कालचिनीः तृणमूल युवा कंग्रेसको नवनिर्वाचित अलिपुरद्वार जिल्ला सभापति विशाल गुरुङ र नवनिर्वाचित तृणमूल युवा कंग्रेसको राज्य सचिव राजकमल भगतलाई बिहीबार कालचिनी ब्लक तृणमूल युवा कंग्रेसले कालचिनीमा स्वागत जनाउँदै सम्वर्द्धना प्रदान गरे। आगामी लोकसभा चुनाउलाई मध्यनजर गर्दै तृणमूलले यसको भातृ संगठन एवम् सेलहरूलाई पुनर्गठन गर्ने क्रममा हालै मात्र मदारीहाट ब्लकको युवा नेता तथा जिल्ला परिषद सदस्य विशाल गुरुङलाई जिल्ला तृणमूल युवा कंग्रेसको अध्यक्ष पदमा निर्वाचित गरेका छन् भने पूर्व जिल्ला तृणमूल युवा कंग्रेसको सभापति राजकमल भगतलाई राज्य कमिटीको सचिव पदमा पदोन्नति दिएका छन्।
यसै क्रममा बिहीबार राजकमल भगत र विशाल गुरुङलाई तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मोको नेतृत्वमा कालचिनी ब्लकको ११ वटा अञ्चल कमिटीको पक्षबाट विशेष सम्वर्द्धना प्रदान गरिएको थियो। सम्वर्द्धना कार्यक्रम पश्चात पत्रकारहरूसित सम्मुखिन हुँदै राजकमल भगत र विशाल गुरुङले मूलतः पदको लागि नभएर सबैले दलको निर्देश र अनुशासनमा काम गर्नु पर्ने र दलप्रति इमान्दार रहँदै आगामी लोकसभा निर्वाचनको तयारी चलिरहेको र प्रत्येक ब्लक र अञ्चलहरूमा युथहरूको कमिटी बलियो बनाउने र दललाई आगामी लोकसभा चुनाउमा विजयी बनाउने काममा आफूहरू लागेको जनाएका छन्। दलमा गुटबाजी नगर्ने र दल विरोधी काम गर्नेहरूलाई दलबाट निष्काषन गर्ने र नयाँ तरीकाले अब युवाहरूले काम गर्ने आह्वान पनि तृणमूल युवा कंग्रेसको अलिपुरद्वार जिल्ला सभापति विशाल गुरुङले गरेका छन्। सम्वर्द्धना कार्यक्रम मात्र नभएर राज्य नेतृत्वमा पुगेका राजकमल भगत र युवा जिल्ला सभापति विशाल गुरुङको प्रेरणादायी कुरा सुन्न औ पार्टी हाइकमानको निर्देश सुन्नलाई ब्लक युथ कमिटीको पक्षबाट कार्यक्रम राखिएको र यस अवसरमा कालचिनी खण्डको सबै अञ्चलका युवा प्रतिनिधिहरूले युवा नेता राजकमल भगत र विशाल गुरुङलाई सम्वर्द्धना प्रदान गरेको जनाएका छन्।










