वर्षका बाह्रवटा मासमा बाह्रैवटा सग्राँती आउँदछन्। ‘सग्राँती’ शब्द संस्कृतको ‘सङ्क्रान्ति’ शब्दबाट आएको हो। ‘सङ्क्रान्ति’ भनेको सौर मासको पहिलो दिन अर्थात् १ गते हो। सङ्क्रान्तिको दिन सूर्य वा अरू कुनै ग्रहपुञ्ज एक राशिबाट अर्को राशिमा जाने काम वा त्यसरी प्रवेश गर्ने समय सङ्क्रान्ति हो। सजिलो गरी बुझ्नुपर्दा मासको पहिलो दिन हुँदछ। मार्ग सङ्क्रान्ति भनेको माघ मासको पहिलो दिन हो। यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। मकर सङ्क्रान्तिमा ‘मकर’ शब्दले मकर राशिलाई इङ्गित गर्दछ। मकर सङ्क्रान्तिको दिन सूर्य धनु राशिबाट मकर राशिमा संक्रमण गर्दछ अर्थात् सर्दछ। एक राशिलाई छाड़ेर दोस्रोमा प्रवेश गर्ने यस विस्थापन क्रियालाई नै सङ्क्रान्ति भनिएको हो। सूर्य मकर राशिमा प्रवेश गर्ने भएकोले यस संक्रान्तिलाई मकर सङ्क्रान्ति भनिएको हो। जनजिब्रोमा ‘माघे सग्राँती’। १२ सङ्क्रान्तिमध्ये मुख्य ४ वटा सङ्क्रान्तिलाई महत्त्वसित हेरिएको छ। ती हुन्- मेष, तुला, कर्क अनि मकर सङ्क्रान्ति। हुन ता ज्योतिष विद्या विकसित भएपछि नै हिन्दू धर्मग्रन्थहरूतिर पनि राशिको महिमा मण्डन गरिएका हुन्। इसा पूर्व १०००-तिर वेदान्तकालमा रचिएका ब्राह्मण विचार र उपनिषद्हरूमा उत्तरायणको महिमा भए पनि राशिका कुराकन्थै छैनन्।
चन्द्रको आधारमा मासलाई दुई भागमा विभाजन गरिन्छ- कृष्ण अनि शुक्ल पक्ष। यस्तै गरी सूर्यको आधारमा वर्षका २ भाग हुन्छन्- उत्तरायण तथा दक्षिणायन। माघे सग्राँतीको दिनदेखि सूर्य उत्तरायण हुँदछ। अयन भनेको बाटो वा हिँड़ाइ वा गति हो। उत्तरायण अर्थात् यस समयदेखि धरतीको उत्तरी गोलार्द्ध सूर्यको सम्मुखमा जानेछ अर्थात् उत्तरदेखि नै सूर्य निस्कन लाग्दछ। ६ मास सूर्य उत्तरायण हुनेछ र ६ मास सूर्य दक्षिणायन हुनेछ। पृथ्वीको गोलार्धमा सूर्य उत्तर दिशातिर ढल्कने माघे सङ्क्रान्तिदेखि असारे मसान्तसम्म ६ मासको समय उत्तरायण हो। त्यसपछि भूमध्य रेखादेखि उत्तरतिर रहेको कर्क रेखादेखि तल दक्षिण मकर रेखासम्म हुने सूर्यको गतिलाई दक्षिणायन भनिन्छ। साउने सङ्क्रान्तिदेखि पुस मसान्तसम्म सूर्य दक्षिणायन हुँदछ। माघ १ गतेदेखि जलवायुमा न्यानोपना बढ्दै रात छोटो, दिन लामो हुँदै जाँदछन्। आजदेखि दिन लामो हुँदैजान्छ। अँध्यारो घटेर उज्यालो बढ्नु अर्थात् सृष्टिको शुभारम्भ हुनु हो। सृष्टिको शुभारम्भ भनेको वृक्ष-वनस्पतिमा नवपल्लव आउनु हो। हिउँदमा सुकेका पौधामा पालुवा आउनथाल्दछन्। हिउँदमा घाम पूर्व दिशाको दाहिने कुनामा झुल्केर दाहिने-दाहिने भएर अस्ताउँदछ भने गर्मी लागेपछि देब्रेपट्टि झुल्किने र अस्ताउने हुन्छ । यही प्रक्रिया उत्तरायण र दक्षिणायन हुन्। उत्तरायणगामी सूर्य र प्रतापीको ऊर्ध्वगतिबारे कविशिरोमणि लेखनाथले ‘ऋतुविचार’-मा यसो भनेका छन्-
