गोरुबथान ग्राम पंचायत एकमा स्ट्रिट लाइट जडान कार्य अन्तिम चरणमा

IMG-20231202-WA0158.jpg

गोरुबथान: लगभग दुइ दशकसम्म अघिकारीहरूद्वारा संचालित जीटीए क्षेत्रका ग्राम पंचायतहरू अहिले निर्वाचित सदस्यहरूको हातमा आएको छ। लामो वर्षसम्म अर्कै अभ्यासमा रहेको ग्राम पंचायतहरूलाई जनकल्याणको निम्ति लगाऊँ भन्ने विचार राख्ने पंचायत प्रधान, सदस्यहरू यसको निम्ति लागिपरेका छन्।
यसै क्रममा गोरुबथान ग्राम पंचायत एकका प्रधान निमा तामाङ आफ्ना सदस्यहरूसित जनकल्याणको निम्ति लागिपरेका छन्। गोर्खा जातिको महान चाड दशैँमा गाउँ घर, बाटोघाटो झिलिमिली होस् भन्ने उद्देश्य राखेर प्रधान निमा तामाङको अगुवाईमा गोरुबथान ग्राम पंचायत एकका विभिन्न ठाउँहरूमा स्ट्रिट लाइट जडान तथा मर्मत गरिने कार्यको थाल्नी गरियो। पंचायत प्रधान तामाङले दिएको जानकारीअनुसार आफ्नो क्षेत्रभित्र पर्ने प्रायः ठाउँहरूको सडक, बाटो, गल्ली, मोडहरूमा स्ट्रिट लाइट जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। आज धर्मशालादेखि पानडाँडासम्म हाइवेमा स्ट्रिट लाइट लगाउने कार्य भयो। तिनले दिएको जानकारीअनुसार अहिलेसम्म करिब ३ सयवटा स्ट्रिट लाइट जडान गरिसकिएको छ भने अब सोमबारे बजारको गोसखाननजिक रहेको खानदानी गाउँ र सुन्दरी बस्तीमा मात्र काम बाँकी छ। ती ठाउँहरूमा पनि चाँडै स्ट्रिट लाइट जडान गरिने तिनले बताए। विभागको अन फण्डबाट स्ट्रिट लाइट जडानको कार्य भइरहेको पनि तिनले थप जानकारी गराए।

स्मरण रहोस्, यसअघि सोमबार बजार अनि मालबस्तीका केही ठाउँहरूमा मात्र स्ट्रिट लाइट जडान गरिएको थियो। तर ती लाइटहरू उचित देखरेख नभएको, मरमतको अभावले धेरै समयदेखि लथालिङ्ग अवस्थामा थियो। एक-दुइ ठाउँबाहेक अन्य स्ट्रिट लाइटहरू बलेका थिएनन्। तर पंचायतको निर्वाचित बोर्ड बनाएपछि पुरानो स्ट्रिट लाइट मर्मत अनि नभएको ठाउँमा नयाँ जडान गरिने कार्य भएकोले स्थानीय मानिसहरूलाई धेरै राहत मिलेको छ। त्यसै पनि मालबस्ती, पानडाँडा, आहाले एरिया जंगली हात्ती रगरगी गर्ने ठाउँ हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement