मानव तस्करीविरूद्धको अभियानः कञ्चनजङ्घा उद्धार केन्द्र 

KUK-1

   आजभन्दा करिब दुई दशकअघि दार्जीलिङ पहाडी भेक, डुवर्स साथै हिमाली राज्य सिक्किममा मानव तस्करी कुनै चल्ती शब्द थिएन। त्यति बेला यस भेकका समाज मानव तस्करीबारेमा अनभिज्ञ नै थियो। यस क्षेत्रदेखि बाहिरतिर छोरीचेलीलाई फकाइफुसलाई बिक्री गरिन्छ भन्ने सुनेका मात्र थिए। तर, मानव तस्करहरू आफ्नो सञ्जाल फैलाएर यस क्षेत्रमा समाजका भित्र भित्रका गल्ली र गलछेंड़ीहरूमा पसिसकेको कसैलाई थाहा थिएन। यताका क्षेत्रमा मानव तस्करीका घटनाहरू भएको छैन, र हुँदैन भन्ने सबैमा एउटै धारणा थियो। तर, एउटै घटनाले यस भेकमा मानव तस्करहरूको गिरोहले बृहत रूपमा आफ्नो जाल फैलाएको खुलासा भयो।

                 यसरी उदय भयो कञ्चनजङ्घा उद्धार केन्द्र

   सन् २००४, दार्जीलिङ पहाडी भेकमा हिउँद प्रायः छिप्पिसकेको थियो अनि यसको असर नजिकैको मदेश खण्ड सिलगढीमा पनि परिसकेको थियो। मानव तस्करहरूको सञ्जालले उत्तर बङ्गाललगायत सिक्किमलाई समेत लपिटिसकेको घटना कसैलाई थाहा थिएन। समाजको पर्खाल बलियो छ, समाज बलियो छ भन्ने भ्रममा समग्र समाज निर्धक्क थियो।  

   यस्तै हिउँदमा साँझपख, सिलगढ़ीको एउटा सानो चिया पसलमा सामाजका सचेत युवाहरू बसेर चिया पिउँदै थिए। समाजका लागि केही राम्रो काम गर्नुपर्छ भन्ने चर्चा उनीहरू बीचमा चल्दै थियो। समाजलाई के दिने र समाजको निम्ति के गर्ने भन्ने विषयमा उनीहरूबीच मथिङ्गल मन्थन भइरहेको थियो। त्यही चिया पसलको एक कुनामा बसेर एउटी महिला रूँदै थिइन्। ती युवाहरूले महिलालाई सोधे, ‘‘किन रूनु भएकी दिदी? के भयो?’’ ती महिला थिइन् दार्जीलिङ पहाड़कै फेद, तराई क्षेत्रकी एउटा चियाबगानकी निवासी। रूँदै महिलाले भनिन्, ‘‘मेरो तेह्र्र वर्षकी छोरी हाराएको दुई वर्ष भइसक्यो तर, आजसम्म कुनै पत्तो लागेको छैन। अचानक हिजो राती उसले मलाई फोन गरिन्। फोन गर्दा उसको बोली निक्कै अत्तालिएको र डराएको आवाज थियो। यसले गर्दा ऊ निक्कै ठूलो समस्यामा परेको जस्तो लाग्यो। अन्त्यमा मैले यति नै सुने उसले भन्दै थिई ‘‘मलाई यहाँबाट निकाल्नुहोस्! म मर्छु।’’ दुई वर्ष अघिदेखि हराएको छोरीले फोनमा एकै सासमा यति नै भन्न सकेकी थिइन्। छोरीको यस्तो बिलौना सुनाउँदै आमाले रूँदै ती युवाहरूलाई छोरी खोज्न गुहार मागिन्।

    ती आमाको बिलौना सुनेपछि ती युवाहरूले देखे समाजको अघि आएको भयङ्कर ठूलो चुनौती मानव तस्करीको सञ्जाल, जसले कयौं छोरीचेलीहरूलाई समाजको मूलस्रोतमा फर्किन नसक्ने गरि कालो संसारमा पुऱ्याएको छ। ती युवाहरू पहिला आफूहरू सङ्गठित भए अनि यसपछि ती महिलाकी छोरीलाई खोज्ने अभियानद्वारा सन् २००४ को हिउँद महिनादेखि कञ्चनजङ्‌घा उद्धार केन्द्रको उदय भयो। कञ्चनजङ्‌घा उद्धार केन्द्रको पहिलो अभियानमा दुई वर्षसम्म लापता भएकी ती महिलाकी छोरीलाई नयाँ दिल्लीको सेक्टर-५ बाट उद्धार गरियो। उसलाई उद्धार गरेर उसको परिवारलाई सुम्पियो। यहींबाट कञ्चनजङ्‌घा उद्धार केन्द्र समग्र उत्तर बङ्गालमा तुफानजस्तै मानव तस्करीविरूद्ध एउटा सषक्त अभियान बनेर निरन्तर अघि बढ़िरहेको छ। यस अभियानलाई बृहत रूप दिने कञ्चनजङ्‌घा उद्धार केन्द्रका पूर्ण हौसलाले भरिएका संस्थापक युवाहरू हुन् प्रभात पाठक, सुश्री रङ्गू सौरिया, विनय तामाङ, श्रीमती तुलसी राणा, स्व0 बिनिता शर्मा, कृष्ण लामा, चेतन गुरूङ, शरद गुरूङ, रञ्जित छेत्री र माधव शिवाकोटी।

                     चुनौतीलाई चिर्दै कठिन सङ्घर्ष

    सन् २००४ देखि सिलगढ़ीबाट कञ्चनजङ्‌घा उद्धार केन्द्रले मानव तस्करीविरूद्ध चलाएको बृहत अभियानअन्तगर्त हालसम्ममा उत्तर बङ्गाल, सिक्किम साथै नेपालबाट बेचिएका सात हजारभन्दा बढ़ी छोरीचेलीहरूलाई उद्धार गरिसकेको छ। यस मध्येमा कतिलाई मानव तस्करहरूको सञ्जालबाट आधा बाटैदेखि अनि कतिलाई सोझै भारतका ठूला शहरहरू पुणेको बुधबारपेट, दिल्ली, मुम्बई, कोलकाता, सिलगढी तथा उत्तर बङ्गालका विभिन्न वेश्यालयहरूबाट उद्धार गरिसकेको छ। यसबाहेक घरेलु कामदारको रूपमा विभिन्न किसिमको यातना झेल्दै शोषित भएका बालबालिका तथा युवतीहरू कसैलाई राजस्थान, कसैलाई बिहार, कसैलाई उत्तर प्रदेशको दुर्गम गाउँ, कसैलाई विदेशबाट उद्धार गरिसकेको छ। कञ्चनजङ्‌घा उद्धार केन्द्रको उन्नाइस वर्षको यात्रा सजिलो थिएन, काँढ़ासरिको चुनौतीपूर्ण मार्गहरू हुँदै निरन्तर अघि बढ़िरहेको छ। ज्यान हत्केलामा राखेर भारतको डरलाग्दो वेश्यालयहरूको कालो संसारबाट छोरीचेलीहरूलाई उद्धार गरेर परिवारलाई सुम्पिन सफल भएको छ। उनीहरू नयाँ जीवन पाएर समाजको मूलस्रोतमा आएर नयाँ घर संसारमा प्रवेष गरिसकेका छन्। प्रारम्भिककालमा छोरीचेलीहरू हराएको मामला आउँदा आफ्नो कार्यालय नहुँदा पीडित पक्षका परिवारहरूसित चिया पसलहरूमा बसेर कुरा गर्नुपर्थ्यो। दार्जीलिङमा पनि त्यस्तै समस्या थियो कहिले गाड़ीभित्र बसेर कहिले चिया पसल, रेस्तोराँमा बसेर कुरा गर्नुपर्दा थुप्रै किसिमको समस्या हुन्थ्यो। यसैले सिलगढीमा गुरूङ बस्तीस्थित भानुभक्त समितिले मामला आएको बेलामा आफ्नो कोठा अनि दार्जीलिङमा गोर्खा दुःख निवारक सम्मेलन (गोदुनिस)ले एउटा कोठा प्रयोग गर्न दिन्थ्यो। त्यति बेला भानुभक्त समिति र गोदुनिस दार्जीलिङको यो सहयोग कञ्चनजङ्‌घा उद्धार केन्द्रको लागि यो ठूलो उर्जा थियो।

