गान्तोक: वरिष्ठ नागरिक काव्य मञ्च सिक्किम एकाइको महिला काव्य मञ्चले शनिवार राजधानी गान्तोकमा भेटघाट कार्यक्रम आयोजन गरेको छ। राज्यमा हिन्दी भाषाको प्रवर्द्धन साथै साहित्यमार्फत राष्ट्रिय एकताको भावना जनाउन हेतु आयोजित भेटघाट कार्यक्रममा वरिष्ठ पत्रकार तथा प्रेस क्लब अफ् सिक्किम (पीसीएस)-का महासचिव डिल्लीराम दुलाल मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए।
यस अवसरमा वरिष्ठ नागरिक काव्य मञ्च सिक्किम एकाइकी अध्यक्ष उषा शर्मा, उपाध्यक्ष भक्ति शर्मा, सचिव दीपा राई, कवयित्री मनिका शर्मा, लुइस विष्ट, राधिका शर्मा, कविता शर्मासहित अन्यको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार दुलालले भने, “कोरोनाकालमा वरिष्ठ नागरिक काव्य मञ्चको स्थापना गरिनु समयसापेक्ष छ साथै यो मञ्च देशहितको पक्षमा छ। कोरोनाजस्तो एउटा महामारीलाई पराजित गर्न राष्ट्रिय एकता र सामाजिक जागरूकताको आवश्यकता पर्दछ र यो मञ्चले दुवैको भूमिका निर्वाह गरिरहेको छ। विभिन्न राज्य साथै अन्तरराष्ट्रिय स्तरमा पनि यसका शाखाहरू रहेको थाहा लाग्दा हर्षविभोर महसुस गरेको छु। यस मञ्चले समय-समयमा देशप्रति जागरूक गराउन सहयोग पुर्याउने कुरामा म आशावादी छु। हिन्दी भाषामा पूर्वोत्तरको छुट्टै पहिचान छ, त्यहीँ यसलाई लिएर सिक्किमको विशेष पहिचान पनि छ। यसलाई टेवा दिन सिक्किम एकाइले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्नेमा विश्वस्त छु।”
वरिष्ठ नागरिक काव्य मञ्च सिक्किम एकाइकी अध्यक्ष उषा शर्माले उक्त एकाइ गठन गरिनुका औचित्य, साहित्यमार्फत एकताको सूत्रमा बाँधिन सक्ने बताउँदै एकाइका भावी रणनीतिमाथि पनि प्रकाश पारिन्। कार्यक्रममा कवयित्री दीपा राई, मनिका शर्मा, कविता शर्मा, भक्ति शर्मा, उषा शर्मा, राधिका शर्मा, भार्गवप्रिय दङ्गालले कविता वाचन गरे।
उल्लेखनीय छ, वरिष्ठ नागरिक काव्य मञ्चको स्थापना कोरोनाकाल अवधि पञ्जाबको पटियाला निवासी भूतपूर्व आईबी पदाधिकारी नरेशनाजले गरेका थिए। यसको उद्देश्य कोरोनाकाल अवधि घरमा एक्लो जीवन जिउने बाध्य मानिसहरूलाई कविताको माध्यमबाट जिउने हौसला प्रदान गर्न तथा देश-विदेशसित जोड़िनु रहेको थियो।
देशमा यसका ३० वटा एकाइ रहेका छन् भने अमेरिका, रूस, अस्ट्रेलिया, जापान, सिङ्गापुर, नेपाल, चीनलगायत अन्य देशमा १८ वटा एकाइ रहेका छन्। यसको पूर्वोत्तर समूहकी अध्यक्ष डा. गोमा अधिकारी हुन्।