णु कुमार खतिवडा, सांगठनिक महासचिव पवित्र मानव लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री एलबी दासले जसले अहिले सिक्किम बचाउँछु भनेर हिँडदैछ उसले १९९३ मा सिक्किम मार्ने प्रयास गरेको दावी गरे। त्यसबेला राज्यका धेरै जना मानिसहरू मारिएको साथै धेरैको घरहरू तोडफोड गरिएको पनि उनले जानकारी गराए। त्यसबेलाका भुक्तभोगीहरूलाई यी सबै कुरा अवगत भएको उनले बताए। एसडीएफ सरकारको २५ वर्षको शासनकालमा नेपालीहरूलाई लागेको विदेशीको कलंक हटाउने के प्रयास गऱ्यो भन्दै उनले प्रश्न तेर्साए।
सोही प्रकारले कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्णु कुमार खतिवडाले रिनाक निर्वाचन क्षेत्रमा धेरै विकासका कार्यहरू भएको छ भनी बताए। २५ वर्षसम्म रोयेको रिनाकका मानिसहरू वर्तमान सरकारको पाँच वर्षको अवधिमा हाँस्न पाएको उनले किटान गरे। उनले भने, एसडीएफ पार्टीले क्यालेण्डर बाँडिरहनु, हामी विकास साथै विभिन्न सहुलियत वितरण गर्नेछौं।
यस निर्वाचन क्षेत्रमा एक दुई जनाले काममा बाँधा पुऱ्याएको पनि आरोप लगाए। राज्यका विपक्षी दलले यस निर्वाचन क्षेत्रमा जति नै कोशिश गरे तापनि यहाँबाट एसकेएम पार्टीनै विजयी हुने उनले ठोकुवा गरे। यदि २०१९ मा एसडीएफ पार्टीको पुनः सरकार आएको भए एक परिवार एक नौकरीमा काम गर्ने सबैको छुट्टी हुने थियो भनी उनले बताए।
यसै क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै एसकेएम पार्टीका सांगठनिक उपाध्यक्ष एवम् प्रभारी पवित्र मानवले राजनीतिमा एक अर्काको सुख दुःख बुझ्ने सामर्थ्य हुनु पर्छ भने। गाउँले सम्वन्ध विगारेर कसैले पनि राजनीति गर्न नहुने उनले सुझाउ दिए। सोंचमा परिवर्तन ल्याउनुपर्ने उनले आग्रह गर्दै अब सोंचलाई स्वास्थ्य राख्नु पर्ने उनले बताए। एसकेएम पार्टी सरकारमा आएपछि राज्यमा शान्ति छाएको पनि उनले किटान गरे।
आगामी २०२४ को चुनाउमा बलियो सरकार बनाउने हो भने विभिन्न पार्टी त्याग गरेर एसकेएम पार्टीमा सामेल हुनेहरूको भूमिका महत्वपूर्ण रहने बताए। उनले २५ वर्षे सरकारसँग वर्तमान सरकारको तुलना नगर्ने पार्टीका समर्थक साथै शुभचिन्तकहरूलाई आग्रह गरे। एसकेएम पार्टीले सदैव सकारात्मक राजनीतिक गर्दै आइरहेको किटान गरे। आगामी चुनाउमा एसकेएम पार्टीले सरकार गठन गरेपछि गाईले गाईकै बाछा चाट्छ भन्ने उक्तिलाई पार्टी र सरकारले लागू गर्ने उनले बताए।