काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले विपक्षी दलहरूको आईएनडीआई गठबन्धनको आगामी बैठकमा सामेल हुन राजी भएकी छन्। यसअघि उनले बैठकमा सामेल नहुने भनेकी थिइन्।
समयमा उनलाई सूचना नदिइएको उनले आरोप लगाएकी थिइन्।
यसपछि नीतीश कुमार र अखिलेश यादवले पनि बैठकमा नआउने भनेपछि कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेको दिल्लीस्थित आवासमा हुने बैठक स्थगित गरिएको थियो। अब कांग्रेस नेता राहुल गान्धीले मुख्यमन्त्री ममता ब्यानर्जीलाई फोन गरेर आगामी बैठकमा सामेल हुनका लागि राजी गरेको खबर छ।
आज शुक्रवार उत्तर बंगालको खरसाङमा ममताका भतिज आवेशको बिहे भइरहेछ। यसको निम्ति पूरा ब्यानर्जी परिवार उत्तर बंगालमा पुगेको छ। यसबीच राहुल गान्धीले मुख्यमन्त्री ममता ब्यानर्जीलाई फोन गरेका छन्। सीएमका करीबी सूत्रहरू अनुसार, राहुल गान्धीले उनलाई फोन गरी भतिजको बिहेको शुभकामना दिए औं त्यसपछि गठबन्धनको बैठकमा सामेल हुने अनुरोध गरे।
ममताले उनलाई बैठकको मिति तय गर्नअघि सबै विपक्षी दलहरूका सम्बन्धित नेताहरूसित कुरा गर्नुपर्छ भनिन्। ममताले आश्वस्त गरिन् कि आगामी बैठक जहिलेपनि हुनेछ, उनी आउनेछिन्। सूत्रहरू अनुसार, दिसम्बरको अन्तिम हप्तामा विपक्षी दलहरूको गठबन्धनको बैठक हुनेछ।











