सिक्किमको बधाई कार्यक्रमसँग राष्ट्रपति द्रौपदी मुर्मू गदगद्

IMG-20220722-WA0184.jpg

गान्तोक: देशका १५औं राष्ट्रपति द्रौपदी मुर्मूलाई आज यहाँको चाणक्यपुरीस्थित डा. उमाकान्त दीक्षित मार्गको ४ नम्बर बङ्गलोमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किमेली जनसमुदायको पक्षबाट भव्य रूपमा बधाई एवं शुभकामना दिने कार्य सम्पन्न भयो। सिक्किमेली जनसमुदायको पक्षबाट आफूप्रति बधाई दिइने शैलीप्रति प्रभावित बनेकी राष्ट्रपति मुर्मूले सम्पूर्ण सिक्किम नै उठाएर ल्याएर आफूलाई बधाई दिएको महसुस गरिन्। उनले यस कार्यक्रमबाट आफू प्रभावित बनेको बताइन्। आज सिक्किमेली जनसमुदायको पक्षबाट राज्यका प्रमुख समुदाय भोटिया, लेप्चा अनि नेपालीको सांस्कृतिक टोलीले सिक्किमको प्रतिनिधित्व गर्दै नृत्य अनि गीत प्रस्तुत गऱ्यो। मुख्यमन्त्री तामाङले राष्ट्रपति मुर्मूअघि प्रस्तुत भोटिया, लेप्चा अनि नेपाली समुदायबाट मारुनि, नौमति टोली, तामाङको डम्फू टोली, सुब्बाको च्याब्रुङ टोली, राईको सिल्ली टोलीद्वारा बधाई दिइने कार्य अवधि यी समुदायबारे राष्ट्रपति मुर्मूलाई जानकारी गराए।

यस अवधि मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनकी धर्मपत्नी शारदा तामाङ, लोकसभा सांसद इन्द्रहाङ सुब्बा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यको उपस्थिति रहेको थियो।

कार्यक्रममा सिक्किमको पक्षबाट उपस्थित सांस्कृतिक टोलीले देशका पहिलो आदिवासी महिला राष्ट्रपतिलाई उनको जीतमा आफूहरूलाई गौरान्वित तुल्याएको प्ले कार्डहरूमार्फत जनाइरहेको देखियो। सिक्किमसँगै पूर्वोत्तर राज्यहरूबाट पनि उनलाई बधाई दिनेहरूको ताँती थियो। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूलाई बधाई दिने कार्यक्रम समाप्त भएपछि राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यको पक्षबाट आएका सबै सांस्कृतिक टोलीका सदस्यहरूसँग पुरानो दिल्ली हाउसमा भेट गरेर धन्यवाद दिने कार्य गरे। यसपछि मुख्यमन्त्री तामाङले त्यहाँ उपचाराधीन २९ जना विरामी अनि उनीहरूका आफन्तहरूसँग भेट गरेर उनीहरूको समस्या बुझ्ने कार्य गरे। यस अवधि तामाङले आफ्नो पक्षबाट सम्भवत सबै पहल गरिदिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement