गोरुबथान फ्युचर भिजनद्वारा डस्टबिन लगाउने अनि सफाई अभियान

IMG-20231105-WA0174.jpg

गोरुबथान: गोरुबथान फ्युचर भिजनको आयोजनमा आइतबार गोरुबथानमा डस्टबिन लगाउने अनि सफाई अभियान सम्पन्न भयो। बिहान ठीक सात बजेदेखि सोमबारे बजारस्थित सेन्ट्रल ब्यांक छेउबाट शुरु भएको कार्यक्रम धर्मशाला, एसबीआई ब्यांक हुँदै पानडाँडामा साढे नौ बजेतिर समापन भयो। यस अवसरमा सोमबारे बजार, धर्मशाला, एसबीआई ब्यांक अनि पानडाँडामा कार्यकारी सभासद् रतन थापा, पंचायत समिति चेयरमेन सूर्यमणि राई, गोरुबथान एक पंचायत प्रधान निमा तामाङ आदिको हातबाट एक एकवटा डस्टबिन लगाउने काम गरियो।
सफाई अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी सभासद् रतन थापाले गोरुबथान फ्युचर भिजनको कार्यको सराहना गर्दै स्वच्छ, सुन्दर गोरुबथान निर्माण गर्ने दायित्व प्रत्येक गोरुबथानबासीको रहेको बताए। यसको निम्ति सबै अघि आउनुपर्ने तिनले आह्वान पनि गरे। गोरुबथान सफा, सुन्दर, स्वच्छ भए यसको लाभ हरेक। गोरुबथानबासीलाई हुने विचार पनि तिनले राखे। त्यसरी नै गोरुबथान खण्ड पंचायत समिति चेयरमेन सूर्यमणि राई, प्रधान निमा तामाङले पनि स्थानीय मानिसहरूलाई यस मिसनमा जोडिनुपर्ने आह्वान गरे। आफ्नो गाउँ घर सफा छ भने परिवेश स्वच्छ हुने बताउँदै यसले मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए। तसर्थ, हरेक तप्काका मानिसहरू यस विषयमा जागरुक भएर आ-आफ्नो जिम्मेवारी बुझेर अघि आउनुपर्ने बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै गोरूबथान फ्युचर भिजनका सभापति पुरण राईले स्वच्छ, सुन्दर, स्वास्थ्य गोरुबथान बनाउन सम्पूर्ण गोरुबथानेको दायित्व रहेको बताए। यसको निम्ति गोरूबथानलाई माया गर्नु हुने सबैलाई स्वच्छ, सुन्दर गोरुबथान निर्माणमा मनबाटै जोडिनुपर्ने बताए।

गोरुबथान फ्युचर भिजनको आयोजनमा सम्पन्न सफाई अभियानमा पंचायत समिति कर्माध्यक्ष शिशिर प्रधान, पंचायत सदस्यहरू क्रमैले मेरी डोमिनिका लेप्चा, युवराज शर्मा, नेउरा रेञ्ज विभागीय अधिकारी, कर्मचारी, शिक्षक बसन्त गुरुङ, ग्राम पंचायत अधिकारी गोपाल छेत्री, ग्राम बिकाश कल्याण समाज आहाले एक, मिलन सेवा समाज मालबस्ती, स्वच्छ समाज, स्वच्छ वातावरण मालबस्तीलगायत सोमबारे बजार, धर्मशाला, पानडाँडाका साधारण मानिसहरूको सहभागिता रहेको थियो। आजको सफाई अभियानमा सहभागिता जनाएर सहयोग पुराउने सम्पूर्णप्रति आयोजक पक्षबाट सभापति पुरण राईले आभार प्रकट गरे। स्मरण रहोस्, आज राखिएको डस्टबिनको दातामा जानुकी मेडिकल सोमबारे बजार अनि थुलुङ होमस्टे आहाले रहेका छन् भने रहल डस्टबिन आयोजक पक्षबाट राखिएको थियो। त्यसरी नै मेनुका राई मालबस्तीले कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध गराएकी थिईन।

About Author

Advertisement