सोरेङ: भारतको राष्ट्रपति द्रौपदी मुर्मु निर्वाचित भएकोमा सोरेङ जिल्लामा विजय उत्सव मनाइयो। यस विजय उत्सवलाई लिएर एउटा विराट ऱ्याली पनि निकालिएको थियो। यस ऱ्यालीको नेतृत्व सोरेङ जिल्ला अन्तर्गत चारवटा निर्वाचन क्षेत्रका विधायकहरूले गरेका थिए। यस अवसरमा मन्त्री एमएन शेर्पा, विधायकद्वय आदित्य गोले र केएस लेप्चा र विधायिका सुनिता गजमेर, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, खेलकुद एवं युवा मामिला विभागका सल्लाहकार मेघनाथ सुब्बा, स्टेट ब्याङ्क अफ् सिक्किमका अध्यक्ष डीबी गुरुङ, कृषि एवं बागवानी बोर्डका अध्यक्ष सीके राणा, अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेमकुमार सुब्बा, सूचना पौद्योगिकी विभागका अध्यक्ष नवराज गुरुङ, चारै समष्टिका सीएलसी अध्यक्ष, सत्तारूढ एसकेएम पार्टी र भारतीय जनता पार्टीका पदाधिकारीगण, सोरेङ जिल्ला अन्तर्गत विभागीय अधिकारीगण र आमजनताको उत्साहजनक उपस्थिति थियो।
द्रौपदी मुर्मु देशको १५औं राष्ट्रपतिको रूपमा निर्वाचित भएकी छिन्। राष्ट्रपति देशको सर्वोच्च संवैधानिक पद हो। यस्तो गरिमामय पदमा गाउँको साधारण परिवारमा हुर्केकी एकजना आदिवासी महिला पुग्नु गर्वको विषय रहेको मन्त्री एमएन शेर्पाले बताए। हालैमा सम्पन्न राष्ट्रपति चुनाउमा श्रीमती मुर्मु विजयी बनेर देशको सर्वोच्च संवैधानिक पदमा निर्वाचित भएकी छन्। उनको जीतको खुशीमा आज सिक्किम राज्यका ६ वटै जिल्लामा विजय उत्सव मनाइयो।
राष्ट्रपति मुर्मुको जन्म २० जून, १९५८ मा ओडिशाको मयूरभंज जिल्लामा भएको थियो। मुर्मुले ओडिशाको मयूरभंज जिल्लाको सानो गाउँ उपरबेडास्थित एउटा साधारण स्कूलबाट आफ्नो पढाइ शुरु गरेकी हुन्। यो गाउँ देशको राजधानी दिल्लीदेखि लगभग दुई हजार किलोमिटर अनि ओडिशाको राजधानी भुवनेश्वरदेखि ३ सय १३ किलोमिटर टाडा अवस्थित छ। गरीब परिवारमा जन्मिएकी मुर्मुले जीवनमा कैयौं बज्रपातको सामना गर्नु पऱ्यो। आफ्नो पति र दुई छोराको मृत्युपछि पनि उनले सार्वजनिक जीवनमा संघर्ष गर्न कहिले छोडिनन्। आज उनी देशको सर्वोच्च संवैधानिक पदमा पुग्न सफल बनेकी छन्।
झारखण्ड राज्यकी पूर्व राज्यपालसमेत रहिसकेकी मुर्मु राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)-को राष्ट्रपति उम्मेदवार थिइन्। देशमा प्रथमपल्ट आदिवासी महिला राष्ट्रपति निर्वाचित भएकोमा हर्षमा प्रकट गर्दै सोरेङ जिल्लावासी खुलेर र्यालीमा निस्के। आज सोरेङ जिल्लामा आयोजित विजय र्याली सोरेङ स्कूलको परिसरदेखि शुरु भएर जिल्ला प्रशासनिक कार्यालय, सोरेङ बजार भएर डाँडा बजार हुँदै सोरेङ स्कूलको खेलमैदानमा टुंगिएको थियो।










