गान्तको: सिक्किम प्रिमयर लीग सिजन वानको सफलता पछि फुटबल डेभलपमेन्ट प्राइवेट लिमिटेड (एफडीपीएल) उत्साहसित सिजन टू-को तयारीमा जुटेको छ। आगामी वर्ष राज्य विधानसभा साथै लोकसभा चुनाउलाई ध्यानमा राखेर सिक्किम प्रिमयर लीग सिजन टू गत वर्षभन्दा अलिक छिटो आयोजना गरिने भएको छ। चुनाउलाई ध्यानमा राखेर आगामी वर्ष २०२४को जनवरी महिनाको अन्तदेखि लीग शुरु गरेर चुनाउ आचार संहिता लागु हुनभन्दा अघि नै फाइनल खेल आयोजना गरिने आयोजक फुटबल डेभलपमेन्ट प्राइवेट लिमिटेडले जानकारी गराएको छ।
आज राजधानीको पाल्जोर स्टेडियममा पत्रकार सम्मेलन आयोजना गरेर आयोजक संस्थाको पक्षमा पूर्व राष्ट्रिय अनि अन्तर्राष्ट्रिय खेलाड़ीहरू निर्मण छेत्री, सञ्जु प्रधान, विकास जैरु, निम छिरिङ लेप्चा र अन्यले सिक्किम प्रिमयर लीग सिजन टू बारे जानकारी दिएका छन्। उनीहरूले बताएअनुसार सिजन टू-मा पनि सिजन वान-कै जम्मा आठवटा क्लब रहनेछ जसमा गान्तोक जिल्लाबाट “डिफेन्डिङ च्याम्पियन” आक्रमण एफसी र सिक्किम ड्रेगन्स एफसी, नाम्ची जिल्लाबाट सिनाल्चु एफसी र रेड पाण्डा एफसी, पाकिम जिल्लाबाट रोरिङ लिओपार्ड एफसी, गेजिङ जिल्लाबाट ब्रदर्स यूनाइटेड एफसी, मंगन जिल्लाबाट थण्डर बर्ड एफसी र सोरेङ जिल्लाबाट सिङ्गलिङ एफसी रहेको छ। चुनाउको कारण लीगलाई छिटो समाप्त गर्नुपर्ने भएकोले यसपल्ट “विक एण्ड” मात्र नभएर “मिड विक”-मा पनि म्याच खेलाइने आयोजक पक्षको भनाइ रहेको छ।
उल्लेखनीय छ, राज्यमा फुटबल खेल अनि खेलाड़ीहरूको विकास गर्ने उद्देश्यको साथमा सिक्किम सरकार र सिक्किम फुटबल एसोसिएशनको सहयोगमा फुटबल डेभलपमेन्ट प्राइवेट लिमिटेडले गत वर्षदेखि सिक्किम प्रिमियर लीगको शुरुवात गरेको छ। गान्तोक पाल्जोर स्टेडियम र नाम्चीको भाइचुङ्ग स्टेडियममा म्याचहरू खेलाइएको थियो भने आक्रमण एफसी र सिङ्गलिङ एफसी बीचको फाइनल खेला पाल्जोर स्टेडियममा सम्पन्न भएको थियो। आयोजक पक्षले सिक्किम प्रिमियर लीग सिजन वानलाई सफल बताएको छ। सिक्किम प्रिमयर लीगको कारण राज्यमा क्लब संस्कारको विकास भइरहेको अनि स्थानीय खेलाड़ीहरूको महत्व बड़ेर गएको दावी गरिएको छ। अर्कोतिर सिजन वान-को विजेता आक्रमण एफसी-ले “आइएसएल” टीमसित फ्रेण्डली म्याच खेल्ने अवसर पाएको थियो।
लीगलाई थप आकर्षक र रोचक बनाउन सिजन टू-मा “थर्ड प्ले अफ्” पनि खेलाए लीगको तेस्रो अनि चौथो विजेता पनि घोषित गरिने भएको छ। यसको साथै लीगको कूल म्याच सङ्ख्या बड़ेर ३२ पुगेको जसमा २६ वटा लीग, दुईवटा सेमी फाइनल, एउटा फाइनल र एउटा थर्ड प्ले अफ् म्याच रहेको छ।