                     तस्करहरूको जालो काट्दै अघि बढ़्दै

    मानव तस्करीविरूद्धको अभियानमा उद्धार कार्यको टोलीमा भारतका वेश्यालयहरूमा गएर उद्धार गर्ने कार्यमा कञ्चनजङ्‌घा उद्धार केन्द्रकी सचिव रङ्गू सौरियाले मुख्य भूमिका निर्वाह गर्दै आएकी छिन्। यस अभियानमा केन्द्रका कार्यकर्ताहरूले मानव तस्करहरूको गिरोहबाट विभिन्न किसिमको दबाव र चेतावनीको सामना गर्नुपरेको छ भने कहिले ज्यानै जाने खतराको सामना गर्नुपरेको छ। ज्यानको पर्वाह नगरी उद्धार कार्य गर्ने भूमिकामा रङ्गू सौरियालाई पश्चिम बङ्गाल सरकारले बङ्गरत्न, गोदुनिस दार्जीलिङले सामाजिक सेवा पुरस्कार, एबीपी आनन्दले साहसी महिला पुरस्कारले सम्मानित गरिसकेका छन् भने उनी भारतभरको सय शक्तिशाली महिलाहरूको सूचीमा पुगेकी छिन्। यसबाहेक कयौं संघ-संस्थाहरूद्वारा सम्मानित भइसकेकी छिन्। एक दर्जनभन्दा बढ़ी मानव तस्करी गर्ने गिरोहका सदस्यहरूलाई कानुनी सजाय दिलाउन कञ्चनजङ्‌घा उद्धार केन्द्र सफल भएको छ। २३ नोभेम्बार २०१० मानव तस्करहरूको जालो काटिएको दिन अनि तस्करहरूको ढाँड़ भाँच्चिएको दिन हो। यसै दिन मानव तस्कर गिरोहका एकजना नाइके पक्रा परेको हो। जसलाई सन् २०१३ को दिसम्बरमा आजीवन कारावासको सजाय दिइएको छ। यसले गर्दा दार्जीलिङ पहाडबाट हुने मानव तस्करीको प्रतिशतमा निक्कै कमि आएको छ।

                    केन्द्रद्वारा सञ्चालित परियोजनाहरू  

   कयौं चुनौतीपूर्ण सङ्घर्षहरूलाई चिर्दै आज कञ्चनजङ्‌घा उद्धार केन्द्र मानव तस्करी, बालबालिकाहरू र महिलाहरू विरूद्ध हुने हिंसा-अपराधविरूद्ध सङ्घर्ष गर्ने संस्था मात्र नभएर एउटा बृहत अभियान बनेको छ। कञ्चनजङ्‌घा उद्धार केन्द्रको कार्य कुशलता र समाजप्रतिको समर्पणका कारण कोलकाता स्थित मानव तस्करीविरूद्ध काम गर्ने भारतको गैर सरकारी संस्था सनलापले क्रस बोर्डर ट्राफिकिङ (सीमा पार तस्करी)विरूद्ध भारत-नेपाल सीमा पानीट्याङ्की क्षेत्रमा साझेदारीमा प्रोजेक्ट सञ्चालन गर्दै आएको छ। भारतका विभिन्न राज्यहरूमा आमा र शिशुको स्वास्थ्यमाथि काम गर्ने चाइल्ड इन निड इन्स्टिच्युट (सिनि)सँगको साझेदारीमा पनि केही प्रोजेक्टहरू कञ्चनजङ्घा उद्धार केन्द्रले सञ्चालन गरिसकेको छ। सन् २०१७-१८ मा नेपालको गैर सरकारी संस्था वर्ल्ड मिशन अर्गनाइजेशन (डब्लुएमओ)सित पनि बागडोग्रा हवाईअड्डामा विषेशगरि सीमा पार मानव तस्करीविरूद्ध अभियान चलाउन प्रोजेक्ट सञ्चालन गरिसकेको छ। डब्लुएमओसित यहाँ करिब तीन महिनासम्म साझेदारीमा परियोजना चलेपछि करिब छह महिना कञ्चनजङ्‌घा उद्धार केन्द्रले आफ्नै बलबुत्तामा यो प्रोजेक्ट सञ्चालन गऱ्यो।

