नाण्डोक प्रशासनिक केन्द्रमा एकदिने उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न

IMG-20231130-WA0000.jpg

गान्तोक: राज्यको खाद्य एवं नागरिक आपूर्ति विभाग अन्तर्गत कानूनी नाप-तौल एकाई अनि उपभोक्ता संरक्षण प्रकोष्ठको तत्वावधानमा स्यारी समष्टिको नाण्डोक खण्ड प्रशासनिक केन्द्रमा एकदिने उपभोक्ता सचेतना कार्यक्रम आयोजन गरियो।

क्षेत्रका जिल्ला पञ्चायत सदस्य धनमाया राईको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा विभागीय सचिव सुश्री नम्रता थापा, संयुक्त नियन्त्रक जिग्मी काजी, पूर्व संयुक्त नियन्त्रक एवं वर्तमान सामाजिक कल्याण विभागका संयुक्त निदेशक महेश शर्मा, उप-निदेशक अनिल सिक्देल आदिले सम्बोधन गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै विभागीय सचिव नम्रता थापाले ठगिनुबाट जोगिन अनि आफ्नो अधिकारबारे आवाज उठाउन उपभोक्ताहरूको मानसिक विकास हुन आवश्यक रहेको कुरामा जोर दिइन्। उचित नाप-तौल, प्याकेटमा रहेका वस्तुको म्याद सकिने दिन अर्थात् (डेट अफ् एक्सपाइरी), उत्पादको गुणवत्ता आदि राम्रोसँगले जाँच्नुपर्ने अनि किन्नुपर्ने पनि उनले आह्वान गरिन्।

उनले उपभोक्ताहरूलाई आफ्नो अधिकारबारे आवाज उठाउन अघि आउनुपर्ने अपील गरेकी छिन्। उनले हाल राशनमा वितरण गरिरहेको चामल यो चीनियाँ चामल हो भन्ने कतिपय मानिसहरूमा भ्रम रहेकोबारे बोल्दै सो चामलमा आइरन, भिटामिन बी१२, फोलिक एसिड आदि मिसाइएको फोर्टिफाइड चामल रहेको जानकारी गराइन्।

उनले योसँगै हाल खाना पकाउने ग्यास सिलिण्डर कम्पोजिट प्रारूपमा निस्किएको जानकारी गराउँदै यो नयाँ ग्यास सिलिण्डरमा आगलागी भइहाल्दा पनि सिलिण्डर विस्फोट नभएर बिल्लिने हुनाले धेरै सुरक्षित रहेको जानकारी गराइन्। यो आपदको समय हवाई मार्ग भएर पनि लैजान सकिने भएकोले गर्दा भविष्यमा उपभोक्ताहरूले यसको प्रयोग अधिक गरे दुर्घटनाबाट बाँच्न सकिने पनि जानकारी गराइन्।

विभागीय संयुक्त निदेशक टाइटस बस्नेतद्वारा सञ्चालित कार्यक्रममा सबै वक्ताहरूले राष्ट्रिय खाद्य सुरक्षा ऐन, अन्त्योदय अन्न योजना, एक राष्ट्र एक राशन कार्ड लगायत उपभोक्ताहरूको अधिकारबारे जानकारी साझा गरे। कुनै पनि सामग्री किन्दा सो दोकानबाट त्यसको रसिद वा बील भने लिनु नभुलिनुपर्ने विभागले अपील गरेको छ। आवश्यक तथ्यबिना उपभोक्ताहरू ठगिए पनि यसबारे विभागले कार्वाही गर्न नसक्ने प्रष्ट पारेको छ।

उपभोक्ताहरूले एमआरपी अर्थात् अधिकतम खुद्रा मूल्यबाट पनि घटाउनसक्ने अधिकार रहेको जानकारी गराए। योसँगै उनीहरू ठगिने ठाउँ धेरै रहेको तर उपभोक्ताहरूलाई त्यसबारे ज्ञात नभएको उल्लेख गर्दै स्पष्ट जानकारी साझा गरे। यदि आफू ठगिएको महसुस गरे उपभोक्ताहरूले विभागको हेल्पलाइन नम्बरमा बिहान १० बजीदेखि बेलुकी ५ बजीसम्म सोझै फोन गरेर आफ्नो गुनासो राख्नु सक्नेछन्।

कार्यक्रममा क्षेत्रका पञ्चायत सभापति दिनेश कार्की लगायत विभागीय अन्य अधिकारीहरू अनि क्षेत्रवासीको उपस्थिति रहेको थियो।

About Author

Advertisement