“समाते सूर्यले फेरि उत्तराकाशको गति।
प्रतापिको सदाकाल किन हुन्थ्यो अधोगति।।”
गोर्खाहरूले जस्तै भारतका विभिन्न जाति र राज्यहरूमा यसलाई भिन्न भिन्न नाम र पद्धतिले माघे सग्राँती मनाइन्छ। उत्तर प्रदेशको गोरखपुरमा खिचड़ी मेला लाग्दछ भने प्रयागराजमा कुम्भ मेला लाग्दछ। १२ वर्षमा एकपल्ट वा ६ वर्षमा एकपल्ट महाकुम्भ र अर्द्धकुम्भ मेला आयोजन हुन्छन् र त्यहाँ सुदूर पहाडका र सुदूर दक्षिणका योगीजन पनि भेला हुने गर्दछन्। ती योगीजन सग्राँती सकेपछि काशीको केदार घाटमा एक मास बस्दछन्। हाम्रोतिर माईबेनी मेला र जोरथाङ मेला प्रसिद्ध छन्। खोलाछेउ मेला गर्दामा नुहाउन र शौचलाई सुविधा पनि हुने गर्दछ। दुई नदीका सङ्गममा हुने मेलाको बेग्लै महत्त्व हुन्छ। दुई नदीका सङ्गमलाई पनि त्रिवेणी भन्ने गर्दछन्, जस्तै टिस्टा र रङ्गीतको त्रिवेणी। वेणी भनेको प्रवाह पनि हो। दुइटा बेग्लाबेग्लै नदी र मिलेर बगेको नदीका तीन प्रवाह त्रिवेणी। तीनवटै नदी हुनैपर्छ भनी ढिपी गर्नेहरूले प्रयागमा नभएको नदीलाई पनि कल्पनाले सरस्वती नदी नाम दिईकन मान्य बनाएकै छन् र भन्दछन्– गङ्गा, यमुना, सरस्वती। यसरी सरस्वती नदीबारे कैञौ मिथक रचना भए।
उत्तर भारतमा माघे सग्राँतीलाई खिचड़ी पर्व, पतङ्गोत्सव आदि पर्वको रूपमा मनाइन्छ। उत्तर पूर्वमा असमियाहरूले भोगाली बिहू मनाउँदछन्। पञ्जाब-हरियाणामा लोहड़ी, हिमाचल प्रदेशमा माघी, कश्मीर घाटीमा शिशुर सेङ्क्रात, बङ्गालमा पौष सङ्क्रान्ति, कर्नाटकमा मकर संक्रमण, गुजरात र उत्तराखण्डमा उत्तरायण, मध्य भारतमा सङ्क्रान्ति भनिन्छ र दक्षिण भारतमा ताई पोङ्गल वा उझवर तिरुनल। थाइल्याण्डमा सोङकरन, लाओसमा पि मा लाओ, म्यान्मारमा थिँयान, काम्बोडियामा मोहा सङक्रान, श्रीलङ्कामा पोङ्गल, उझवर तिरुनल मान्दछन्। सबैले तर घामलाई सम्झेकै हुन्छन्। यसको उद्देश्य सूर्यप्रति आभार प्रकट गर्नु हो, किनभने बाली पाक्नुमा घामको भूमिका अहम् हुँदछ। सबैले आफ्नै सुविधा, अनुकूलन, रुचि र विधिले यो पर्व मनाए पनि वनतरुलको टीका लाएर कन्दमूल खानेचाहिँ गोर्खा जातिमा मात्र छ।
आर्यहरूले होम गरेजस्तै वा पश्चिमीहरूले बोन-फाएर गरेजस्तै हाम्रा गाउँठाउँमा माघे सग्राँती मनाउन भेला भएका परिजनले एक दिनअघि साँझ गुटुटुटू आगा बाल्दथे र चामलको चरू, गुँड़, तरुल, मकै आदि अलिअलि चढाउँदथे। लोहड़ी मनाउनेहरूले पनि यसो गर्दा रहेछन् र भन्दारहेछन् ‘आधार आए दिलाथेर जाए’ अर्थात् ‘घरमा सम्मान आओस् अनि अभाव जाओस्’। हामीचाहिँ लुतो झारेर साउने सग्राँतीमा अगुल्ठा फ्ञाकी कराउँदछौँ– ‘उपिञा जा रुपिञा आइज’। खेतालाले खेतमा आगो बालेर अग्नि देव (जनजातिकी अग्निदेवी)लाई खेतीपातीको उत्पादन क्षमता बढ़ाइदिने प्रार्थना गर्दछन्। गोर्खा जातिमा माघे सग्राँती बिहान कोहीसँग नबोली जिउमा तेल घसेर खोला नुहाउने वा मकर नुहाउने चलन छ। नुहाएर पूजा गरीकन सूर्यलाई ढोगेपछि परिवारका वरिष्ठ सदस्यले काँचो वनतरुलका टीका लगाइदिँदछन्। वन तरुलका ससाना टुक्रा काँचै खाने चलन छ। पहिले त तरुल पोलेर तेलमा मिसाई टीका बनाउँदथे अनि काँचा तरुलहरू केराका पातमा हाली वनद्यौताहरूलाई चढाउने चलन पनि थियो।
