वर्तमान सरकारले शिक्षलाई प्राथमिकता दिएको छः मुख्यमन्त्री तामाङ
गान्तोक: डक्टरेट्स एशोसिएशन अफ् सिक्किमको पहलमा आज सम्मान भवनमा डक्टरेट्स कन्भेन्सन आयोजना गरियो।
कार्यक्रममा मुख्य अतिथिको रूपमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित थिए। यस अवसरमा शिक्षा विभागका सचिव र कञ्चनजंगा राज्य विश्वविद्यालयका उप कुलपति डा. आशिष शर्मा उपस्थित थिए।
कार्यक्रममा डक्टरेट्स एशोसिएशन अफ् सिक्किमले शोधार्थीहरुको हितमा निर्माण भइरहेको आत्मनिर्भर रिसर्च इन्स्टीट्यूटको निम्ति मूख्यमन्त्री तामाङलाई सम्मान जनायो। कार्यक्रममा विभिन्न विषयमा शोध गरिरहेका शोधार्थीले आफ्नो शोध अवधि भोग्नु परिरहेका समस्याहरूबारे मुख्यमन्त्री समक्ष आफ्नो विचारहरू राखेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सिक्किम राज्यमा पनि दिन प्रतिदिन शोधार्थी अनि विद्यावारिधि गर्नेहरुको संख्यामा भइरहेको वृद्धिमा खुसी व्यक्त गरे। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सरकार गठन गर्न साथै सिक्किमको शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको उनले जानकारी गराए। यसरी शोधार्थी अनि विद्यावारिधि गर्नेहरु एक मञ्चमा सिक्किमको हितको निम्ति अघि आएकोमा पनि उनले सबैलाई बधाई दिए।
सबै समाजका अभियन्ता रहेको हुँदा सबैका समस्याहरु एक-एक गरेर समाधान गर्ने पनि मुख्यमन्त्री तामाङले सबैले विश्वस्त गराए। सिक्किमको विभिन्न महाविद्यालय अनि विश्वविद्यालयमा कार्यरत सबैलाई पनि इमान्दारीपूर्वक सेवा प्रदान गर्न आग्रह गर्दै कुनै पनि संकटको अवस्था आएको खण्डमा सरकार सँधै अघि आउने पनि उनले भरोसा दिलाए। उनले सबैको पक्षमा शिक्षा विभागसँग मिलेर नयाँ योजनाहरुको निर्माण गरिनुपर्ने सुझाउ दिए।