सोनादा: सोनादा, गोराबारीमा प्रथमचोटि टिडी संस्था अनि पर्यावरण संरक्षण समितिको संयुक्त तत्वावधानमा १० किलोमिटर दार्जीलिङ ईको ट्रेल रन आयोजन गरियो। महेन्द्र यङ एण्ड नलेज फाउण्डेशन अनि मरभिन किङ एकाडेमी फर सस्टेनेबल डेभलपमेन्ट इन एशियाको सहयोगमा आयोजित ट्रेल रनलाई महेन्द्र यङ एण्ड नलेजका संस्थापक तथा मुख्य अतिथि महेन्द्र चौहान अनि उनकी पत्नी अनिता चौहानको बाहुलीद्वारा फ्ल्याग अफ् गरेर आरम्भ गरिएको थियो।

फरेस्ट गार्डन नजिक आठमाइल, गोराबारीदेखि आरम्भ गरिएको ट्रेल रन राजाहट्टा बस्ती हुँदै चटकपुर फन्को मारेर पश्चिम पारमेन फरेष्ट चेकपोस्ट हुँदै राजाहट्टा देवी मन्दिर गेटमा समापन गरियो। समापन द्वारमा विशिष्ट अतिथि सिञ्चेल अभयारण्य सोनादा बिटका बिट अधिकारी रचना प्रधान लगायत कस्तुरी स्वनिर्भर समूह राजाहट्टाका प्रतिनिधिहरुको बाहुलीद्वारा धावकहरुलाई मेडल लगाइयो। उक्त ट्रेल रनका विजेताहरुमध्ये पुरुष प्रतिस्पर्धीमा कालेबुङका विकास भुजेल (५२ मिनट) अनि महिला प्रतिस्पर्धीमा गोरुबथानकी सबिना राई (१ घण्टा ५१ सेकेन्ड)ले प्रथम स्थान बनाउन सफल भए।

यसै गरी पुरुषमा बिनोद तामाङ दोस्रो, लाक्पा छिरिङ भोटिया तेस्रो, निमा रिञ्जी भोटिया चौथो अनि अनिकेत प्रधान पाँचौ स्थानमा आउन सफल भए। अर्कोतिर महिलामा बन्दना सुब्बा दोस्रो, सुजना सुब्बा तेस्रो, सुनिता सुब्बा चौथो अनि रेबिका प्रधान पाचौं स्थानमा आउन सफल भए। यसका अतिरिक्त प्रतियोगिताको सबैभन्दा वृद्ध धावकको रुपमा अशोक राई (७१ वर्ष) अनि सबैभन्दा साना धावकको रुपमा एञ्जल प्रधान (१२ वर्ष) थिए। ९१ जना धावकहरुले भाग लिएको ट्रेल रनमा दार्जिलिङ पहाड लगायत सिक्किमका प्रतिष्ठित धावकहरु जसमा विक्रम फाउण्डेशनका संस्थापक विक्रम राई, रन विथ रोशनीका संस्थापिका रोशनी राई, पेशागत पर्वतारोही सिक्किम राभाङलाकी धावक नेहा राई, अल्ट्रा क्वीन अफ् इण्डिया जस्ता अन्तर्राष्ट्रीय प्रतिस्पर्धामा भाग लिइसकेकी धावक सम्झाना राई लगायत भारती गुरुङ, प्रेम्युस भोटिया, सिद्धार्थ थापा अनि राखी ईराले पनि भाग लिएका थिए।

सिलगढीका स्वयंसेवी संस्था सेभ अर्थ फर लाइफ, दार्जीलिङको सन्त टेरिजा विद्यालयका विद्यार्थीहरूको समूह बिरुवा, युकेका दुइजना स्वयंसेवी अतिथि, केरलाका एकजना स्वयंसेवी लगायत राजाहट्टाका समाज, स्वनिर्भर समूह साथै व्यक्तिविशेषको सहयोगमा आयोजित दार्जीलिङ ईको ट्रेल रनको समापन कार्यक्रम राजाहट्टा खेल मैदानमा सम्पन्न गरियो। कार्यक्रमबीच मुख्य अतिथिको बाहुलीद्वारा बिजेताहरुलाई पारितोषिक वितरण गरियो। विविध सांस्कृतिक कार्यक्रमहरुका साथ गरिएको समापन कार्यक्रममा आयोजक समितिको पक्षबाट टिडी संस्थापक उत्सव प्रधानले धन्यवाद ज्ञापनसहित सहयोगीहरुलाई सम्मान जनाए।

कार्यक्रमलाई श्रद्धा छेत्री अनि प्रताप राईले सञ्चालन गरेका थिए।









