गान्तोक: पवन चामलिङले मात्र राईहरूको सुरक्षा गर्नसक्छन् भन्दै राज्यको विभिन्न क्षेत्रमा गएर राज्यका राईहरूलाई बोलाएर राई सुरक्षा समितिले गरिरहेको गोप्य बैठक गरेकोमा राई समुदायका सचेत व्यक्तिहरूले आपत्ति जनाएका छन्। जातिय विषयबारे बैठक भन्दै थुम थुमका राईहरूलाई बोलाएर केवल राजनीतिको कुरा गरेकोमा प्रतिवाद जनाउँदै आज विष्णु चामलिङ, रत्न राई, विमल राई, शुष्मा राई अनि दिपेन्द्र राईले आज राजधानीस्थित जर्नलिस्ट यूनियन अफ् सिक्किमको कार्यालयमा पत्रकार सम्मेलन गरेर राई सुरक्षा समितिले राई समुदायलाई राजनीतिक प्रेरित बनेर उनीहरूलाई दीग्भ्रमित तुल्याएको आरोप लगाउँदै उक्त गतिविधिको खण्डन गरे। पत्रकारहरूलाई सम्बोधन गर्दै विष्णु चामलिङले राई सुरक्षा समितिको रिमोट घुर्पीसेमा रहेको दावी गरेका छन्। योसँगै राई सुरक्षा समितिले राज्यका राई समुदायलाई बोलाएर गोप्य बैठक गरिरहेको अनि उक्त बैठकमा उपस्थित हुनेहरूको फोन समेत बैठक कोठा बाहिर नै राख्ने गरेको अनि त्यो भित्र पसेपछि राईहरू सुरक्षित छैनन् अनि वर्ष २०२४ मा केवल पवन चामलिङलाई जिताएर सरकारमा ल्याए मात्र राईहरूको सुरक्षा हुने हुन्छ भन्ने गरेको खुलासा गरेका छन्। गोप्य कोठाभित्र गरेको सभामा राई सुरक्षित छैन भन्नुले के इंगीत गर्छ भन्दै उनले प्रश्न तेर्साए। वर्तमान सरकारबाट वा सिक्किमका अन्य समुदायबाट को बाट राई समुदाय सुरक्षित छैन् भन्दै उनले प्रश्न गरे। यसका साथै राई समुदायलाई सिक्किमे अन्य समुदायमाझ पनि विभाजन गर्न खोजिरहेको उनले दावी गरेका छन्। राईहरू सुरक्षित छैनन् भन्ने उनीहरूको वयानले अन्य समुदायसँग राई जातिलाई हिनताबोध गराउन खोजिएको पनि उनले विचार व्यक्त गरेका छन्। 25 वर्षसम्म राई समुदायको एक व्यक्तिले राज्यमा शाषण गरेर सत्ताबाट झर्नसाथै राईहरू सुरक्षित छैनन् भनेर भन्नु सरासर राजनीतिक प्रेरित रहेको उनको भनाइ रहेको छ। यदि पवन चामलिङलाई वर्ष २०२४ मा जिताएर सत्तामा नल्याए वर्ष वर्ष २०२६ मा हुने डिलिमिटेसनमा राईहरू पञ्चायत चुनाउमा पनि उठ्न नसक्ने स्थिति सिर्जना हुन्छ भन्ने राई सुरक्षा समितिको बयानले केवल राईहरूलाई दिग्भ्रमित पार्न खोजेको पनि उनले बताए। जुनै पनि राजनीतिक दलसँग आबद्ध रहेर राजनीति गर्नु राईहरूको मौलिक अधिकार रहेको अनि यो हनन हुन हुन नदिन राई समुदायको आ-आफ्नो दायित्व रहेको उनले बताए। यदि साँच्चै नै राईहरू सुरक्षित छैन भनेर राई सुरक्षा समितिले भन्छ भने त्यो गोप्य बैठकमा नभनेर खुल्ला रुपमा बाहिर सबैको अघि के-कस्ता कारणले सुरक्षित छैनन् भन्नेबारे खुलासा गर्नुपर्ने उनले चुनौती दिएका छन्।