वरिष्ठ कवि, गीतकार, नाटककार, पत्रकार एवं सम्पादक नरेन्द्र खड्का पञ्चतत्वमा विलीन

fb75afeb-fc05-45a5-b934-dad6508a9036

बाग्राकोटः डुवर्सका वरिष्ठ कवि, गीतकार, नाटककार, पत्रकार एवं सम्पादक नरेन्द्र खड्का पञ्चतत्वमा विलीन भएका छन्। आज स्थानीय लिस नदीमा उनको अन्तिम संस्कार गरियो। लिभर समस्या र अन्य जीर्ण रोगका कारण लामो समयदेखि ओछ्यान परेका खड्काको बुधवार साँझ ५.३० बजे बाग्राकोटस्थित निजी निवासमा निधन भएको थियो। उनी ७१ वर्षका थिए। उनले आफूपछि पत्नी, तीन छोरा-बुहारी र नाता-नातिनीहरू छोड़िगएका छन्। उनको १३ दिने शुद्धिकार्य आगामी १५ जनवरीको दिन निजी निवासमा हुने पारिवारिक सूत्रले जानकारी दिएको छ। दाह-संस्कार गर्नअघि निबन्धकार अजय खड्काले उनका कर्महरूको संक्षिप्त मूल्याङ्कन गरे भने स्थानीय समाजसेवी वीरबहादुर महतले उनको कविता ‘विसर्जन- एक आत्मस्वीकृति’ वाचन गरे। खड्कारचित यो कविताले मृत्यु भएपठि चितामा उनी कसरी खरानी हुन्छन् र नभमा कसरी त्यो बिलाउँछ भन्ने मार्मिक ‘आत्मस्वीकृति’ तथा मृत्युपछिको स्थितिको पूर्वाभास दर्शाएका छन्। कविताले सबैलाई विह्वल बनाएको थियो। उनलाई मुखाग्नि दिनअघि एक मिनटको मौनधारण गरियो। वरिष्ठ साहित्यकार एवं खड्काका प्रिय मित्र गोपालसिंह विश्व, साहित्यकार रूपेश शर्मा, खरसाङका विधायक बीपी बजगाईं, वरिष्ठ गायक अजय थापा, युवा चित्रकार देबेन देवान, वरिष्ठ साहित्यकार शङ्कर प्रधान, डुवर्सका फुटबल दिग्गज अजीत खड्का, नरेन्द्र खड्काका अन्यतम मित्र केबी महतलगायत बुद्धिजीवी, समाजसेवी तथा स्थानीय मानिसहरू शवयात्रामा सहभागी बनेका थिए।
३० मई, १९५३ मा जन्मिएका नरेन्द्र खड्कालाई गीत लेखनमा ‘डुवर्सका हरिभक्त कटुवाल’ भन्ने गरिन्छ। कुनै पनि तोकिएको विषयमा गीत लेख्न अह्लाए उनी तत्कालै बसेकै ठाउँमा गीत लेख्न सक्ने भएकाले कतिले उनलाई ‘आशु गीतकार’ पनि भन्ने गरेका छन्। सत्तर र अस्सीको दशकमा उनले डुवर्सेली नेपाली नाटकलाई समृद्ध बनाउन महत्त्वपूर्ण योगदान दिए। नाटक लेखन, निर्देशन, मञ्चन र अभिनयको क्षेत्रमा पनि उनी विशेष थिए। पारिवारिक तथा पेशागत जीवनका विभिन्न उतार-चढ़ाउबिच उनले सिक्किममा झण्डै अढ़ाई दशक पत्रकारिता गरे। सिक्किम बसाइमा उनले ‘हिमाली बेला’ र ‘हाम्रो प्रजाशक्ति’ जस्ता दुई प्रमुख नेपाली दैनिकमा क्रमैले सम्पादक र सह-सम्पादकको पदमा रहेर झण्डै दुई दशक काम गरे। उनी केही काल निर्माण प्रकाशनसँग पनि जोडिएका थिए। निर्माण प्रकाशनले उनको एउटा काव्य-नाटक पनि प्रकाशित गरिदिएको थियो। सिक्किम बसाइमै उनले हरिश मोक्तान ‘अल्लरे’-सँग मिलेर ‘हस्ताक्षर’ नामक पत्रिकाको सम्पादन गरेका थिए, जो एक अङ्कसम्म मात्र निस्क्यो। कोरोनाको प्रकोपले गर्दा उनी सिक्किम छोडेर बाग्राकोट आई घरमै बस्न थालेका थिए। आफ्नो साहित्यको शुरुआती यात्रामा उनले १९७३ देखि १९७८ सम्म प्रकाशित ‘प्रयास’ (पाँच अङ्कसम्म प्रकाशित) -को सम्पादन गरेका थिए। यो त्यसबेलाको स्तरीय पत्रिकाहरूमध्ये एक गनिन्छ। उनका धेरै रचनाहरू विभिन्न पत्र-पत्रिकामा छरिएर रहेका छन् भने तीनवटा मात्र कृति ‘फूलहरूः काँढ़ाहरू’ (टीका पराजुलीसँगको संयुक्त कविता सङ्ग्रह/१९७७), ‘विच्छिन्न विश्वासका विम्बहरू’ (काव्य नाटक/१९९७) र ‘ज्योति–ज्वाला-ज्योत्स्ना’ (कविता-गीत-मुक्तक सङ्ग्रह/२०२३) प्रकाशित छन्। उनका थुप्रै नाटकहरू प्रकाशनमा आउन बाँकी नै छ।
डुवर्सका विशिष्ट प्रतिभा नरेन्द्र खड्काको निधनमा डुवर्स नेपाली साहित्य विकास समितिले गहिरो शोक प्रकट गरेको छ। विकास समितिका महासचिव रविन खवासले खड्काको निधनले डुवर्सले एक विराट् प्रतिभा गुमाउन परेको मन्तव्य गरे। उनले भने, “नरेन्द्र खड्का एक उच्चस्तरीय प्रतिभा हुन्। उनले गीत काव्य, नाटक र सम्पादनको क्षेत्रमा जुन अवदान दिएका छन्, त्यो डुवर्सको नव प्रजन्मले अवश्यै मूल्याङ्कन गर्नेछ भन्ने मलाई विश्वास छ।” यसैगरी, बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले पनि खड्काको निधनमा शोक प्रकट गरेको छ। प्रतिष्ठानका मूलसचिव रूपेश शर्माले नरेन्द्र खड्काको निधन साहित्य जगतको मात्र क्षति नभएर गीत-सङ्गीत जगतको पनि क्षति हो भनी बताए। उनले भने, “खड्का विरलकोटिका प्रतिभा हुन्। उनले आफूले आफैलाई चिन्न सकेनन्, हाम्रो समाजले पनि चिन्न सकेन। प्रतिभा चिन्न र उनीहरूको संरक्षण गर्न नसक्ने समाज पछौटे हुन्छ। हामी उनका अप्रकाशित कृतिहरूलाई प्रकाशन गर्ने प्रयास अवश्यै गर्नेछौँ। ” बाग्राकोटको साहित्य परिक्रमा परिवारले पनि उऩको निधनमा शोक जताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *