सिक्किम महिला फुटबल टोलीलाई रम्फूमा भव्य स्वागत जनाइयो

गान्तोक: सिक्किम महिला फुटबल टोलीलाई आज रम्फूमा भव्यरूपमा स्वागत जनाइयो। सिक्किम फुटबल एसोसिएशन (एसएफए) का कार्यकारी अध्यक्ष छुङछुङ भोटिया लगायत अन्यहरूले स्वागत जनाए। उल्लेखनीय छ, मणिपुरमा सम्पन्न पूर्वोत्तर महिला फूटबल लीगमा सिक्किम महिला फूटबल टोली उप-विजेता बनेको थियो। साई स्पोर्ट्स कम्प्लेक्स इम्फालमा फाइनल खेल सिक्किम अनि मणिपुरमाझ सम्पन्न भएको थियो। फाइनल खेल खुबै रोचक बन्यो। लीग चरणमा दुइवटा पहेंलो कार्ड पाएको कारण टोलीका मुख्य खेलाड़ी सुजाना राई फाइनल खेल खेल्नु पाएनन्। नकआउट चरणमा सिक्किमले अरुणाचल प्रदेश टोलीलाई ३-०-ले पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो। तर मनिपुरसँग भएको खेलमा दुई गोलले पराजित बनेको थियो। आज रम्फूस्थित पर्यटन अतिथि गृहमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष भोटियाले मनिपुरमा भएको फुटबल प्रतियोगितामा सिक्किमका महिला खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको बताइन्। मनिपुर जस्तो टोलीसँग फाइनलमा खेल्न पाउनु सिक्किमका खेलाडीहरूको निम्ति ठूलो उपलब्धि रहेको जानकारी गराइन्। हाल सिक्किमका खेलाडीहरूले फुटबलमा धेरै विकास गरिरहेको अवगत गराइन्। यसै क्रममा कोच अल्पन लेप्चाले जानकारी गराए अनुसार सिक्किमका एक खेलाडी सुजाना राईले फाइनल खेल्न नपाएपछि खेलाडीहरूमा केही निराशा साथै मनोबल घटेको बताए। तर पनि राज्यका खेलाडीहरूले सोचे भन्दा राम्रो प्रदर्शन गरेकोमा उनले सन्तुष्ट प्रकट गरेका छन्।

About Author

Advertisement