सिलगढी: साउन महिनाको दोस्रो सोमबार भगवान शिवलाई जल चढाउने उद्देश्यले मतिगढाको चाँदमुनी मन्दिरमा शिव भक्तहरूको घुइचो देखियो। प्रत्येक वर्ष साउन महिनामा सोमबारको दिन भगवान् शिवको पुजा अर्चना गर्ने गरिन्।
बिहानैदेखि श्रद्धालुहरू थालमा पुजाको सामग्रीहरू बोकेर चाँदमुनि मन्दिरअघि पंक्तिमा उभिएको देखियो। भगवान् भोलेलाई प्रसन्न गर्नको लागि गङ्गाजल, मह र दुधले जलाभिषेक गर्ने गरिन्छ। यसको साथै भगवान शिवलाई कमल, पुष्प, बेलपत्र, धतूरा र भाङ्ग पनि चडाउने मान्यता रहेको छ। मतिगढास्थित चाँदमुनिको उक्त अति प्राचीन मन्दिरमा साउन महिनाको सोमबारको दिन धुमधामको साथमा पुजा अर्चनाको आयोजना गर्ने गरिन्छ भने यस वर्ष पनि व्यवस्थामा कुनै कमी रहेको छैन। पुजा गर्नको लागि टाढा-टाढाबाट श्रद्धालुहरू मन्दिरमा आइरहेका छन्। पुजा-अर्चना गरेपछि अन्तमा श्रद्धालुको लागि प्रसादको पनि व्यवस्था गरिएको छ। गत दुई वर्षदेखि कोरोनाको प्रकोपले गर्दा साधारण रूपमा मन्दिरमा पुजाको आयोजना गरिएको थियो तर यस वर्ष मन्दिरलाई भव्य रूपमा सजाइएको छ। यस वर्ष मन्दिरमा पुजा गर्न आउने श्रद्धालुहरूको संख्या पनि निक्कै अधिक रहेको छ। यस वर्ष साउनको चारवटा सोमबार रहेको छ। साउनको सोमबार व्रत राख्ने अनि साँचो मनले भगवान शिवको आराधना गर्नाले सबैको मनोकामना पूर्ण हुने श्रद्धालुहरूको आस्था तथा विश्वास रहेको छ।










