कहिले काहीं
मन्द हावामा सुस्तरी हल्लिने
रूखका हॉंगाहरू जस्तै हुन्छ
विचार|
भित्र कतै लुकेर बसेको
कविताको एउटा अज्ञात साधक
जब मैले मात्र सुन्ने गरी
राड़गड़ाउन थाल्छ
विचारको त्यो हॉंगाहरू पनि
आँधीमा यत्र तत्र हलिँदै
एकार्कामा जुझ्न थाल्छ|
त्यस पछि विचार-
पृथ्वीले हराउँदै गएको
त्यो लय र सुगन्ध सम्झेर
मान्छेको स्वार्थसित रिसाउँछ|
विचार
घरि यो पुस्ताले वेवास्ता गरिरहने
खेतको हरियो सपना हराएर
मुरमुरिन्छ|
विचार
घरि यो राजनीतिले युगौंदेखि
मसला बनाएर राखेको
किसान र मजदुरहरूको दुर्गति
देखेर रिसाउँछ|
घरि समाचार पत्रहरूबाट उत्रेर
कहिले गाउँमा नआएको त्यो
विकासको स्वीकृत बजेट देखेर
निःशब्द फत्फताउँछ|
जब फूलले दिएको सुन्दरताको सॉंचो
दर्शनलाई
आँखाहरूले तैरिएर हेर्छ
तब कविता भरी-भरी कामुकताको
जलप लगाएर
हिडिदिउँ लाग्छ विचारलाई|
कहिले कविता भरी-भरी बारूद भरेर
डङ्-डङ् पड़किँदै हिड़िदिउँ
लाग्छ|
तर कविता
कतै कूवामा,दिक्क लाग्ने गरी कराउने
भ्यागुताको स्वर जस्तै त
हुने होइन!
विचार सचेत हुन्छ|
विचार कहिले अचेत हुन्छ
कहिले चञ्चल हुन्छ|
र कहिले उपद्रो पनि हुन्छ|
एउटा अनौठो शैली र संस्कार
झुण्डिएको
नाइटोको मुन्द्रीमा गएर आक्रोशित हुन्छ
विचार
र काव्यको कुनै रसिलो बिम्ब
भेट्नै नपाई सेलाउँछ|
विचारले कविताको हातबाट
हरेकको आँखा र मनलाई काउकुती लाउँदै
त्यहॉंसम्म पुर्याउन खोज्छ-
जहॉं नाङ्गो कुरा छोपिएको छ|
जहॉं हरेक मानिसले
आत्माहत्याको सामुहिक र नयॉं प्रक्रिया
अप्नाईरहेको छ|
किन टारीरहयो मान्छेले
कतै निस्सासिएको
एउटा महत्त्वपूर्ण कुरा?
आफूदेखि आफै लुकी-लुकी
किन गाइरह्यो जीवन?
विचारले हरेक रहस्यको पर्दा उघार्छ
र हेर्छ
मान्छेले लाजै पचाएर गर्ने कामको त्यो
आकर्षणीय दृश्य!
थुक्क!
केही जान्नु भन्दा त यहॉं नजान्नु नै राम्रो|
केही पाउनु भन्दा त नपाउनु राम्रो|
केही खोज्नु भन्दा त नखोज्नु राम्रो|
त्यसर्थ-
कविता पनि लेख्नु भन्दा त
नलेख्नु राम्रो!!