नाम्ची: नाम्चीमा आज दोस्रो राज्यस्तरीय अन्तर स्कूल पुरूष र महिला वर्ग भलिबल प्रतियोगिताको तेस्रो दिनका खेलहरू सम्पन्न भयो। सिक्किम भलिबल एसोसिएशनले यस प्रतियोगिताको आयोजना सिक्किम खेल एवं युवा मामिला विभागको सहयोगमा गरेको हो। यस प्रतियोगिताको फाइनल खेल आगामी ७ नोभेम्बर सम्पन्न हुनेछ।
उल्लेखनीय छ, यस प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य युवा वर्गलाई खेलप्रति आकर्षित गराएर नकारात्मक कुराहरूबाट टाडा राख्न रहेको बताइएको छ। आजको कार्यक्रममा भवन एवं आवास विभागका अध्यक्ष टाँसी दोर्जे तामाङ मुख्य अतिथि रहेका थिए भने नाम्ची नगर परिषदका उपाध्यक्ष सावित्री तामाङ विशिष्ट अतिथिको रूपमा उपस्थित रहेकी थिइन्।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा महिला वर्गको नक-आउट प्रतियोगिताको खेलमा डनबस्को स्कूल मलबाँसेलाई पराजित गरेर मञ्जुश्री पब्लिक स्कूल विजयी बन्यो। पुरूषवर्गको प्रथम खेलमा सामदोङ एसएसएसले मञ्जुश्री पब्लिक स्कूललाई पराजित गऱ्यो। दोस्रो खेलमा नन्दुगाउँ एसएसएसलाई पराजित गरेर डनबस्को स्कूल मलबाँसे विजयी बन्यो।