   सीमा पारिको मानव तस्कारी रोकथामको लागि चलाएको यो प्रोजेक्ट अति नै प्रभावकारी बन्यो। ६ महिनाभित्रमा करिब चार सय भन्दा बढ़ी छोरीचेलीहरूलाई मानव तस्करीको जालोमा पर्नअघि नै बागडोग्रा हवाईअड्डाबाट सुरक्षित घर फर्काउन सफल भएको छ। उनीहरूमा प्रायःजस्ता नेपालका नागरिकहरू थिए। बागडोग्रा हवाईअड्डामा कञ्चनजङ्‌घा उद्धार केन्द्र ठूलो चट्टानको पर्खालजस्तै खड़ा भएको हुँदा मानव तस्करहरूले बागडोग्रा हवाईअड्डाको मार्ग प्रयोग गर्नु बन्द गऱ्यो। कारण यहाँबाट आउने मामलाको प्रतिशत शून्यमा झऱ्यो।

   कञ्चनजङ्‌घा उद्धार केन्द्रले आफ्नो प्रारम्भिककालदेखि नै समाजमा नजरअन्दाज गरिएका बालबालिकाहरूमाथि हुने हिंसाको विरूद्धमा पनि विशेष अभियान चलाउँदै आइरहेको छ। यसै अभियानका कारण १ अप्रेल २०११ देखि भारत सरकारको महिला अनि बाल विकास मन्त्रालयअर्न्तगतको परियोजना चाइल्डलाइनको खरसाङ उपकेन्द्र बाह्र वर्षसम्म सफलतापूर्वक सञ्चालन गऱ्यो। चाइल्डलाइन खरसाङ उपकेन्द्रले खरसाङ साथै दार्जीलिङ महकुमा क्षेत्रका बालबालिकाहरूको सुरक्षा, हेरचाह र विकासको लागि अति नै महत्त्वपर्ण साथै सराहनीय भूमिका निर्वाह गरेको छ। सन् २०११ देखि आजसम्म चाइल्डलाइन खरसाङ उपकेन्द्रले एक हजार भन्दा बढ़ी बालबालिकाहरूसित सम्बन्धित विभिन्न किसिमका मामलाहरू सम्हाल्ने कार्य गरेको छ। कयौं बालबालिकाहरूलाई यौन उत्पीड़न, शारीरिक उत्पीडनको मामलामा न्याय दिलाउन सफल भएको छ भने धेरैको सुरक्षा गर्न सफल भएको छ। यसबाहेक कतिलाई चिकित्सा, शिक्षाको लागि सहयोग, स्कूल छोडेकाहरूलाई पुनःभर्ती गराउने कार्य गरेको छ। साथै दुर्व्यसनले ग्रस्त भएकाहरूलाई यसबाट मुक्त गराउने अनि बालविवाह र बालश्रम रोकथामको लागि विशेष अभियान चलाएको छ। सन् २०११ देखि सन् २०१५ सम्म ज्ञानेन्द्र शर्माको नेतृत्वमा चाइल्डलाइनको उपकेन्द्र सञ्चालन भयो। सन् २०१५ देखि १४ सेप्टेम्बर २०२३ सम्म ईशा लेप्चाको नेतृत्वमा सञ्चालन भयो। ईशा लेप्चाको नेतृत्वमा अनि टीम मेम्बरहरू किशोर छेत्री, देवीमाया प्रधान तामाङ, दीपशिखा छेत्री र सौरभ बसेलको कठिन परिश्रम र सङ्घर्षका कारण चाइल्डलाइन खरसाङ उपकेन्द्र अति नै प्रभावकारी बनेर सफलतापूर्वक कार्य गऱ्यो। सफलता यस्तो किसिमले प्राप्त भयो ‘चाइल्डलाइन’शब्द खरसाङ, दार्जीलिङका सर्वसाधारणको जिब्रोमा बस्न सक्यो। आफ्नो अधिकारबारे अनभिज्ञ रहेका बालबालिकाहरूलाई बाल अधिकार र सुरक्षा बारेमा दार्जीलिङ चाइल्डलाइन खरसाङ उपकेन्द्रले सचेत गराउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। यस केन्द्रले धेरै बालबालिकाहरूलाई बालश्रम साथै आपदविपदबाट उद्धार गर्ने कार्य गरेको छ। १५ नोभेम्बरदेखि चाइल्डलाइन राज्य सरकारको विभाग डिस्ट्रिक्ट चाइल्ड प्रोटेक्सन युनिट (डीसीपीयु) अधिनस्थ भएको छ। अहिले पश्चिम बङ्गाल सरकारको परियोजना स्कीम् फर एडोल्सेन्ट गर्ल्स (एसएजी) कञ्चनजङ्‌घा उद्धार केन्द्रले फाँसीदेवा, खरसाङ, सुकेपोखरी र मिरिकमा संचालन गर्दै आइरहेको छ। अर्को परियोजना भारत-नेपाल सीमा क्षेत्र पानीट्याङ्कीमा सनलापसँगको साझेदारीमा सीमापार तस्करीविरूद्ध सञ्चालन भइरहेको छ।

