स्वादिष्ट सुन्तला खेतीमा सिविटार

IMG-20231116-WA0187.jpg

यसपाली केही दाम र केही फलनको साथमा सिविटारको सुन्तला

खरसाङ: पहाड़मा सुन्तला खेती गरिने मुख्य स्थानहरूमध्ये खरसाङ महकुमाको सिविटार क्षेत्र पनि मुख्य हो। खरसाङ क्षेत्रमा हुने सुन्तलाहरू विशेष गरेर सिविटार, सिटोङ, अम्बटे र अन्य क्षेत्रमा हुन्छन् भने यीमध्ये सिविटारको सुन्तला अधिक ठूलो साइज साथै अत्याधिक मिठो मानिन्छ। यसपाली सिविटारको सुन्तला केही ढिलो गरी फलेको भए पनि गत वर्षको तुलनामा निक्कै राम्रो फलेको देखिएको छ। यसपाली दशैं तिहारको समयमा पनि सुन्तला पाकेको थिएन भने कोही कोहीको बारीमा पाकेको सुन्तला बजारमा देखिएको थियो। सुन्तला खेती गरिने सिविटार चियाबारीको मुख्य गाउँहरूमा तेरेस गाउँ, गुम्बाडाँड़ा, १२ नम्बर, छेत्री गाउँ, गैरी गाउँ, शिवखोला, तितिरी गाउँ, कोठीडाँड़ा, ५ नम्बर आदि गाउँतिर गरिने गरिन्छ। तर यसपाली केवल तितिरी पाखा गाउँमा सुन्तला केही मात्रामा पाकेको छ भने अन्य गाउँहरूतिर भने अहिले पनि काँचो नै रहेको देखिएको छ। सिविटारको सुन्तलाहरू विस्तारै खरसाङ बजारमा देखिन थालेको छ। सिविटारदेखि मुख्य बजारको रूपमा खरसाङ र सिलगढी हो भने सिलगढी पैकारीहरूले लाने गर्छन् भने खरसाङमा भने कृषकहरू आफैले पनि लाने गरेको देखिएको छ। सिविटार चियाबारीको विभिन्न गाउँहरूमा पैकारीहरू आएर बगान नै मोलेर दाम तोकेर पहिलेबाटै रिजर्ब गर्ने गरेको छ भने यसपाली पनि धेरैले बगानहरू लिईसकेका छन्। प्राप्त जानकारी अनुसार यसपाली एकजनाको सुन्तला बगान २ लाख, ३ लाखमा किन्ने गरेको र कम्ती हुनेहरूको ३० हजार, ४० हजार, ५० हजार तिर किन्ने गरेको बताइएको छ। कतिले सुन्तला बगान बेचिसकेका छन् भने कतिले दाम नमिलेर आफै बजार लगेर बिक्री गर्ने बताएका छन्। यसको साथै यसपाली सिविटारमा सुन्तला पाकि सकेको छैन भने यसपाली दिसम्बरको पहिलो सातादेखि सुन्तलाहरू पूर्ण रूपमा पाकेर बिक्रीमा लगिने बताइएको छ। त्यसरी नै यसपाली सिविटारको सुन्तला फरवरी महिनासम्म रहने देखिएको छ। सुन्तला खेती र सुन्तलाको व्यापार विषयमा सिविटारको एकजना कृषक राजु राईले सिविटार चियाबारीको विभिन्न गाउँहरूमा सुन्तला खेती गरिन्छ। यसपाली तितिरी गाउँ पाखामा सुन्तला पाकेको छ तर अन्य गाउँतिर सुन्तला पाक्नु अझैं बाँकि रहेको बताएका छन्। उनले यसपाली आफ्नो बगानमा पैकारीहरूले आफुले भनेको जस्तो दाम नदिएपछि आफै खरसाङ बजार लगेर बिक्री गरिरहेको बताएका छन्। उनले यसपाली पहिलोपल्ट खरसाङ लगेर बिक्री गर्दा एक सय सुन्तलाको बाह्र सयसम्म दाम पाएको बताएका छन्। राजु राईले आफ्नो बगानमा नै सुन्तला बिक्री गर्नु परेमा एक सय सुन्तलाको एक हजारदेखि एघार हजारसम्मतिर दिने गरेको बताएका छन्। उनले बताए अनुसार यसपाली सुन्तला गत वर्षभन्दा अधिक मात्रामा फलेको पनि बताएका छन्।

त्यसरी नै सिविटारको अर्का एकजना सुन्तला कृषक उत्तम छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै यसपाली सुन्तलाको फलाई राम्रै रहेको बताउँदै आफ्नो सुन्तला बगानमा पैकारीहरू धेरै आए पनि आफुले भनेको जस्तो दाम नदिएको बताएका छन्। उनले सबै सुन्तला बगान नै मोलेर लानु हो भने २ लाख पचास रूपियाँ दाम तोकेको बताउँदै आफुले सुन्तला गाउँकै पैकारीहरूलाई दिने योजना बनाएको पनि बताएका छन्। छेत्रीले सिविटार क्षेत्रको विभिन्न गाउँहरूमा सुन्तला खेती गरिन्छ तर यसपाली फल झर्ने र रंग चढ्ने रोगले धेरै समस्या बनाएको छ अनि यो समस्या समाधानको लागि जीटीएको सम्बन्धित विभाग जस्तै कृषि विभाग र बागवानी विभागको पदाधिकारीहरूले सुन्तला बगानको निरीक्षण गरेर आवश्यक कदम चालिदिनो अनुरोध पनि गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *