खरसाङ: गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा वरिष्ठ साहित्यकार अर्जुन प्रधानको निधनमा पुस्तकालयको अध्ययन कक्षामा शोक सभा सम्पन्न भएको छ। उक्त शोक सभा गोर्खा जनपुस्तकालयको अध्यक्ष पूर्ण गुरुङ ‘निरुपम’को अध्यक्षता र मूल सचिव विनोद रसाईलीको सञ्चालनमा सम्पन्न भएको छ। उक्त शोक सभाको शुरुमा साहित्यकार अर्जुन प्रधानको चिर आत्माले शान्ति पाऊन् भनी मौन प्रार्थना गरियो भने साहित्यकार अर्जुन प्रधानको तस्वीरमा धुप द्वीप प्रज्वलन गरी उपस्थित सबैले साहित्यकार प्रधानलाई श्रध्दाञ्जली अर्पण गरेका थिए। यस अवसरमा वक्ताहरूले अर्जुन प्रधानको जीवनी, कृतित्व, व्यक्तित्व र लेखन विषयमा चर्चा परिचर्चा गरेका थिए। यस क्रममा आशा मुखिया लामाले साहित्यकार अर्जुन प्रधानको कृतित्व, व्यक्तित्व र समालोचना विषयमा प्रकाश पारेकी थिइन्। त्यसरी नै पुस्तकालयको उपाध्यक्ष प्रकाश प्रधानले अर्जुन प्रधानसितको कार्यक्रम विषयमा सम्झना गर्दै सन् २०१५ तिर पुस्तकालयको एक कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित भएको र उनले पुस्तकालयको कार्यहरूप्रति आकर्षित भएर सराहना गरेको बताए। शोक सभामा सञ्चालनको क्रममा मूल सचिव विनोद रसाईलीले अर्जुन प्रधानको जीवनी, व्यक्तित्व र समालोचना विषयमा चर्चा गरेका थिए। उनले अर्जुन प्रधानको समालोचनामा सकरात्मक पक्ष र कलात्मक पक्ष बेसी रहेको बताउँदै विशेष गरी युवाहरूलाई उनको समालोचनाले धेरै प्रोत्साहन मिल्ने गरेको थियो भनी बताए। विनोद रसाईलीले उनको सामाजित र लेखनको कुरा राख्दै उनको अगुवाईमा धेरै नयाँ लेखकहरूको सिर्जना भएको र लेखनमा सबैले प्रोत्साहन पाउने गरेको पनि बताए। उक्त शोक सभामा सभाध्यक्ष एंव वरिष्ठ साहित्यकार पूर्ण गुरुङ ‘निरुपम’ ले अर्जुन प्रधानको कृति ‘गढीदेखि मन्दिरसम्म’ माथि विश्लेषणात्मक टिप्पणी राख्दै अर्जुन प्रधानमाथि श्रध्दाञ्जली अर्पण गरेका थिए।

त्यसरी नै पुस्तकालयको पूर्व सभापति एंव समाजसेवी तिलक शर्मा, बिनोद प्रकाश शर्मा अादिले पनि वक्तव्य राख्दै साहित्यकार अर्जुन प्रधानको जीवनी, कृतित्व, व्यक्तित्व र लेखन विषयमा चर्चा परिचर्चा गर्दै श्रध्दाञ्जली अर्पण गरेका थिए। सबैले साहित्यकार अर्जुन प्रधानको कृतिहरु र उनको समालोचना लेखन विषयमा चर्चा गरेका थिए। उक्त शोक सभामा कोषाध्यक्ष निरंकर थापा, पी लक्की शेर्पा, कृष्ण पाण्डे, बसुन्धरा शर्मा, बिजया ब्लोन आदि पनि उपस्थित थिए भनी गोर्खा जनपुस्तकालय खरसाङको मूल सचिव विनोद रसाईलीले जानकारी गराएका छन्।