कृषि प्रधान देशमा पर्वहरू प्रायः कृषिसितै सम्बन्धित हुन्छन्। उपलब्ध उब्जनी नै पर्वमा उपयोग हुँदछन्। मङ्सिरमा नै काटिएका तोरी, फापर, तिल अनि भर्खरै खनिएका तरुल आदि मनमोहक बालीले गर्दा यस पर्वलाई झनै महत्त्व दिने गरेको छ। जाड़ो याममा वातावरणको तापक्रम कम हुने कारणले शरीरमा रोगव्याधिको सम्भावना धेर हुन्छ। यसैलाई रोकथाम गर्न यो दिन तिल आदि परिकारले बनेका मिष्ठान्न बनाएर खाने, किसिम-किसिमका दाल पिँधेर फुलौरा बनाउने, घ्यू चाकु, विभिन्न तरुल, सखरखण्ड आदि पोसिला खानेकुरा खाएर माघे सग्राँती मनाउने परम्परा छ। यिनीहरूमा तातो बनाउने तत्त्व हुने भएकोले वैज्ञानिक कारणले पनि यसलाई प्रचलनमा ल्याइएको हो। यसमा शरीरको लागि लाभदायक पोषक पदार्थ समेत पाइन्छ। नेवार समुदायमा घ्यू चाकु, तरुल, सखरखण्ड राखी अलिबलिसहित समैबजी, ऐला, माछा, छ्वयला, खे (अण्डा)सहित छेवैका आ-आफ्ना ठाउँका गणेश तथा पीठमा गई पूजा, पितृलाई तर्पण अनि दीनदुःखी र ब्राम्हणलाई सिधादान समेत गरी आफू घ्यू चाकु, तरुल, समैबजी खाने भएकाले नेवार भाषामा यो मकर संक्रान्तिलाई घ्य:चाकु सन्हु र हाम्व सन्हु पनि भनिन्छन्। आजै नेपालको तराईका थारु समुदायमा माघी पर्व मनाइन्छ। गुरुङहरूले घाटू सेलाउने गर्दछन्। पूर्वमा त्रिशूलीदेखि पश्चिममा कर्णाली नदीबिच पाहाड़ी भूभाग पुरानो मगरात बस्ने र पछि अरूतिर छरिने लाङ्घाली (मगर)का लागि माघे सग्राँती मुख्य पर्व हो। आज किराती पात्रो यले सम्वत ‘यले दोङ’-को नववर्ष पनि हो। ताता ठाउँ तराई झरिझरी लिम्बूहरूले यस पर्व ३ दिन मनाउँछन्। लिम्बूहरूले माङहिम (माङ = द्यौता, हिम = घर) अर्थात् मन्दिरमा च्याब्रुङ बजाएर धान नाच्दै सिजौँवा (सिँ = गहुँ, मँवा = तातो पार्ने पानी) (पेय पदार्थ) खाँदै माघे सग्राँती मनाउँछन्। माघे मेला हुँदा गोर्खाका सबै जात भेला हुन्छन्। एउटा जातले आयोजन गरेका मेलामा सबै जात पुग्छन्। उदाहरणका लागि माईबेनी मेलामा लिम्बूहरूसित धान नाच्ने सबै जातका हुन्छन्। नेपाल, दार्जीलिङ पहाड़, तराई, डुवर्स, सिक्किमका विभिन्न पवित्र तीर्थ स्थलहरूमा मेला पनि लाग्ने गर्दछन्। नेपालमा तनहुँको देवघाट, सुनसरीको बराहाक्षेत्र, नुवाकोटको देवीघाट, भक्तपुरको टौमढी टोलस्थित माधव नारायण (वाकुपति नारान) चोकमा गाईलाई उसिनेको गहुँ खुवाउने र वाकुपति नारानलाई घ्यू चाकु र तिलले अभिषेक गर्ने परम्परा रहेका छन्। यसै दिन भक्तपुरमै पाँचवटा विहारका दीपङ्कर पञ्चबुद्धहरू (अजाजु)-को जात्रा हुने गर्दछन्।
यस दिन खाइने परिकारको समेत आफ्नै महत्त्व रहेको छ। विशेषगरी माटोमुनि फल्ने तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डु, फुलौरा, खिचड़ी पनि खाने प्रचलन छ। जाड़ो याममा शरीरलाई धेरै पौष्टिक आहार चाहिने भएकाले माघे सग्राँतीमा खाइने यी आहारले शरीरलाई आवश्यक शक्ति दिई रोगसँग लड्ने क्षमतासमेत बढाइदिँदछन्। तिलमा पर्याप्त क्याल्सियम र भिटामिन बी हुनाले शरीरलाई ऊर्जा दिने, सखरखण्डमा कार्बोहाइड्रेट धेर हुने, ए र डी भिटामिन हुने, गुलियो भए तापनि यसमा उच्च स्तरमा चिनीको मात्रा नहुने र फाइवरसमेत प्रशस्त पाइने हुनाले शक्ति दिने, आँखा र हड्डी बलियो बनाउने, अनावश्यक तौल घटाउने अनि मलावरोध सुचारु बनाउने हुन्छ भनिन्छ। नेवार अनि खस समुदायमा यस दिन आमाहरूले आफ्नो परिवारका सदस्यहरूको सुस्वास्थ्यको कामना गर्दै आफ्ना नानीहरूका टाउका तथा शरीरमा तोरीको तेल घसिदिन्छिन्, कानमा पनि तेल हालिदिन्छन्। घिउ घस्दा पनि हुने तर तेल नै किन घस्नु भन्नेबारे पनि वैज्ञानिक मान्यता के छ भने घिउ खानमा शक्ति छ अनि तेल खानमा भन्दा घस्नमा शक्ति छ। मकर नुहाउनेहरूले पनि पहिले तेल लाएर मात्र डुबुल्की लिने प्रथा छ। तैल मर्दनले त्वचाका छिद्रहरू खुल्दछन् भनिन्छ। यस दिन शरीरमा तोरीको तेल लेपन गर्नाले शरीरका सम्पूर्ण दूषित पदार्थ बाहिर निस्कन्छन् भने शरीरका नाडी तथा स्नायुमण्डल र हड्डीहरूलाई तेलले सुदृढ र स्वस्थ राख्न सहयोग गर्दछ तथा छालासम्बन्धि रोग पनि सञ्च हुन्छ भनिन्छ।
हाम्रा जनजातीय चाड़पर्व पर्यावरणप्रिय हुन्छन्। हामी मूलतः जनजाति नै हौँ। आफूलाई अरूले सभ्य मानून् भनेर स्थापित धर्ममा लागेर संस्कृतिको नाममा प्रकृति नाश गर्नमा लाग्यौँ। सभ्य हुने स्वाङ पार्दापार्दै अचेल नेपाली शब्दहरू दबाइन्छ र अरबी-फारसी लादिन्छ। आफ्नो जीवनशैलीसित मिल्ने झ्याउरे, सेलो, सङ्गिनी, दोहोरी, लहरी, सवाईहरू प्रोन्नत गर्नाको साटो गजल, मुशायरा, रुबाई, हाइकुतिर मक्ख हुन्छौँ। आफ्नो भाषा संस्कृति देखाउनु लजाउने तर अर्काको लिने दास प्रवृत्तिले गर्दा आफैले दुःख पाउँदछौँ। हाम्रा मूल्य-मान्यताहरू प्रकृतिमय थिए। अझ विदेशी धर्म-संस्कृतिले त पर्यावरणविरोधी जीवनशैली सिकाइरहेका छन्। स्थापित धर्महरूले जनजातीय जीवन पद्धति निमिट्यान्नै पारेका उदाहरण संसारभरि पाइन्छ। धर्म प्रचार गर्ने उद्देश्यले जनजातीय संस्कार-संस्कृतिलाई धर्मसित जोड़ेर व्याख्या गर्दछन्। हिन्दू धर्मग्रन्थहरूले माघे सग्राँतीलाई घरि सूर्य र उनको छोरो शनिसित मिलाएर बाबु-छोरोको मिलनसित जोड़िदिएको पाइन्छ भने घरि भगिरथले तपस्या गरीकन गङ्गाजीलाई