राजाभातखावाः अलिपुरद्वार रेलवे प्रशासनको अनुमतिमा डुवर्सको प्रसिद्ध बक्सा पर्यटकीय स्थलको प्रवेशद्वारमा रहेको राजाभातखावा रेलवे स्टेशन संलग्न परिसरमा रेलको एउटा डिब्बा अथवा कोचलाई नै रेस्टोरेन्टको रुप दिएर तयार पारिएको कोच रेस्टोरेन्ट फ्लेभर्स अफ डुवर्सको उद्घाटन बिहीबार अलिपुरद्वार डीआरएम अमरजीत गौतमको बाहुलीबाट गरियो।

यस अवसरमा राजाभातखावाका आदिवासी र नेपाली सांस्कृतिक परम्परा अनुसार अतिथिहरूलाई भव्य स्वागत जनाईएको थियो। प्रायः ६ महीना अघिदेखि तयार भइरहेको यस कोच डिब्बा रेस्टोरेन्टको अनुमति अलिपुरद्वार डीआरएमले दिएपछि बिहीबार उद्घाटन गरिएको र बक्सा पर्यटकीय स्थलको प्रवेशद्वारमा यो कोच रेस्टोरेन्ट पर्यटकहरूको निम्ति आकर्षणको एउटा केन्द्र बन्ने पनि रेस्टोरेन्टको सञ्चालक सम्राट घोषले जनाएका छन्।

उद्घाटन समारोहमा आएका अलिपुरद्वार डीआरएम अमरजीत गौतमले यो कोच रेस्टोरेन्ट अलिपुरद्वार जिल्लामा प्रथम भएको र अझै डुवर्सको लाटागढी, न्यू अलिपुरद्वार, न्यू कोचबिहारमा पनि हुने जनाएका छन्।