गान्तोक: सिक्किम पुलिसका जवानहरूलाई मानसिक रूपमा अझ स्वस्थ राख्न राज्य सरकारले महत निर्णय लिएको छ। नयाँ दिल्लीबाट सिक्किम फर्किएकै दिन मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो मिन्तोकगाङमा यसबारे राज्यका शीर्ष पुलिस अधिकारीहरूसँग उच्च स्तरीय बैठक गरे। बैठकमा मुख्यमन्त्री तामाङले सिक्किम पुलिसको सहयोगको निम्ति रणनीति विकसित गर्न अनि उनीहरूको हितमा सुधारको निम्ति आवश्यक पहल गर्नुपर्ने विषयमाथि जोर दिए। वर्तमान स्थितिहरूलाई गम्भीरतापूर्वक लिँदै विशेष पुलिस महानिदेशक अक्षय सचदेवाको अध्यक्षतामा वरिष्ठ पुलिस अधिकारीहरूलाई लिएर सिक्किम पुलिस सुधार एवं अनुशासन समिति गठन गरियो। विभागको विकाससँगै आवश्यक विविध विषयबारे अध्ययन, समीक्षा गरेपछि एक महिनाभित्र रिपोर्ट बुझाउनुपर्ने उक्त समितिलाई निर्देश दिइएको छ।
यस अतिरिक्त सिक्किम पुलिसले हालै राष्ट्रिय मानसिक स्वास्थ्य एवं स्नायुविज्ञान संस्थान बेङ्गलोरसँग मेमोरेण्डम अफ् अण्डरसाइन (एमओयु)-मा हस्ताक्षर गरेपछि अब मानसिक स्वास्थ्य परामर्श, व्यवहार मनोविज्ञान, तनाउ व्यवस्थापन आदिबारे यहाँ ५० जनालाई तालिम दिइनेछ। उनीहरूले अन्य जवानहरूलाई यी विषयबारे सहयोग गर्नेछन् साथै अन्य जवानहरूको स्थितिबारे मूल्याङ्कन गर्नेछन्।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम पुलिसको कल्याण राज्य सरकारको प्राथमिकता रहेको प्रष्ट पारे। यस विषयमा सहयोग पुऱ्याउन आफू सधैं तत्पर रहेको उनले कटिबद्धता जनाए। बैठकमा पुलिस महानिर्देशक ए. सुधाकर राव, विशेष पुलिस महानिदेशक अक्षय सचदेवा, अतिरिक्त पुलिस महानिदेशक, पुलिस महानिरीक्षकगण, पुलिस उप-महानिरीक्षकगण आदिको उपस्थिति रहेको थियो।









