‘सारथी सम्मान’ कार्यक्रमलाई लिएर प्रचार प्रसार

सोरेङ: आउँदो २७ जुलाईको दिन सम्पन्न भइरहेको राज्य स्तरीय ‘सारथी सम्मान’ कार्यक्रमलाई भव्य बनाउन सत्तारूढ एसकेएम पार्टीको भातृ संगठन चालक मोर्चाका पदाधिकारीहरु युद्धस्तरले प्रचार प्रसारमा जुटेका छन्। उक्त कार्यक्रम राज्यको यातायात विभागको तत्वावधानमा भइरहेको छ। चालक संगठनको राज्य स्तरीय महासचिव केलु छेत्रीको नेतृत्वमा सत्तारूढ एसकेएम पार्टीको पश्चिम जिल्ला चालक संगठनका अध्यक्ष निमा भोटिया, उपाध्यक्ष नवीन परिवार, महासचिव सञ्जय गुरुङ र समन्वयक (दोस्रो) टीबी सुब्बा र प्रतिनिधि टोलीको अगुवाइमा सोरेङ र गेजिङ जिल्ला अन्तर्गत विभिन्न समष्टिको भ्रमण गरेर चालकहरुसँग भेटघाट गरे।

भ्रमण टोलीले मानेबुङ-देन्ताम क्षेत्रका प्रभारी पूर्णहाङ सुब्बा र रिञ्चेन्पोङ समष्टिका प्रभारी फूर्बा छिरिङ भोटियासँग पनि आउँदो सारथी सम्मान कार्यक्रम विषयमा परिचर्चा गरे। चालक संगठनका राज्य स्तरीय महासचिव केलु छेत्रीले बताए अनुसार, कार्यक्रममा उपस्थितिको निम्ति चालकहरु उत्साहित छन्। सारथी सम्मान कार्यक्रमलाई भव्यता प्रदान गर्न समष्टि-समष्टिका चालकहरुसँग भेटघाट गरी कार्यक्रमको औचित्यमाथि पनि जानकारी गराएको बताए।
उल्लेख्य, आउँदो २७ जुलाईको दिन राङ्का रेसिथाङस्थित खेलगाउँमा यातायात विभागको तत्वावधानमा सारथी सम्मान कार्यक्रम सम्पन्न भइरहेको छ। उक्त कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित रहने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement