नयाँ दिल्लीः भारतीय मूलका क्रिकेटर रचिन रविन्द्रले आईसीसी क्रिकेट विश्वकप २०२३ मा उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। डेब्यु विश्वकप खेल्दै आएका न्यूजिल्याण्डका यी प्रतिभावान अलराउन्डरले आफ्नो शानदार ब्याटिङले दिग्गजहरुलाई आफ्नो प्रशंसक बनाएका छन्। किवी टोली विश्वकपको सेमिफाइनलमा लगभग पुगेको छ। यस विश्वकपमा अहिलेसम्म ३ शतक प्रहार गरेका रचिनले न्यूजिल्याण्डलाई सेमिफाइनलको दौडमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन्। उनी चालू विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन्। यस अवधिमा रचिनले टीम इन्डियाका स्टार ब्याट्सम्यान विराट कोहली र दक्षिण अफ्रिकाका विकेटकिपर क्विन्टन डी ककलाई पछाडि छोडे। रचिन बिस्तारै सचिन तेन्दुलकरको ‘महान रेकर्ड’ तोड्नेतर्फ अघि बढिरहेका छन्।
२३ वर्षीय बायाँ हाते ब्याट्सम्यान रचिन रविन्द्रले यो विश्वकपको ९ इनिङ्समा ३ शतक र २ अर्धशतकको मद्दतले सर्वाधिक ५६५ रन बनाएका छन्। यस अवधिमा रविन्द्रले क्विन्टन डी ककलाई पछाडि छोडे। डी ककले ८ इनिङ्समा ४ शतकको मद्दतले ५५० रन बनाएका छन् भने विराट कोहली ८ इनिङ्समा ५ सय ४३ रन बनाएर दोस्रोबाट तेस्रो स्थानमा झरेका छन्। अस्ट्रेलियाका विस्फोटक ओपनर डेभिड वार्नर ४४६ रन बनाएर चौथो स्थानमा छन् भने भारतीय कप्तान रोहित शर्मा ४४२ रन बनाएर पाँचौं स्थानमा छन्।
सचिनले विश्वकपको एउटै संस्करणमा ६७३ रन बनाएका छन्।
रचिन रविन्द्र अब दिग्गज क्रिकेटर सचिन तेन्दुलकरको ठूलो कीर्तिमान तोड्न खोजिरहेका छन्। विश्वकपको एउटै संस्करणमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान सचिनको नाममा छ । सन् २००३ को विश्वकपमा सचिनले ६७३ रन बनाएका थिए, जुन आज पनि अटुट छ। तेन्दुलकरले यो अवधिमा एक शतक र ६ अर्धशतक बनाएका थिए । यो सूचीमा अष्ट्रेलियाका पूर्व ओपनर म्याथ्यु हेडेन दोस्रो स्थानमा छन् । हेडनको नाममा ११ खेलमा ६५९ रन छन् भने रोहित शर्मा ६४८ रन बनाएर तेस्रो स्थानमा छन्। रोहितले २०१९ को विश्वकपमा ५ शतक बनाएका थिए।
को हुन रचिन रविन्द्र?
रचिन रविन्द्र भारतीय मूलका क्रिकेटर हुन्। उनका बुबा रवि कृष्णमूर्ति बेंगलुरुमा सफ्टवेयर इन्जिनियर थिए। रवि कृष्णमूर्ति ९० को दशकमा बेंगलुरुबाट न्यूजिल्याण्ड सरेका थिए। रचिनको जन्म सन् १९९९ मा न्यूजिल्याण्डको वेलिंगटनमा भएको थियो। रचिनका बुबा सचिन तेन्दुलकर र राहुल द्रविडका ठूलो फ्यान हुन्। उनले राहुल द्रविडको नामबाट आरए र सचिनको नामबाट सीएच जोडेर छोराको नाम बनाएका हुन्। रचिनका बुबाले पनि बैंगलोरमा क्लब क्रिकेट खेलेका छन्।