कार चालक पुलिस हिरासतमा
गान्तोक: दक्षिण जिल्लास्थित नामथाङको देविथान, कोल्बुङमा बाइक दुर्घटनाग्रस्त हुँदा बाइक चालकको मृत्यु भएको छ भने बाइकमा बस्ने एक युवक गम्भीररूपमा घाइते बनेको पुलिसले जानकारी गराएको छ। उक्त घटना हिजो रातको ८:४५ बजी भएको हो। सो दुर्घटनमा परि बाइकका चालक पिकास सुब्बाको मृत्यु भएको छ। उनलाई स्थानीयहरूले उपचारको निम्ति नाम्ची अस्पताल लगेका थिए, जहाँ उनलाई मृत घोषित गरियो। घटनाक्रम अनुसार पल्सर बाईक नम्बर एसके -०४पी-५६०५ पिकास सुब्बाले चलाएका थिए भने सोही क्रममा देविथान, कोल्बुङमा पुग्दा अघिबाट आइरहेको डब्ल्यूबी-७४एभी-२५६७ (आइ-२०) कारले हिर्काएपछि सुब्बाको मृत्यु भएको हो।

यसरी नै सो घटनमा परि गम्भीररूपमा घाइते बनेका नरेन सुब्बालाई उपचारको निम्ति एसटीएनएम अस्पतालमा भर्ना गरिएको छ। उनलाई पनि गम्भीर चोट लागेको पुलिसले बताएको छ। यस घटनाका मुख्य आरोपी कार चालकलाई पुलिसले हिरासतमा लिएर केरकार गरिरहेको छ भने आरोपीविरूद्ध नाम्ची पुलिसले आइपीसीको धारा २७९-३३६-३३८-३० लागाएकाे छ।