कालचिनीः गत ११ नोभेम्बरको दिन जम्मु कश्मीरमा कर्तव्यरत अवस्थामा हिमस्खलनमा परेर सहिद बनेको डुवर्सको कालचिनी खण्ड अन्तर्गत पर्ने दलसिंहपाड़ा गोपालबहादुर बस्ती निवासी भारतीय सेना ७/८ गोर्खा राइफल्सका जवान नाइक रानु मंगरले वीरगति प्राप्त गरेपछि तिहारको मुखमा सहिद परिवार मात्र नभएर सम्पूर्ण दलसिंहपाड़ा गोपालबहादुर बस्तीमा नै शोकको लहर छाएको छ। पारिवारिक सुत्रबाट थाह लागे अनुसार, आउँदो दिसम्बर महीनामा भाईको विवाह हुने तय भएकोले सहिद रानु मंगर आउँदो १७ नोभेम्बरको दिन दलसिंहपाड़ा आफ्नो घर छुट्टीमा आउने कुरा थियो। तर विधिको विधान १७ नोभेम्बरको अघि नै तिनको हिमस्खलनमा परेर मृत्यु भएको घटनाले सहिद परिवारमा विषाद छाएको छ।

सहिद रानु मंगरको पार्थिव शरीरलाई मंगलबार बिहान हाँसीमारा वायुसेना हुँदै दलसिंहपाड़ा गोपालबहादुर बस्ती स्थित घरमा ल्याई पुऱ्याएको थियो। यसबीच हाँसीमारादेखि दलसिंहपाड़ासम्म मानिसहरूले सेना जवान सहिद नाइक रानु मंगरको सम्मानमा अमर रहोसको नारा लगाउँदै श्रद्धाञ्जली अर्पण गरेको थियो। पार्थिव शरीर घर ल्याई पुऱ्याउँदा सहिद रानु मंगरको घरमा विभिन्न सरकारी अधिकारी अनि राजनैतिक दलका नेता प्रतिनिधि एवम् संघ संस्थाका प्रतिनिधिहरूले श्रद्धा सुमन अर्पण गरेको थियो। यस क्रममा कालचिनी विधायक विशाल लामा, समाजसेवी गंगाप्रसाद शर्मा, बिरेन्द्र बारा उराँव, गणेश आले, पेमा लामा, शम्भू जयसवाल, असिम पाख्रिन, कालचिनी बीडीओ जयदीप चक्रवर्ती लगायत जयगाउँ थानाका पुलिस अधिकारीगण एवम् अन्यान्य समाजसेवीहरूले सहिदलाई श्रद्धाञ्जली अर्पण गरेको थियो। घरबाट सहिद रानु मंगरको पार्थिव शरीरलाई अन्तिम संस्कारको निम्ति तोर्षा नदीको घाटमा पुऱ्याएको थियो भने त्यहाँ सैनिक सम्मानको साथमा सहिद रानु मंगरलाई सलामी दिएपछि अन्तिम विदाई दिईएको थियो।

श्रद्धाञ्जली अर्पण गर्न आईपुगेका कालचिनी बीडीओ जयदीप चक्रवर्तीले सहिद परिवारको साथमा प्रशासन रहेको र कुनै पनि सहयोगको निम्ति ब्लक प्रशासन तयार रहेको जनाएका छन्। यसै क्रममा कालचिनी विधायक विशाल लामाले पनि यतिखेर तिहारको रमझम छ तर सहिद रानु मंगरको परिवारमा दुखको पहाड़ खसेको छ यसैले सहिद परिवार समक्ष आफू साथमा रहेको बताए। यसरी नै समाजसेवी गंगाप्रसाद शर्मा र बिरेन्द्र बारा उराँवले यो चाढ़बाढ़को समयमा यति दुखलाग्दो घटनाले सबैलाई मर्माहत बनाएको छ यद्यपि शोकाकुल परिवारको साथमा आफूहरू साथमा रहने जनाएका छन्।