[छट पर्व विशेष] बौद्ध महापर्व छट

IMG-20231118-WA0170

कार्तिक शुक्लपक्ष षष्ठीमा मनाइने छट पर्वमा श्रमण परम्पराका धेरै लक्षण देखिन्छन्। श्रमद्वारा मोक्ष प्राप्तिको मार्ग मान्ने श्रमण परम्परा हो। व्यक्तिको जीवनमा ईश्वरको सट्टा श्रमको आवश्यकता मान्ने श्रमण परम्परा तथा सम्प्रदायका उल्लेख प्राचीन बौद्ध तथा जैन धर्मग्रन्थहरूमा पाइन्छ। अर्कोतिर वेद, उपनिषद् अनि स्मृतिहरू ब्राह्मण परम्पराका ग्रन्थ हुन्। भारतका कतिपय धर्म-दर्शन ब्राह्मण परम्पराबाट उत्पन्न भएका छन् भने कति श्रमण परम्पराबाट भएका छन्। भारतमा प्राचीन कालदेखि जैन, आजीविक, चार्वाक् र बौद्ध दर्शन श्रमण परम्पराका उपज मानिन्छन्।

संस्कृत एवम् प्राकृतमा श्रमण शब्दका तीन रूप छन् – श्रमण, समन र शमन। श्रमण शब्द श्रम धातुबाट बनिएको हुनाले परिश्रम गर्नुलाई श्रमण भनिन्छ। समन भनेको चाहिँ सबैसित समताभाव राख्नु वा आत्मवत् हुनु हो। शमन भनेको आफ्ना वृत्तिहरूलाई शान्त राख्नु वा चित्तवृत्तिलाई निरोध गर्नु हो। भारतीय इतिहासमा आदिकालदेखि श्रमण परम्पराका उन्नत, गरिमामय परम्पराका सङ्केत उपलब्ध छन्।    पुरोहितबिना पनि पूजा हुनसक्ने, आफ्नो उपकार आफै गर्नसक्ने, विवेक र बुद्धिलाई उपयोगमा ल्याउने अभ्यास श्रमणहरूले गरेका हुन्छन्। बौद्ध आदि कति सम्प्रदायले स्तूपमा पूजा वा ध्यान गर्ने गर्दछन्। ढुङ्गा, माटो, इँट आदिले बनेको थुप्रो वा ढिस्कोलाई स्तूप भनिन्छ। विशेष गरी बौद्धहरूले बुद्धका अवशिष्ट चिह्न राख्नका लागि बनाउने स्मारक स्तूप हो। छट पूजा गर्नेहरूले षष्टीको बिहान अमिताभलाई अर्घ्य दिँदछन्। अमिताभ भनेको सूर्य हो। अमिताभ बुद्ध भनेको ज्ञानप्रकाश हो। छट पर्व ज्ञान ज्योत्स्यनाको पूजा हो।

पुरोहित नलगी नदी तटमा परिवार-परिवार गएर आफ्नो पूजा आफै गर्ने श्रवण परम्पराको तत्त्व छट पूजामा पाइन्छ। आफ्नो दीपक आफै बन्नसक्ने सामर्थ्यको आग्रह बौद्ध मन्त्र ‘अप्प दीपो भव’-मा पाइन्छ। वर्तमान नेपालको तराई, वर्तमान उत्तरप्रदेशको पूर्वी भाग र वर्तमान बिहार भगवान् बुद्धको प्रारम्भिक ज्ञान प्रचारका क्षेत्र थिए। प्राचीन कालमा सम्राट् अशोकको राजधानी पाटलीपुत्र अहिलेको पटना हो। यसै ठाउँबाट मगध साम्राज्य संचालित भएको हो। बुद्धको समय इसापूर्व छैटौँ शताब्दी हो। येसु जन्मनुभन्दा २७४ वर्षअघि अशोक प्रियदर्शनी राजा बनेका थिए। त्यस बेलादेखि स्तूप राखेर सूर्यलाई अर्घ्य दिने परम्परा बसिआएको हो।         बिहारका कति ठाउँमा छट पूजामा बनाइएको वेदीलाई सिसोक्ता भन्ने गर्दछन्। संस्कृतमा बुद्धलाई श्रीपाद भनेजस्तै पालिमा सिरि भनिएको पाइन्छ। सोक्ता भनेको स्तूपको अपभ्रंश शब्द हो। बिहारका स्थानीय भाषामा सिसोक्ता भनेको बौद्ध स्तूप नै हो। अचेल बिहारका बौद्ध परम्परालाई धेरै ब्राह्मणीकरण गरिसकिएको देखिन्छ। छट पर्वलाई महाभारत र पुराणका कथाहरूसित जोड़ेर तथा छटी मैञाको परिकल्पना गरेर सौर्य सम्प्रदायसित जोड़ेको पनि देखिन्छ।

छट पूजाको मुख्य प्रसाद ठेकुआ हो। ठेकुआलाई खमौनी वा खबौनी वा ठोकनी पनि भनिन्छ। बिहार, झारखण्ड, पूर्वी उत्तरप्रदेश तथा नेपालको तराई क्षेत्रमा ठेकुआ लोकप्रिय मिष्ठान हो। गहुँको आँटा, चिनी वा गुँड र घिऊको प्रयोग गरिएको र तेलमा खारिएको मिठाईमा चित्र पनि बनाइएको हुन्छ। ठेकुआको एकपट्टि बोधिवृक्ष पिपलको पात अङ्कित गरिएको हुन्छ भने अर्कोपट्टि भारतीय संस्कृतिमा बहुतायत प्रयोग हुने धम्म चिह्न वा धर्मचक्र अङ्कित गरिएको पाइन्छ। बौद्ध पन्थमा धर्मचक्रको विशेष महत्त्व हुन्छ। बुद्धले सारनाथमा दिएको प्रथम धर्मोपदेशलाई धर्मचक्रप्रवर्तन भनिन्छ। बौद्ध मन्दिर, मूर्ति तथा शिलालेखहरूतिर शुभालङ्कारको रूपमा प्रयोग हुने धर्मचक्र ठेकुआमा हुन्छै-हुन्छ। अशोक चक्र त्यही हो। भारतको एउटा राज्य बिहार शब्द बौद्ध विहारबाट बनेको हो। आफ्नो जीवनकालमा बुद्धले जहाँ-जहाँ विचरण गरे त्यही ठाउँमा महापर्व छट मनाइन्छ। बिहारीहरूको आवगमनले देश-विदेशका धेरै ठाउँमा उनीहरूको महापर्व छट सँग-सँगै प्राचीन बौद्ध परम्परा पनि फैलँदोछ।। 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *