नमस्ते आईडल सिजन एकको खिताब जिते सोनादा निवासी अमन गुरुङले

IMG-20231126-WA0218.jpg

खरसाङ: नमस्ते आईडल सिजन एकको बिजेता सोनादाको नयाँ कमान निवासी अमन गुरुङ बनेका छन्। गायन क्षेत्रकाहरूलाई प्रोत्साहन गर्न साथै मञ्च प्रदान गर्नलाई नमस्ते खरसाङ च्यानलको आयोजनामा गत अक्टोबर महिनादेखि शुरू भएको नमस्ते आईडल सिजन एकको ग्राण्ड फिनाले आईतबार खरसाङको क्याम्ब्रिज अंग्रेजी स्कूलको हलमा सम्पन्न भएको थियो। टप पाँचजना प्रतियोगीहरूलाई लिएर सम्पन्न उक्त ग्राण्ड फिनालेमा सबै प्रतियोगीहरूलाई उछिन्दै अमन गुरुङले नमस्ते आईडल सिजन एकको खिताब जितेका छन्। उनले उक्ति खिताबसितै आकर्षक ट्रफीको साथमा नगदराशि २५ हजार रूपियाँ पनि जितेका छन्। यसको साथै वरिष्ठ संगीतकार एंव संगीत संयोजक रुपेस रसाईलीको खरसाङस्थित प्रसिध्द आर स्टुडियोमा गीत रेकर्डिङ गर्न पाउने भएको छ। उक्त नमस्ते आईडलको उप विजेता शुभम प्रधान बनेका छन् जसले ट्रफीको साथमा नगदराशि ११ हजार प्राप्त गरेका छन् जसलाई स्व मंगलसिंह ग्याबाबको परिवारले प्रायोजन गरेका थिए। त्यसरी नै तेस्रोमा दिलरामको शाहिद राई बने जसले ट्रफीसितै नगदराशि ७ हजार प्राप्त गरेका थिए भने उक्त राशि मिङमा तामाङ र संगीतकार महेश्वर तामाङले प्रायोजन गरेका थिए। त्यसरी नै चौथोमा सबिता गजमेर र पाँचौंमा रुपेस मंग्राती बनेका थिए। दुवैले ट्रफीसहित नगदराशि पाँच पाँच हजार प्राप्त गरेका थिए जसलाई ईण्डियन आईडल प्रशान्त तामाङले सहयोग गरेका थिए। यी पाँचैजना फाईनलिस्टहरूले बागिना सांगीतिक टोलीको साथमा राष्ट्रिय च्यानल दुरदर्शन (डीडी नेशनलन) को नेपाली कार्यक्रममा प्रस्तुति दिन पाउने भएको छ। आज सम्पन्न ग्राण्ड फिनालेमा नमस्ते आईडलको पाँचैजना प्रतियोगीहरूले बागिना सांगीतिक टोलीको साथमा लाइभ प्रस्तुति दिएका थिए। नमस्ते आईडल सिजन एकको निर्णायकहरू वरिष्ठ संगीतकारद्वय सहदेव चामलिङ र उपेन्द्र प्रधान, लोक गायिका सुचिता खाती रहेका थिए भने ग्राण्ड मास्टरमा वरिष्ठ संगीतकार महेश्वर तामाङ रहेका थिए। विश्व सुब्बा र सुुप्रिना गिरीद्वारा सञ्चालित ग्राण्ड फिनाले कार्यक्रममा पाँचजना प्रतियोगीहरूले एकल र समूहमा पनि प्रस्तुति दिएका थिए। प्रतियोगीहरूलाई अनलाइन भोटिङमार्फत् भोट दिइएको थियो भने आज ग्राण्ड फिनालेमा ३० जना वरिष्ठ संगीतकारहरूले १० पोइन्ट गरेर लाइभ भोटिङ पनि गरेका थिए। त्यसरी नै ग्राण्ड फिनालेमा तीनजना निर्णायकहरूले अंक दिएका थिए भने ग्राण्ड मास्टरले भिटो प्रयोग गरी १०० अंक प्रदान गर्ने प्रावधान भए पनि ग्राण्ड मास्टर महेश्वर तामाङले १०० मा ४० भोट अमन गुरुङलाई दिएका थिए। कार्यक्रममा निर्णायकहरू र ग्राण्ड मास्टरलाई नमस्ते खरसाङको तर्फबाट सम्मान जनाइएको छ।

त्यसरी नै नमस्ते आईडलमा सहभागी प्रतियोगीहरूलाई पनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। नमस्ते आईडल सिजन एक विषयमा पत्रकारहरूसित कुराकानी गर्दै नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङले कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्। उनले नमस्ते आईडलमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन्दै नमस्ते आईडल सिजन एक पनि आयोजना गरिने बताएका छन्। उनले गायन क्षेत्रमा रहेका प्रतिभाशाली युवाहरूलाइ प्रोत्साहन र मञ्च प्रदान गर्नलाई यो अायोजना गरेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement