यस दशकको अन्तसम्ममा भारत विश्वको तेस्रो विशाल अर्थव्यवस्था हुनेछ: उपराष्ट्रपति धनखड़

1600x1600_220224-untitled-design-5.jpg

नयाँ दिल्ली: उपराष्ट्रपति जगदीप धनखड़ले सोमवार भने, वैश्विक अर्थव्यवस्थामा भारत एक चम्किलो तारा हो। उनले विश्वास व्यक्त गरे, यस दशकको अन्तसम्ममा भारत विश्वको तेस्रो सबैभन्दा विशाल अर्थव्यवस्था हुनेछ।

उपराष्ट्रपतिले आज संसद भवन हेर्न आएका सैनिक स्कूल, झुञ्झुनुँ (राजस्थान)- का विद्यार्थीहरूसित संसदीय भाषामा सम्वाद गरे। उल्लेख्य, गत २७ अगस्तमा उपराष्ट्रपति राजस्थानको भ्रमणमा गएका थिए जहाँ उनले सैनिक स्कूल झुञ्जूनुँका विद्यार्थीहरूलाई सम्बोधन गरेका थिए। यस अवसरमा धनखड़ले विद्यार्थीहरूलाई संसदको नयाँ भवनको भ्रमण गर्न आउने निम्तो दिएका थिए।

उपराष्ट्रपतिको सो पहल अन्तर्गत सैनिक स्कूल, झुञ्झुनूँका २० जना विद्यार्थीहरूको एउटा टोली तीन दिवसीय दिल्ली यात्रामा आएका छन्। हिजो दिल्ली आइपुगेपछि यी विद्यार्थीहरूले प्रधानमन्त्री सङ्ग्रहालयको भ्रमण गरे भने आज संसदका नयाँ-पुरानो दुवै भवनको भ्रमण गराइयो। ७ नोभेम्बरमा यी विद्यार्थीहरूले इण्डिया गेट, राष्ट्रिय समर स्मारक (वार मेमोरियल), महात्मा गान्धीको समाधि राजघाट औ राष्ट्रपति भवनको भ्रमण गर्नेछन्।

उपराष्ट्रपतिसितको भेटमा विद्यार्थीहरूले आफ्नो अनुभव साझा गरे। उपराष्ट्रपतिले उनीहरूसित भने, आज भारत जुन गतिमा अघि बढ़िरहेको छ यस्तो पहिला कहिल्यै भएको थिएन। एक समयमा भारतलाई विश्वका सबैभन्दा पाँच कमजोर अर्थव्यवस्थामा गनिन्थ्यो भने आज दुनियाँको सबैभन्दा सुदृढ़ अर्थव्यवस्था भएको छ। उनले यो पनि भने, यस विकास यात्रा अवधि हामीले ठूल्ठूला अर्थव्यवस्थाहरूलाई पनि पछि पारेका छौं भने अब हामी जर्मनी र जापानलाई पनि पछि पार्नेछौं।

अन्तरिक्षमा भारतको बढ़्दो कदमहरूको सराहना गर्दै उनले भने, हामीले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान तीनलाई ल्याण्ड गराएर यो सिद्ध गऱ्यौं कि भारतले अब एउटा नयाँ इतिहास लेखिरहेको छ। आज जमीनदेखि लिएर अन्तरिक्षसम्म भारतको डङ्का चारैतिर बजिरहेको छ। उनले भने, हामीले भारत अनि भारतीयमाथि गर्व गर्नुपर्छ। हामीले ऐतिहासिक उपलब्धिहरूको उत्सव मनाउनुपर्छ। भारतको विकास यात्रामा हामीले यथासम्भव योगदान दिएर भारतलाई विश्वगुरू बनाउने दिशामा प्रयास गर्नुपर्छ।

उपराष्ट्रपतिले विद्यार्थीहरूलाई उत्साहित गर्दै भने, कहिल्यै पनि तनाउमा नबस्नु। पढ़ाई अवधि कुनै पनि प्रकारको चिन्ता वा दबावमा बस्नुहुँदैन। सहज बस्नुपर्छ। सफल हुने अपेक्षा सदैव राख्नुपर्छ। एक श्रेष्ठ नागरिक हुने प्रयास गर्नुपर्छ। अनुशासनमा बसौं, किनभने अनुशासन सफलताको कुञ्जी हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement