मार्तम रुम्तेकका एसकेएम सीएलसी सदस्यहरूले त्यागे पार्टी

IMG-20231208-WA0005.jpg

गान्तोक: क्षेत्र विधायकसित कुनै समन्वय नबनेको, क्षेत्रको विकास नभएको, पुराना कार्यकर्ताहरूलाई अन्याय भएको अनि पार्टी हाइ कमाण्डले पनि पत्तो नदिएको भन्दै पूर्व सिक्किमको मार्तम रुम्तेक क्षेत्रको सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सीएलसी (समष्टिस्तरीय समिति) अध्यक्षलगायत अन्य पूर्व कार्यकारी सदस्यहरूले पार्टीको प्राथमिक सदस्यताहाट नै राजीनामा दिएका छन्। उनीहरूले गत जुलाई महिनामा यसै विषयलाई उठान गर्दै आ-आफ्नो पदबाट राजीनामा दिएका थिए भने आज आधिकारिक रुपमा प्राथमिक सदस्यताबाट नै राजीनामा दिएका हुन्। राजीनामा दिनेहरूमा पूर्व सीएलसी अध्यक्ष रोशन उप्रेती, दावा छिरिङ लेप्चा, शेराप छिरिङ भोटिया, पदम शर्मा र सोनाम ग्याछो भोटिया रहेका छन्।

प्राप्त जानकारीअनुसार गत ४ जूनको दिन मार्तमु रुम्तेकको एसकेएम सीएलसी-को एउटा बैठक बसेको थियो जसमा क्षेत्रको विकासलाई लिएर क्षेत्र विधायकसित तालमेल नमिलेको सन्दर्भमा विस्तृत रुपमा चर्चा भएको थियो। पूर्व सीएलसी अध्यक्ष रोशन उप्रेतीले बताएअनुसार त्यस दिनको बैठकमा भएको चर्चा बारे क्षेत्र विधायक र गान्तोकमा पार्टी मुख्यालयमा लिखित प्रतिवेदन बुझाइएको थियो। “संयोगवश उक्त प्रतिवेदन बुझाउन पार्टी मुख्यालयमा आउँदा पार्टीका महासचिव तथा विधानसभा अध्यक्ष अरुण उप्रेती ज्यूसित हाम्रो भेट भयो र हामीले सबै कुरा उहाँलाई सुनायौं। उनले हाम्रो कुरालाई गम्भीरतासित लिँदै दुई दिन भित्रमा पार्टीगत रुपमा आवश्यक पहल गर्ने र समस्याको समाधान गर्ने आश्वासन दिनुभएको थियो। तर, करिब एक महिना बित्दा पनि कुनै पहल नहुँदा हामीले १ जूलाईको दिन आ-आफ्नो पदबाट राजीनामा दिएका थियौं कारण चुनाउ अघि हामीले क्षेत्रवासीलाई पार्टीको तर्फबाट जे-जस्ता वचन दिएका थियौं त्यसलाई पूरा गर्न सकिरहेका थिएनौं र त्यसको पूर्ण जिम्मेवारी हाम्रो हुन्छ”, उनले भने।

पादबाट राजीनामा दिएर पनि पार्टीले केही पहल गर्छ कि भनेर पर्खेर बसेको तर ६ महिना भन्दा अधिक समय बितेर जाँदा पनि कुनै कार्यवाही नभएपछि अन्तमा वाध्य बनेर पार्टीको प्राथमिक सदस्यताबाट नै राजीनामा दिएको पदम तामाङले बताए। “हामीलाई त्यसै पार्टीमा बसिरहनु उचित लागेन। कारण चुनाउ पूर्व दिएको वचनहरू पूरा गर्न नसक्दा क्षेत्रवासीले हामीलाई प्रश्न गर्ने गरेका छन्”, उनले भने। उनको भनाइअनुसार मार्तम रुम्तेक क्षेत्रमा विकास नहुनुको पछि क्षेत्र विधायकको असक्षमता रहेको छ। विधायकले क्षेत्रको सत्तारुढ़ पार्टीको सीएलसी-सित कुनै सम्पर्क नराख्ने गरेको तथा आफ्नो खुशीले काम गर्ने गरेको शर्माको भनाइ रहेको छ। उल्लेखनीय छ, मार्तम रुम्तेकमा विधायक सोनाम भेञ्चोङ्गपा भारतीय जनता पार्टीका विधायक हुन्। एसकेएम पार्टीका एक कर्मठ कार्यकर्ता रहेका भेञ्चोङ्गपा २०१९ को चुनाउमा एसकेएम पार्टीबाट लड़ेका थिए भने छोटो मतान्तरले एसडीएफ उम्मेद्वार तथा पूर्व मन्त्री डीटी लेप्चासित पराजित भएपछि उपचुनाउमा भाजपा-को टिकटबाट जितेर विधायक बनेका हुन्।

क्षेत्र विधायक भेञ्चाङ्गपाले सत्तारुढ़ पार्टीको सीएलसी मात्र होइन स्थानीय पञ्चायतहरूसित पनि समन्वय नराख्ने गरेको सीएलसी-बाट राजीनामा दिने अर्का सदस्य दावा छिरिङ लेप्चाले बताए। “हामीले त्यसै सत्तारुढ़ पार्टी त्यागेका होइनौं। अनेक प्रयास गर्दा पनि क्षेत्रवासीको हितमा काम गर्न नसकेपछि वाध्य बनेर पार्टी त्यागेका हौं। आज २०१४ र १९ को चुनाउमा एसकेएम पार्टीलाई पसिना र रगत दिएर सघाउनेहरू जस्ताको तस्तै छन्। हामी सीएलसी-मा रहेर पनि उनीहरूका लागि केही गर्न सकेनौं। त्यसैले दुःखमा साथ दिए पनि अहिले सुखमा पार्टीलाई छोड़दैछौं”, उनले भने। तर, एसकेएम पार्टी त्यागेर अर्को कुनै पार्टीमा सामेल हुनकालागि आफूहरूले पार्टी नत्यागेको पनि उनले स्पष्ट पारे। उनको भनाइअनुसार आगामी चुनाउमा एसकेएम पार्टी होस या कुनै पनि पार्टीले स्थानीय जनताको हितमा सोच्ने र काम गर्ने असल उम्मेद्वार पठाएको खण्डमा उनीहरू अघि आएर सहयोग गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement