दार्जिलिङ: प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १९ जनवरी २०२४ का दिन कालेबुङमा एउटा डिजिटल एफएम ट्रान्समिटरको स्थापनाका लागि शिलान्यास गर्ने भएको जानकारी दार्जीलिङका सांसद एंव भाजपाको राष्ट्रीय प्रवक्ता राजु विष्टले जानकारी दिएका छन्। आज सांसद राजु विष्टले प्रेस विज्ञप्चि जारी गर्दै भने, ‘बितेका केही वर्षदेखि मैले हाम्रो क्षेत्रमा अल इन्डिया रेडियो पूर्वाधारको समुन्नतिकरण सुनिश्चित गर्नका लागि काम गर्दै आएको छु र मैले माननीय सूचना एवं प्रसारण मन्त्री अनुराग ठाकुरलाई कालेबुङमा प्रसार भारतीका सम्पदाहरूको उपयोग गर्न अनि यसलाई एफएम प्रसारण केन्द्रमा समुन्नत गर्नका लागि अनुरोध गरेको थिएँ। हालैमा केन्द्रीय “ब्रडकास्टिङ इन्फ्रास्ट्रक्चर एन्ड नेटवर्क डेभलपमेन्ट” (BIND) योजना अन्तर्गत एउटा डिजिटल एफएम ट्रान्समीटर ₹३.३६ करोड़को लागतमा कालेबुङमा स्थापना गरिने छ। यसको स्थापनासँगै कालेबुङ शहर अनि वरिपरिका इलाकाहरूमा एफएम कार्यक्रमहरू एकदमै स्पष्ट आवाजमा सुन्न सकिने छ। यस केन्द्रले स्थानीय प्रतिभाहरू अनि लोक कलाकारहरूलाई बढ़ावा र प्रोत्साहन दिनमा महत्त्वपूर्ण भूमिका पनि निर्वाह गर्नेछ तथा स्थानीय युवाहरूका लागि रोजगारका अवसरहरूको सिर्जना गर्नेछ।’
सांसद विष्टले अघि भनेका छन्-‘बितेका पाँच वर्षदेखि हामी हाम्रो क्षेत्रमा आकाशवाणीको पूर्वाधारका लागि महत्त्वपूर्ण प्राविधिक समुन्नतिकरण सुनिश्चित गर्न सक्षम भएको कुरा साझा गर्न पाउँदा मलाई खुशी लागेको छ। आकाशवाणी खरसाङलाई दिसम्बर २०२२ देखि नै “भारतमा नेपाली समाचार बुलेटिन अनि कार्यक्रमहरूको राष्ट्रिय केन्द्र”को रूपमा समुन्नत गरिएको छ। आकाशवाणी खरसाङमा उत्पादित नेपाली समाचार बुलेटिन र कार्यक्रमहरू अब भारतभरि सुन्न सकिने भएको छ। समाचार एकांशमा पच्चीसदेखि पैंतिस प्रतिभावान युवा महिला एवं पुरुषहरूलाई संलग्न गरिएको छ। अब विश्वको कुनैपनि कुनाबाट मोबाइलमा NEWS ON AIR एप्पमा लाइभ स्ट्रिमिङद्वारा आकाशवाणी खरसाङबाट नेपाली भाषामा प्रसारण गरिने समाचार बुलेटिन अनि कार्यक्रमहरू सुन्न सकिन्छ। दार्जीलिङमा १० कि.वा. एफएम ट्रान्समीटरले पनि आकाशवाणी खरसाङका नेपाली कार्यक्रमहरू पूर्ण रूपमा रिले गर्न थालेको छ। यसको परिणामस्वरूप दार्जीलिङ जिल्लाका हरेक कुना-काप्चामा एफएम सिग्नल पुगिरहेको छ अनि मानिसहरूले नेपालीमा समाचार बुलेटिन, मनोरञ्जनात्मक कार्यक्रमहरू सुन्न सकिरहेका छन्। यसबाहेक, नेपाली भाषामा “सप्तरङ्गी” शीर्षकको सङ्गीत आधारित कार्यक्रम अगस्ट २०२२ देखि डीडी बाङ्ग्ला च्यानलमा प्रसारित भइरहेको छ र धेरै लोकप्रिय कार्यक्रम बनेको छ। हाम्रो दार्जिलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रका सबै स्थानीय सङ्गीत/नृत्य समूहहरूले आफ्नो प्रतिभाको प्रदर्शन गर्ने मौका पाइरहेका छन्।’
सांसद विष्टले अझ भने, मेरो वृहत्तर परिकल्पना डीडी गोर्खा च्यानलको स्थापना सुनिश्चित गर्नु रहेको छ अनि यसका लागि मलाई तपाईंहरू सबैको सहायता र समर्थनको खाँचो छ। कुनै पनि राम्रो परिणाम प्राप्त गर्नका लागि समय लाग्छ, तर मेरा प्रयास अनि तपाईंहरूको समर्थनद्वारा हामीले यो लक्ष्य अवश्य प्राप्त गर्न सक्नेछौँ भन्ने मलाई विश्वास छ।’