पृथ्वीमा उतारेको अनि अयोध्यामा जह्नु ऋषिको आश्रम हुँदै गङ्गासागर पुगेकी अनि त्यहाँ भगिरथले पितृ तर्पण गरेको कथासित जोड़िदिएको पाइन्छ। गङ्गाजी सम्झेर धारा-खोलामा आज नुहाए पाप काटिने र मोक्ष पाउने विश्वास प्रचारमा छ। शैवहरूका कथामा आज शिवजीले विष्णुजीलाई आत्मज्ञान दिएको कथा प्रचार गर्दछन् भने वैष्णवहरूले विष्णुजीले असुरहरू समाप्त गरी युद्ध सकिएको घोषणा गरेका कथा सुनाउँदछन्। बाबु शान्तनुबाट इच्छामृत्युको वरदान पाएका भीष्म वाणशय्यामा रहेर पर्खेर पनि माघे सग्राँतिमा सूर्य उत्तरायण हुनथालेपछि शरीर त्याग गरेको कथा महाभारतमा पाइन्छ। बौद्ध धर्ममा अर्पण, तर्पण र समर्पणजस्ता परकल्याण, सम्प्रीति र सद्भाव आदि आध्यात्मिक भावनाका कथा माघे पर्वसित जोड़िएका छन्।
माघे सग्राँतीको दिन सग्राँती भाग बाँड़्ने चलन पनि छ। मगरहरूबाट सिकेको भाग बाँड़्ने प्रक्रियालाई मिस्रा बाँड़्नु भनिन्छ। मगरहरूले चेलीबेटीलाई पूजेर मिस्रा दिन्थे भने अचेल चामल फलफुल तरुल रोटी आदिका मिस्रा घरघर बाँड़िन्छ। मस्यान्द्रा खोल्नु पनि मगरहरूले सिकाएको बुझिन्छ। घरबेटीले प्रत्ययेक मस्यान्द्रा टोलीलाई सालको पातबाट बनेका टपरीमा एक टपरी चामल गहुँ र फापरको रोटीसहित सकेजति दक्षिणा रुपिञा दिने चलन रहेको छ। यसरी मस्यान्द्रा माग्दै घर-घरमा डुल्ने कामलाई नै मस्यान्द्रा खेल्ने भनिन्छ। मागेको मस्यान्द्रालाई संकलन गरेर एक दिन विशेष गरेर चेलीहरूले घरदेखि बाहिर गएर सङ्गीहरूसँग रमाइलो गर्दै खाने गर्दछन्। माघे सग्राँतीमा मकर नुहाएर फर्कँदा जौँका आँकुरा टिपेर कान वा केशमा झोम्पलेनी लगाउने गर्दथे। पहिले मगरहरूले माघे सग्राँतीमा स्याम्भो गाउँदथे। अचेल सबै जातले स्याम्भो गीत गाउन थाले। संस्कृतिलाई प्रकृतिमा नराखेर विकृति गराउनेहरूले चाहिँ ऱ्याप गाउँदछन्। माघे सग्राँतीमा युवाहरूले तारो हान्ने खेल खेल्दथे। चान हान्नु पनि भन्दथे। अचेल सुटिङ कम्पिटिसन भयो।
माघे सग्राँतीलाई वसन्त ऋतुको आगमनको संकेतको रूपमा पनि लिइन्छ। चिसो ठाउँमा भने सरस्वती पूजादेखि वसन्त ऋतु लागेको मानिन्छ भने अझ लेकतिर लोसरदेखि मात्र वसन्त लाग्दछ। “कठ्याङ्ग्रिने जाडोमा मरिन्छ कि कसो?” भन्ने भयले उखान नै बनियो- “लुतेलाङ्ग्रा माघलाई बलिया बाङ्गा बाघलाई”। “माघको जाड़ोमा घुम्नजाऔँ गाड़ीमा, माया मारी जानेलाई सम्झन नै जानिनँ”-जस्ता माघबारे गीतहरू पनि थुप्रै छन्। माघको ठिहीमा बाँच्न हम्मे पर्ने र साउने सग्राँतीसम्म बाँच्नसके “बल्ल बाँचियो” भनी माघदेखि असारसम्मको छ मास अनिकालजस्तै स्थितिको कैरन बुढापाकाका मुखबाट अझ सुनिन्छ। अहिलेकालाई पुगिसरी छ, यस पुगिसरीले पुर्ख्यौली पौरखलाई परख गरी आगतका आँखा ओभानो बनाउने प्रचेष्टा गर्लान्। माघे सग्राँती सबैलाई शुभकारक होस्।।