पूर्वोत्तर महिला फूटबल लीगमा सिक्किम महिला टोली बन्यो उप-विजेता

इम्फाल: मणिपुरमा सम्पन्न पूर्वोत्तर महिला फूटबल लीगमा सिक्किम महिला फूटबल टोली उप-विजेता बन्यो। साई स्पोर्ट्स कम्प्लेक्स इम्फालमा फाइनल खेल सिक्किम अनि मणिपुरमाझ सम्पन्न भएको थियो। फाइनल खेल खुबै रोचक बन्यो। निसन्देह मणिपुर महिला टोली उपाधिका प्रबल दावेदार देखिन्थ्यो तर सिक्किम टोलीको प्रदर्शनलाई हेरेर खेलप्रेमीहरूले सिक्किम च्याम्पियन बन्नसक्ने लख काटिरहेका थिए। लीग चरणमा दुइवटा पहेंलो कार्ड पाएको कारण टोलीका मुख्य खेलाड़ी सुजाना राई फाइनल खेल खेल्नु पाएनन्। यो नै सिक्किम टोलीको निम्ति दुर्भाग्य बन्यो। खेल शुरुभएदेखि नै खुबै रोचक बनेको थियो। खेलको ३८ औं मिनटमा गोल किप्पर अनि डिफेण्डरमाझको भूल बुझाबुझमा सिक्किमले सुसाइड गोल गऱ्यो। यसपछि खेलको उत्तरार्द्धको ८१औं मिनटमा मणिपुर टोलीले विजयी गोल गऱ्यो। उत्कृष्ट प्रदर्शनी गर्दै मणिपुर टोलीले २-०-ले जीत हासिल गर्दै च्याम्पियन बन्यो।

लीग चरणमा सिक्किम टोलीका खेलाड़ीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। लीग चरणको ७ खेलमा ५ वटामा जीत अनि दुईवटा बराबरी खेलेर सिक्किम टोलीले १७ अंक बटुलेर दोस्रो स्थान हासिल गरेको थियो। मणिपुर टोलीले १९ अंक बटुलेर पहिलो स्थान हासिल गरेको थियो। लीग म्याचमा सिक्किम टोलीले मणिपुर जस्तो दह्रिलो टोलीलाई गोलविहीन रोकेर बराबरी खेलेको थियो। नकआउट चरणमा सिक्किमले अरुणाचल प्रदेश टोलीलाई ३-०-ले पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो।

About Author

Advertisement