गान्तोक: उत्तर सिक्किमको लाचेन बाहेक राज्यका अन्य सबै स्थान पर्यटकलाई स्वागत गर्न तयार रहेको सिक्किमको पर्यटन विभागले जानकारी दिएको छ। यसका साथै ४ अक्टोबरको टिस्टा त्रासदीपछि पूर्ण रुपले प्रभावित बनेको सिक्किमको पर्यटनमा लय फर्किनसक्ने पनि विभागले विश्वास राखेको छ।
बुधवार पर्यटन भवनमा आयोजित पत्रकार सम्मेलनमा राज्य पर्यटन विभागका सचिव प्रकाश छेत्रीले सिक्किम आउने पर्यटकहरूका लागि लाचेन बाहेक अन्य सबै स्थान सुरक्षित गन्तव्य बनिसकेका जानकारी दिए। उनले लाचेनलाई पनि पर्यटनका लागि खुलाउने प्रयास जारी रहेको बताएका छन्।
उत्तर जिल्ला प्रशासनले आज एउटा सूचना जारी गरेर आगामी १ दिसम्बरदेखि पर्यटकहरू लाचुङ र युमथाङसम्म जाने सक्ने जानकारी दिएपछि राज्य पर्यटन विभागले सिक्किम पर्टनका लागि सुरक्षित गन्तव्य बनिसकेको जानकारी दिंदै पर्यटकहरूलाई सिक्किम भ्रमणको निम्ति आग्रह गरे।
सचिव प्रकाश छेत्रीले जानकारी दिएअनुसार, टिस्टा त्रासदीपछि पर्यटन विभागले सिक्किम भ्रमणको तयारीमा रहेका पर्यटकहरूलाई यात्रा केही समय स्थगित राखिदिन आग्रह गरेको थियो। पछिबाट विभागले उत्तर सिक्किम बाहेक अन्य स्थानमा पर्यटकले भ्रमण गर्नसक्ने बताएको थियो भने उत्तर सिक्किम पनि पर्यटकलाई स्वागतका लागि तयार बनेपछि राज्यको पर्यटन लयमा फर्किनसक्ने विश्वास बडेको बताए।
उत्तर सिक्किमको लाचुङ र युमथाङ खुल्ला भएपछि अब पर्यटकहरू साङ्कलनबाट जङ्गु घुमेर चुङथाङ पुग्नुपर्नेछ। यो मार्ग टुङबाट सिधै चुङथाङ पुग्नभन्दा लगभग १६ किलोमिटर लामो हुनेछ। बाटो केही लामो भएपनि यात्राका लागि मार्ग सुरक्षित रहेको सचिवले बताए।
सिक्किमको पहाडी भेगमा हिउँपर्ने मौसम शुरु भइसकेकाले पर्यटकले अब सिक्किम यात्रा रुचाउने छन् भन्ने आशा रहेको उनले बताए। टिस्टा त्रासदीले सबै मार्ग बन्द भएपछि उत्तर सिक्किममा केही दिनसम्म धेरै पर्यटक फसेको स्थितिले सिक्किम भ्रमणमा पर्यटकको मनमा डर पैदा भएको छ भन्ने स्वीकार गर्दै तथापि स्थिति सामान्य बनिसकेका कारण अनि पर्यटनका लागि सिक्किमको युएसपी पनि राम्रो रहेकाले पर्यटन क्षेत्र बनि बिस्तारै सामान्य हुने सचिवले जानकारी दिए।
अर्कोतिर पर्यटकहरूलाई विभिन्न हितधारकहरूबाट हुने ओभर चार्जिङ समस्या भएको, तर यसलाई समाधानका लागि पर्यटन विभागले यातायात विभाग र पुलिससँग समन्य बनाइराखेको पर्यटन विभागका सचिवले जानकारी दिएका छन्।









