गज़ल

Dubai Festival City DSF fireworks _TOD ,Dubai Mall  , Dubai   (photo by Ajith Narendra ) ( ITP Images) ;08-09-20_DFC_ DSF fireworks

नयाँ सालसितै चाल पनि फेरियोस् हजूर

क्यालेन्डरसितै भाल पनि फेरियोस् हजूर

जन्मिनुभन्दा अघिदेखि फेरिएको वर्षले

अब भने हाम्रो हाल पनि फेरियोस् हजूर

साल मात्र होइन हाल फेरिनु आवश्यक छ

हामीले भोगेको काल पनि फेरियोस् हजूर

नयाँ साल भनेर मात्र भएन पुरानै चालमा

बजारमा पाइने माल पनि फेरियोस् हजूर

साल नयाँ भए पनि अनुहार त पुरानै हो नी

साल बदलिए झैं खाल पनि फेरियोस् हजूर

पुरानो सालको हतियार अब बोधो भइसके

नयाँमा हतियार र ढाल पनि फेरियोस् हजूर

धेरै नै नाच्यौं अर्काको तालमा आफ्नो भुलेर

अब हाम्रो नाचको ताल पनि फेरियोस् हजूर

युगौंदेखि खाँदैछौं विकासको चुहुने थालमा

अब भने चैं हाम्रो थाल पनि फेरियोस् हजूर

जिन्दगी बित्यो झोल र सोल्दरको जोगाडमा

भातसितै अब भने दाल पनि फेरियोस् हजूर

क्यालेण्डर फेरिए झैं मुद्दा पनि फेर्दै फेर्दै लगे

अब मुद्दा फर्स्याउने लाल पनि फेरियोस् हजूर

त्यही मुहार, त्यही बेहोरा, चरित्र देखिन्छ सधैं

वर्षसितै फेसबुकको वाल पनि फेरियोस् हजूर

युगौं भो बुढी आमाले त्यो झुत्रो शाल ओढेको

समयसँगै आमाको शाल पनि फेरियोस् हजूर

रोगी छन्, कमजोर छन् मेरा सोझा दाज्यू भाई

नेता झैं तिनको जीवडाल पनि फेरियोस् हजूर

छाल त बन्यौं तर अफशोस आफैलाई बगायौं

आफैलाई बगाउने  छाल पनि फेरियोस् हजूरll     

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement