दार्जीलिङ: निर्वाचित जन प्रतिनिधिहरूलाई अनदेखा गर्दै सत्ता चौकीमा बस्नेहरूले सरकारी योजनाहरू आफु खुशी गर्दै आईरहेको अवगत गराउँदै हाम्रो पार्टीको निर्वाचित सभासदहरूले जीटीएको प्रमुख कार्यपाल, जीटीएको मुख्य सचिव अनि जिल्लापाललाई पत्रचार गरेको छ। हाम्रो पार्टीको निर्वाचित छजना सभासदहरू अजय एडवाडर्स, रोबर्ट छेत्री, प्रतिम सुब्बा, सन्नी बम्जन, जितेन राई र रूबेनदास प्रधानद्वारा लिखित पत्रमा जीटीए सभाको सत्ता पक्षले निर्वाचित सभासदहरूको अनदेखा गर्दै सरकारी योजनाहरू जारी गरेको बताएका छन्। पहाडको धेरैवटा समष्टिहरूमा विपक्षी दलको उम्मेद्वारहरूलाई स्थानीय जनताले आ आफ्नो बहुमूल्य मतदान गरेर जनप्रतिनिधिहरू चयन गरेका छन्। तर ती समष्टि एंव क्षेत्रहरूमा पनि सत्ता पक्षले स्थानीय निर्वाचित जनप्रतिनिधिहरूलाई अनदेखा गर्दै एंव कुनै प्रकारको सम्पर्क नगरी सरकारी योजनाहरू जारी गर्दै आईरहेको आरोप पत्रमा उल्लेख गरेका छन्। पहाडको सत्ता पक्षको यस्तो कार्यले पहाडमा जनादेशको कुनै महत्व नरहेको स्पष्ट हुन्छ र पहाडको सत्ता दलको नेतृत्वहरूले जहिले पनि गणतन्त्रको ढोल पिट्ने गर्छ तर उनीहरूको ढोल पिटाई केवल जनताको आखाँमा धूलो छोप्ने नाटक मात्र रहेको स्पष्ट हुन्छ भनी पत्रमा उल्लेख गरेका छन्। पहाडको धेरैवटा क्षेत्रहरूमा सरकारी योजनाहरूको शिलान्यास आदि जस्ता कार्यहरू गर्दै आईरहेका छन्। तर यसको जानकसरी क्षेत्रीय जनप्रतिनिधिहरू समेतलाई दिएको छैन जो सरासर जनादेशको अपमान हो भनी बताइएको छ। जीटीएमा मात्र होइन पञ्चायत क्षेत्रहरूमा पनि पहाडको सत्ता दलले जनादेशको अपमान गर्दै आईरहेको निर्वाचित सभासदहरूले आफ्नो पत्रमा लेखेका छन्। हामी पनि चाहान्छौं पहाडमा विकास हुनुपर्छ। तर सत्ता दलको नेतृत्वहरूले जनादेशको अपमान होइन सम्मान गर्नुपर्छ। विपक्षीबिनाको गणतन्त्रलाई गणतन्त्र भनिन्दैन भनी उल्लेख गर्दै पत्रचार गरिएको जानकारी प्राप्त भएको छ।