कालचिनीः तिहारको बेला मानिसहरूले बम पटेकाहरू पड़काएर रमाउने गरेकोले बजारमा अवैद्य पटेकाहरूको बिक्री हुने गरेको र चाइनीज पटेकाहरूको बिक्रीले वातावरणलाई क्षति पुग्ने गरेकोले सर्वोच्चले दिएको निर्देश अनुसार हाल बजारमा केवल ग्रीन पटेकाहरूलाई बेच्ने अनुमति दिएको छ। सोमबार यसै क्रममा कालचिनी खण्डको भारत भोटाङ सीमान्त सहर जयगाउँ स्थित गोपीमोहन मैदानमा ग्रीन फायर क्र्याकर्स पसलको उद्घाटन गरियो।
सो अवसरमा जिल्ला परिषद सदस्य गंगाप्रसाद शर्मा लगायत कालचिनी पञ्चायत समितिको सदस्य रोशन उराँव, जयगाउँ थाना प्रभारी टीएन लामा एवम् अन्यान्य विशिष्ट समाजसेवीहरूको उपस्थिति रहेको थियो। विशेषगरी तिहारको समय बम र पटेकाबाजीले धेरै दुर्घटना हुने गरेको र अवैद्य पटेकाबाजीले वातावरण दुषित साथै ध्वनि प्रदुषण फैलिने गरेकोले सरकारले केवल ग्रीन पटेका बिक्री गर्ने अनुमति दिएको र यसको लाइसेन्स पाएको दोकानेहरूको आज पसल उद्घाटन साथै जनसाधारणलाई ग्रीन फायर क्र्याकर्स प्रयोग गर्ने आह्वान गरिएको टीएन लामाले जनाएका छन्। यता ग्रीन पटेकाको पसल लगाएका पसलेहरूले बिक्री विस्तारै बढ़ने आशा राखिएको र सचेत मानिसहरू आफै ग्रीन पटेका किन्न पसलमा आउने भरोसा रहेको जनाएका छन्।