                               ठूलो उपलब्धि

    कञ्चनजङ्‌घा उद्धार केन्द्रको सबैभन्दा ठूलो उपलब्धि भनेको सिलगढीको बाबुबासा, देवीडाङ्गामा निर्माण भएको दुईतलाको ‘होम’ अर्थात आश्रय गृह हो। धेरै समाजसेवक शुभचिन्तकहरू, विद्यालय, सांसद, संस्थाहरूको सहयोगमा यो होम समाजिक महत्वाकाङ्क्षाको लागि सफलतापूर्वक निर्माण भएको छ। यो होमले महिला सशक्तिकरण, युवा सशक्तिकरण, बाल सशक्तिकरणको क्षेत्रमा धेरै ठूलो महत्वाकाङ्क्षा बोकेको छ। पीडित, असहाय, विपन्नवर्गलाई आत्मविश्वासी, सशक्त अनि आत्मनिर्भर बनाउने बृहत लक्ष्य कञ्चनजङ्‌घा उद्धार केन्द्रले लिएको छ। यसको लागि एक्लो कञ्चनजङ्‌घा उद्धार केन्द्रले मात्र सम्भव हुँदैन। सुरक्षित, स्वच्छ, सशक्त, आत्मनिर्भर समाज निर्माण गर्ने यस अभियानमा कञ्चनजङ्‌घा उद्धार केन्द्रलाई समाजका हरेक क्षेत्र, हरेक व्यक्तिको सहयोगको खाँचो छ। सबैको सहयोगले मात्र यो सम्भव हुनसक्छ। यो होम कञ्चनजङ्‌घा उद्धार केन्द्रको मात्र होइन, यो समग्र समाजको सम्पत्ति हो अनि समाजको निम्ति बलियो घडे़री निर्माण गर्ने सशक्त आधार हो।

   कञ्चनजङ्घा उद्धार केन्द्र सम्पूर्णरूपले सर्वसाधारणको सहयोगबाट चल्ने संस्था हो। केन्द्रले कुनै प्रकारको विदेशी सहयोग पाउँदैन, कुनै एक्लो दाता अर्थात डोनर छैन। परियोजनाको निम्ति पाउने सहयोगबाहेक केन्द्रको अन्य गतिविधि सर्वसाधारणको आर्थिक सहयोग (क्राउड फण्डिङ)द्वारा नै चल्छ। केन्द्रको सेल्टर होम पनि क्राउड फण्डिङबाट नै खड़ा भएको हो। हाम्रो समाजबाट मानव तस्करी, बालबालिकामाथि हुने यौन शोषण, घरेलु हिँसा आदि निर्मूल पार्नुको निम्ति कञ्चनजङ्घा उद्धार केन्द्रलाई तपाईंहरू सबैको सहयोगको नितान्त खाँचो छ। 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *