बसाई सर्ने तयारीमा गंगुटिया बनबस्ती र भोटे बस्तीका बासिन्दाहरू

448b4acd-340c-4fcc-8298-dee620a04d69

कालचिनीः नेशनल टाइगर कन्जर्भेशन अथोरिटी (एनटीसीए) को स्वीकृति औ पश्चिम बंगाल सरकारको अनुमोदन तथा बक्सा ब्याघ्र प्रकल्पको पहलमा अब चाँढ़ै बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेको दुईवटा बनबस्ती गंगुटिया बनबस्ती र जयन्ती संलग्न रहेको भोटे बस्तीका बासिन्दाहरू बसाई सर्ने तयारीमा जुटेका छन्। एनटीसीएले बसाई सर्ने प्रत्येक परिवारको १८ बर्ष माथिका सदस्यहरूलाई १५ लाख गरेर दिने चुक्ति भएपछि औ बन विभागको पहलमा बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेको यी दुई बस्तीका बासिन्दाहरूले स्वेच्छाले बसाई सर्न तयार भएको हो। सबै औपचारिकता पुरा भईसकेको र अब लाभार्थीहरूको ब्याङ्क खातामा १५ लाखको आधा रकम पस्ने बन विभाग र जिल्ला प्रशासनिक सुत्रले सुनिश्चित गरेको र रजिस्ट्रेड फोन नम्बरमा सम्बन्धित विभागले जानकारी लिइरहेको गाउँलेहरूले जनाएका छन्। पुर्खादेखि बसेको जन्मेर हुर्किएको गाउँको माया लागेता पनि आफूहरूले भोगेको दुःख फेरि छोरा छोरीहरूले भोग्न नपरोस भनेर नै सरकारले १५ लाख भुगतान गर्दा मौका नगुमाउने बरु अन्त कतै बसाई सरेर जाने जहाँ पानी, स्कूल, अस्पताल जान कष्ट नहोस् भनि बताउँछिन् गंगुटिया बनबस्तीका ५५ बर्षीय महिला सुनीता तामाङ। बर्षाकालमा डिमा नदीले विकराल रूप लिने गरेको गाउँबाट कालचिनी आउजाउ गर्न नसक्ने बिमार हुँदा अस्पताल जान हम्मे हुने र नदीको कटाउले बारीसँगै अब घर पनि बाढ़ीले लान खोजेको अवस्थामा बिजोग हुँदै आइरहेको दुःख भोग्नु अब नपरोस भनेर नै बसाई सर्नु बाध्य भएको गंगुटिया बनबस्तीका समाजसेवी जीवन लामाले जनाएका छन्। अर्कोतिर बक्सा ब्याघ्र प्रकल्पको जयन्ती नदीपारी रहेको सानो गाउँ तत्कालीन ब्रिटिशकालीन बेङ्गल लाइम कम्पनी अधीनस्थ रहेको भोटे बस्तीका बासिन्दाहरूको पनि उस्तै समस्या रहेकोले उनीहरू पनि १५ लाख थापेर अन्त्य कतै बसाई सरेर जाने सुनिश्चित भइसकेको छ। भोटे बस्तीका पूर्व पञ्चायत तथा युवा समाजसेवी साजन सुनुवारले पनि दुइतिरको नदीले थुनेको ठाउँ र बिजोग हुँदै बस्न पर्ने बाध्यता साथै जंगली जानवरको उत्पातबीच यहाँबाट अन्त्य कतै बसाई जान गाउँलेहरूले स्वेच्छा स्वीकृति दिएको र १५ लाख पाए गाउँ उठेर जाने बताएका छन्। उठेर जान जम्मै औपचारिकता पुरा भएको र रकम ब्याङ्क खातामा पसेपछि बसाई सर्ने तयारीमा गाउँलेहरू रहेको साजन सुनुवारले थप जनाएका छन्।

About Author

Advertisement