गान्तोक: सिक्किममा अहिले देखिन थालेको एलपीजी सिलिन्डरको अभावलाई लिएर राज्य खाद्य एवं नागरिक आपूर्ति विभागले आफ्नो स्पष्टीकरण दिएको छ। विभाग अनुसार गत ४ अक्टोबरका दिन सिक्किममा ल्होनाक झील फुटेपछि आएको बाढ़ी (जीएलओएफ) का कारण यस्तो स्थिति उत्पन्न भएको हो।
खाद्य एवं नागरिक आपूर्ति विभागकी सचिव नम्रता थापाले आईपीआर विभागमार्फत जारी एउटा भिडियोमा उक्त जानकारी दिएकी छन्। उनले जीएलओएफले सिक्किमको जीवनरेखा मानिने राष्ट्रिय राजमार्ग १० ध्वस्त बनाएको छ र त्यस मार्ग भएर ठूला वाहनहरूको आवागमन अहिले निषेध गरिएको छ। यस कारण एलपीजी लिएर आउने ट्याङ्करहरू कालेबुङको बाटो भएर आइरहेका छन् र यसमा सामान्यभन्दा धेरै समय खर्च भइरहेको उनले स्पष्ट गरिन्।
पहिले प्रत्येक दिन लगभग चार हजार ग्यास सिलिन्डर सिक्किमा ल्याउने कार्य भइरहेको थियो भने अहिले आवागमनमा अधिक समय खर्च भइरहेकाले पहिलेको तुलनामा अभाव देखिएको उनले बताइन्। यद्यपि, अहिले आतालिनु पर्ने स्थिति भने नरहेको उनले स्पष्ट परिन्।
बागेखोलास्थित आईओसीको संयंत्रमा पहिले सुरक्षित भण्डार हुने गर्दथ्यो भने अहिले त्यसलाई पनि उपभोक्ताहरूको सुविधाका लागि प्रयोगमा ल्याइएको सचिव थापाले जानकारी दिइन्। उनले राष्ट्रिय राजमार्ग १० मा स्थिति सामान्य नभएसम्म एलपीजी सिलिन्डरको अलि कमी नै रहने बताइन्। उनले उपभोक्ताहरूलाई सदाझैं समर्थनको निम्ति अपील पनि गरिन्।