खोलाचन्द फाप्री भानुभक्त जन पुस्तकालय सञ्चालनार्थ देउसी-भैलो कार्यक्रम सम्पन्न

IMG-20231124-WA0202

सिलगढी: खोलाचन्द फाप्री भानुभक्त जन पुस्तकालयद्वारा पुस्तकालयको सर्वाङ्गिण विकासको निम्ति अर्थ संग्रह गर्न गत ९ नोभेम्बरदेखि खेलिएको देउसी-भैलो कार्यक्रम बिहिबार एकादशीको उपलक्ष्यमा समापन भयो। स्थानीय हिमाली युवा संघ भवनमा साँझ ५ बजेदेखि शुरु भएको कार्यक्रममा अतिथिको रुपमा अधिवक्ताहरु विरेन्द्र रसाईली, प्रिजेश प्रधान, पत्रकार निर्दोशिका तामाङ, सिलगढी बालकृष्ण संघका अध्यक्ष शर्मिला गुरुङ, सचिव निलम गजमेर, आश्रमपाडा गोर्खा शिवमन्दिर परिचालन समितिका अध्यक्ष उत्तम गुरुङ, शिक्षक-शिक्षिकाहरु क्रमैले महेन्द्र थापा, पुर्णिमा थामी, सरिता सुब्बा, मनिशा प्रधान, समाजसेवीहरु क्रमैले बी.बी. विश्वकर्मा, पदम छेत्री, प्रमिला प्रधान, रञ्जना गिरी, कमला विश्वकर्मा, दिनेश तामाङ विशेष उपस्थित थिए।

भानुभक्त जन पुस्तकालयका सचिव विकास तिम्सिनाद्वारा सञ्चालित कार्यक्रममा स्वागत वक्तव्य कोषाध्यक्ष कृष्ण शर्माले राखे साथै अध्यक्ष परिमल थापाले पुस्तकालय विषय जानकारी गराए। कार्यक्रमको मुख्य आकर्षण खोलाचन्द फाप्री भानुभक्त जन पुस्तकालय, हिमाली युवा संघ एवं राधे राधे भजन मण्डलीका देउसे-भैलो टोलीको प्रस्तुती अत्यन्तै रोचक ढङ्गमा भएको थियो। यस लगायत पुस्तकालयका विद्यार्थीहरुले गीत, नृत्य, कथा, कविता, चित्रकला इत्यादि प्रस्तुत गरे। सम्बोधनको क्रममा अधिवक्ता विरेन्द्र रसाइलीले भने, ‘खोलाचन्द फाप्री भानुभक्त जन पुस्तकालयले शिक्षालाई लिएर जुन पहल शुरु गरेको छ, त्यसमा मेरो सधैँ सहयोग रहनेछ। उनले यसदिन पुस्तकालयलाई पुस्तक राख्नको निम्ति एउटा “रेक” पनि प्रदान गरे।

पत्रकार नोर्दोशिका तामाङले भनिन्, ‘भाषा, साहित्य, शिक्षा, संस्कृतिको संरक्षणमा हिमाली युवा संघ र खोलाचन्द फाप्री भानुभक्त जन पुस्तकालयले गर्दै आइरहेको कार्यमा सबैले सहयोग पुर्याउनु अत्यन्तै आवश्यक रहेको छl’ बालकृष्ण संघका अध्यक्ष शर्मिला गुरुङले भनिन्,  ‘यस भेकमा पुस्तकालयको खाँचोलाई खोलाचन्द फाप्रीले पूरा गर्न सफल भएको छ। भानुभक्त जन पुस्तकालयको शैक्षिक सेवा कार्यले पठन संस्कृति फस्टाउने कुरामा आफू विश्वस्त रहेको, जसमा बालकृष्ण संघको सहयोग सधैँ रहनेछl’ यस विषयमा पुस्तकालयका सचिव विकास तिम्सिनाले भने, ‘भानुभक्त जन पुस्तकालयको तर्फबाट प्रत्येक वर्ष देउसी-भैलो खेल्नेगर्छौँ र त्यसबाट संग्रह भएको दक्षिणाले यस क्षेत्रका बाल-बालिका, युवा-विद्यार्थीहरूलाई कुलतबाट टाढा राख्न खेलकूद, कला, संगीत, साहित्यलाई प्रोत्साहन गर्दै पुस्तकालयमा विविध विषयहरुमा नि:शुल्क शिक्षा प्रदान गर्दै आइरहेका छौँ। हाम्रो समाजको बिग्रदो वातावरणलाई स्वच्छ बनाउने उद्धेश्यका साथ शुरु गरेको यो पहलमा सबैको सानोसानो सहयोगले हाम्रो कलिलो काँधलाई धेरै ठूलो टेवा पुग्नेकुरामा हामी आशावादी छौँl’ यसै उद्धेश्यका साथ यस वर्ष पनि पुस्तकालय भवनमा स्थानीय व्यक्तिविशेषहरुलाई निम्ताएर एकादशीको साँझ यस बर्षको देउसी-भैलो कार्यक्रमको समापन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement