पाक्योङ: आहो माङहिम समितिले आहोमा दुई दिवसीय चासोक तङ्ग्नम कार्यक्रम आयोजना गरेको छ। आजदेखि शुरू भएको कार्यक्रममा मुख्य अतिथिकोरुपमा सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेती उपस्थित थिए भने विशिष्ट अतिथिमा नाम्चेबुङ क्षेत्रका विधायक एम प्रसाद शर्मा रहेका थिए। कार्यक्रममा उपस्थिति दिँदै अध्यक्ष उप्रेतीले कार्यक्रम परिसरमा आयोजित पूजा अर्चनामा भाग लिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उप्रेतीले लिम्बू जातिको विशेष पर्व चासोक तङ्ग्नमको अवसरमा सबैलाई बधाई दिए। वर्तमान सरकारले लिम्बू समुदायको हितमा धेरै कार्य गरिरहेको जानकारी गराए। राज्यको विभिन्न ठाउँमा माङहिमको निर्माण गर्ने कार्य पनि गरेको उनले बताए। यो पर्वको विशेषता बारे बोल्दै उनले प्रकृति नै यसको जननी रहेको उनले अवगत गराए। वर्तमान सरकारले विभिन्न जातिको चाड पर्वलाई राजनीतिदेखि माथि राखेको पनि उनले किटान गरे। विभिन्न जातिको चाड पर्व आयोजन गर्नको निम्ति स्वतन्त्रता दिएको उनले उप्रेतीले जानकारी गराए। मुख्यमन्त्री प्रेमसिंह तामाङले यहाँको माङहिमको निर्माण कार्य पनि छिटै समाप्त गर्ने पहल शुरु गरिसकेको उनले बताए।
आजको कार्यक्रममा लिम्बू जातिको विभिन्न विज्ञ व्यक्तिहरुले लिम्बू समुदायको संस्कार, संस्कृति, खान पान अनि भेषभुषा माथि आफ्नो भक्तव्य राखे। यसका साथै कार्यक्रममा लिम्बू साथै अन्य विभिन्न जातिको सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए।