खरसाङ: खरसाङ खण्ड पञ्चायत समितिका सदस्यहरुका लागि आयोजित पाँचदिने इन्डक्सन तालिम कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ। यो तालिम १० नोभेम्बर २०२३ सम्म निरन्तर हरेक दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म चल्ने भएको छ। खरसाङ खण्ड क्षेत्रका नवनिर्वाचित पञ्चायती राज प्रतिष्ठानका प्रतिनिधिहरूलाई समावेशीकरण तालिम दिने कार्य गरिनेछ। खरसाङको फाटक डाँडास्थित समाज कल्याण समाजको भवनमा आयोजित कार्यक्रमको औपचारिक उद्घाटन खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीले गरेका थिए। यस अवसरमा खरसाङ खण्ड विकास कार्यालयका संयुक्त बीडीओ पेमा डोमा डुक्पा, खरसाङ खण्ड पञ्चायत समितिका अध्यक्षा अनु क्षेत्री प्रधान, पञ्चायत विकास अधिकारी मिलन प्रधान आदिको विशेष उपस्थिति रहेको थियो।

पाँचदिने इन्डक्सन तालिम आयोजनाको मुख्य उद्देश्य र औचित्यबारे जानकारी दिँदै पञ्चायत विकास अधिकृत मिलन प्रधानले यस कार्यक्रममा पञ्चायत समिति भनेको के हो? यसको कार्य के हो? अध्यक्षको अधिकार के हो? पञ्चायत समितिले सर्वसाधारणलाई के कस्ता सुविधा उपलब्ध गराएको छ? पञ्चायत समिति कुन-कुन विभागहरूमा संलग्न छ र विभागीय कार्य विधिहरू के के छन्? लगायतका विभिन्न विषयमा सचेत गराउने कार्य गरिनेछ। पञ्चायत समिति सदस्यको हैसियतमा आफ्नो काम गर्न र आफ्नो भूमिका निर्वाह गर्न कुनै पनि प्रकारको असुविधा नहोस्, उनीहरूले बिना डर आफ्नो काम सजिलै गर्न सक्नेछन्। पञ्चायत र ग्रामीण विकास विभाग, पश्चिम बंगाल सरकार र राज्यका मुख्यमन्त्री ममता बनर्जीको प्रेरणाबाट यो कार्यक्रम आयोजना गरिएको बताइएको छ।