दार्जीलिङ: यसपल्ट क्रिसमस नमनाउने निर्णय गरेको छु, जुन दिन चुङथुङ चियाकमान खोलिनेछ त्यही दिन मेरो निम्ति क्रिसमस हुनेछ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गत चुङथुङ मारेबुङ तामसाङ समष्टिको सभासद सन्दीप छेत्रीले आज क्रिसमसको अवसरमा नै एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका छन्। उनले विज्ञप्तिमा भनेका छन् – ‘सर्वप्रथम दार्जीलिङ पहाड़, तराई डुवर्ससितै मेरा समष्टि क्षेत्रका समग्र जनतालाई क्रिसमसको शुभकामना व्यक्त गर्दछु। क्रिसमस पर्व मेरो निम्ति अति नै रमाइलो अनि महत्वपूर्ण पर्व भएतापनि व्यक्तिगत रूपमा मैले चाहिं यसचोटि क्रिसमस पर्व नमनाउने निर्णय गरेको छु।
एक ईसाई परिवारमा जन्मेको हुनाले दिसम्बर महिनाको शुरुदेखि नै हामी क्रिसमसको रमझम रमाउने गर्छौं। बाल्यावस्थादेखि नै हामी क्रिसमस भव्यताको साथमा मनाउने गर्थ्यौं। तर यसपल्ट भने क्रिसमस नमनाउने निर्णय लिएको छु।’ उनले अघि भनेका छन् -‘चुङथुङ चियकमान मेरो कर्मथलो हो जहाँका श्रमिकहरू कमान बन्द भएपछि हालमा बिलखबन्दमा परेका छन्। जहाँका चिया श्रमिकहरूले मलाई विश्वास गरेर जीटीए चुनावमा मलाई विजयी बनाएर आफ्नो जनप्रतिनिधि बनाए। हालमा म चुङथुङ- मेरिबुङ तामसाङ समष्टिको सभासद् हुँ। यसैले उनीहरू दुःखमा पर्दा मलाई क्रिसमस पर्व पालन गर्नु मलाई मेरो नैतिकताले दिएन। आफ्नो मान्छेहरूको दुःखमा साथ दिन तथा चियाकमान खोलिनुपर्छ भन्ने पक्षमा खुल्ला समर्थन जनाउँदै यसपल्ट मैले क्रिसमस पर्व नमनाउने अठोट गरेको सबैलाई जनाउन चाहन्छु।’
सभासद सन्दीप छेत्रीले अझ भने, चुङथुङ चियाकमान मेरो जन्मथलो पनि हो। जहाँको चियाको मुनाहरूसित खेलेर म हुर्किएको हुँ। यहाँको अवस्था- व्यवस्थाले मलाई राजनीतिसित जोड़्यो। शहीद बीआर देवानको त्याग र बलिदानले मलाई निर्भिक अनि इमान्दार भएर जनताको सेवा गर्ने प्रेरणा प्रदान गरयो। तर आज त्यही क्षेत्र समस्यामा रहेको छ। यो समस्या समाधान नभइञ्जेल सबै चियाकमानवासीको आँट र हौसला भएर मैले एउटा जनप्रतिनिधिको जिम्मेवारी निभाउनु पर्ने हुन्छ। यसैले कमान खोलिनुपर्छ भन्ने अभियानमा म निरन्तर लागिपरेको छु। जुन दिन चुङथुङ चियाकमान खोलिनेछ। जुन दिन चुङथुङका मेरा आफ्नो मान्छेहरूका अनुहारमा कमान खोलिएको खुशी देख्न पाउनेछु। त्यही दिन मेरो निम्ति सबैभन्दा रमाइलो अनि खुशीको क्रिसमस हुनेछ। त्यही दिन म मेरो क्रिसमस पालन गरेको हुनेछु। अहिलेलाई म मेरो चुङथुङ कमानवासीको साथमा उभिएको छु। क्षमा चाहन्छु मेरो सबै ईसाई परिवार, अगुवाजन, सम्पूर्ण विश्वासी जनहरुमा यो मेरो नितान्त ब्यक्तिगत निर्णय हो।’