खरसाङ महाविद्यालयका प्राध्यापक डा. योगेश खाती डा. अम्बेडकर फेलोसिपद्वारा सम्मानित

IMG-20231218-WA0211.jpg

खरसाङ: भारतीय दलित साहित्य अकादमी, नयाँ दिल्लीले खरसाङ महाविद्यालयका प्राध्यापक डा. योगेश खातीलाई डा अम्बेडकर फेलोसिप राष्ट्रिय पुरस्कार-२०२३ प्रदान गरेको छ। गत डिसेम्बर १० अनि र ११ तारिखका दिन दिल्लीमा ३९औँ राष्ट्रिय दलित लेखक सम्मेलनको भव्य कार्यक्रममा भारतीय दलित साहित्य अकादमीद्वारा डा. खातीलाई उक्त सम्मान प्रदान गरिएको हो। उक्त राष्ट्रिय सम्मान प्राप्त गरेकामा खरसाङ महाविद्यालयका पक्षमा प्राचार्य डा समीर बलले हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन्। प्रतिवर्ष भारतीय दलित साहित्य अकादमीले भारतभरिका चुनिएका दलित लेखक, समाजसेवी र सामाजिक कार्यकर्ताहरूलाई उक्त राष्ट्रिय पुरस्कारले सम्मानित गर्दछ साथै अन्य समुदायका विभिन्न भाषा साहित्यका साहित्यकार, सङ्गीतकार, सांस्कृतिक अभियन्ता, समाजसेवी आदिलाई पनि विभिन्न स्तरका राष्टिय पुरस्कार प्रदान गर्ने गरेको छ। प्रतिवर्ष हुने उक्त सम्मान समारोह भारतीय दलित समुदायका निम्ति एउटा महत्त्वपूर्ण सम्मिलन अवसर मानिन्छ। भारतीय दलित साहित्य आजको परिदृश्यमा दलित विमर्शका एउटा विशेष क्षेत्रका रूपमा पाइन्छ। दलित विमर्श, आधुनिक भारतमा घटेका विविध सामाजिक अभियानहरू मध्ये एउटा बृहत् सामाजिक अभियानका रूपमा जानिन्छ। यसले दलित समुदायका अस्तित्व अनि अभिव्यक्तिलाई साहित्यमार्फत जीवन्त राख्न सक्षम रहेको छ। भारतीय दलित साहित्य अकादमीको उक्त सम्मेलनमा नेपाली भाषा साहित्यलाई पनि भारतका आधुनिक भाषाका रूपमा सम्मान गर्दै दलित साहित्यका क्षेत्रमा नेपाली भाषिक समुदायका साहित्यकारहरूका योगदानलाई सम्मान गरिने उक्त प्रचलनले नेपाली भाषिक समुदायलाई समेत ठुलो मान्यता रहेको प्राचार्य डा समीर बलले बताए। साथै डा. खाती यस पुरस्कारले सम्मानित हुनु खरसाङ महाविद्यालयका निम्ति गौरव हो भनी प्राचार्य बलले खुशी व्यक्त गरे।
डा. योगेश खाती भारतीय नेपाली साहित्यमा एकजना परिचित समालोचकका रूपमा चिनिन्छन्। उनका दुईवटा समालोचनात्मक कृति प्रकाशित छन्। उनले विभिन्न राष्ट्रिय- अन्तर्राष्ट्रिय शोध जर्नलहरूमा अनुसन्धानमूलक लेखहरू लेख्दै आएका छन्। उनका समालोचनाहरू अन्वेषणात्मक साथै समसामयिक साहित्यिक सैद्धान्तिक परिपाटीका पाइन्छन्। साहित्य बाहेक उनका योगदान नेपाली सङ्गीत क्षेत्रमा पनि उत्तिकै रहेका छन्। खरसाङ महाविद्यालयमा अठार वर्षदेखि यता प्राध्यापन सेवामा संलग्न रहेका डा खाती हालमा एसोसिएट प्रोफेसरका पदमा कार्यरत छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement