२७ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित बेणु सुब्बा प्रीमियर डीविजन लीग फूटबल टुर्नामेण्टको चौथो दिन आज भएको म्याचमा युनाइटेड दार्जीलिङ फूटबल क्लबले रोमाञ्चक जीत हासिल गऱ्यो। लेबोङको गोर्खा स्टेडियममा भएको रोमाञ्चक म्याचमा युनाइटेड दार्जीलिङले तरुण खेलकुद संघलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल निवांग तामाङले छिराए। बिहीवार खेलिने म्याचमा दार्जीलिङ डायनामो र टीन्स फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। यसरी नै सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगितामा ग्लेनबर्न युनाइटेड एफसीले गोर्खा स्पोर्टिंग क्लब (नागरी)-लाई ४-१-ले पराजित गऱ्यो। ग्रुप डी-को यस म्याचमा विजेता टीमबाट एस शेर्पाले २ गोल गरे। यसबाहेक वाङचुक तामाङ र ए राईले १-१ गोल गरे। यसरी नै गोर्खा एससी-बाट प्रियांशु राणाले १ गोल गरे।