बालकबालिकालाई परिवार, समाज र सामाजिक अन्तर्क्रियाको महत्त्व र भूमिकाबारे केही थाहा छैन

a-1-150x150-1

     

साहित्य, समाज, समय र मान्छे बुझेपछि मात्रै हो जीवनको जटिलता बुझ्ने| त्यस जटिलतामा अभाव, अपुग, गरीबी, प्रविधिको प्रभाव, सत्ताबाट हुने शोषण, दमन, वातावरण र पर्यावरणका साथै अहिलेको समयले उठाएका जातीय, भौगोलिक, चिन्हारी र प्राप्तिका धेरै प्रश्न क्रमशः देखा पर्छन| मुद्दाका लागि मुद्दा र घटनाका लागि घटनाको सपाट वर्णनले मात्र कसरी साहित्य हुन सक्छ ? नेपाली भाषामा लेख्दैमा साहित्य नेपाली हुँदैन| संसारभरि छरिएर बसोवासो गर्ने सबै नेपालीका समवेदनाको अन्तरमा गर्दा ती सबैसँग आ-आफ्नो चिन्हारीको सुगन्ध छ| नेपालीपनको सुगन्धमा रमाउने स्रष्टा हुन डा. कविता लामा| हामीले सुगन्ध बिर्सिएको दिन कुनै पनि अत्तरले हाम्रो शरीर मगमगाउँदैन| स्रष्टा र लेखन भनेको अक्षरतत्त्व हुन्| कुन अक्षर राम्रो भनुँ कुन नराम्रो? यस्ता कुरालाई सोझै भन्न सक्ने, राख्न सक्ने समालोचक डा. कविता लामा नै हुन्| पढ़ेर विचार प्रवाहलाई सशक्त बनाउने, चेतना परिष्कार गर्ने र अन्तर उज्यालो खोज्ने हो भने समालोचक डा. कविता लामाको समालोचना पढ़्नु पर्छ| उहॉंको समालोचनाले प्रेम दिन्छ, परिष्कार दिन्छ अनि हिँड़्न चाहनेको लागि बाटो दिन्छ| हिँड़्ने बाटो बनाए जस्तो आफ्नै दवलको साथी नभेटे जस्तो अनि मुस्कुराउने घाम नदेखे जस्तै हुन्छ| समालोचक कविता लामा संसारभरिका नेपाली भाषा भाषीका लेखनका घाम हुन्| घामको किरण ती अनकण्टार कन्दरा र चिसेनी पाखाहरूमा पुगेर अन्नबाली लहलह सप्रिए झैँ लटरम्म विचारको प्रभाव सप्रिएको हुनुपर्ने हेक्का राख्ने गर्छिन्| जुनै विधा समाएर लेखे पनि जीवनलाई बुझेको अनि आफ्नो भाषाका स्रष्टालाई सम्पूर्णतामा बुझेको हुनुपर्छ| आदिकवि भानुभक्त, महाकवि देवकोटा, सम, लेखनाथ, माधव घिमिरे एउटा पक्ष हो भने भूपि शेरचन, वैरागी काइँला, गोपालप्रसाद रिमाल, तुलसी दिवसहरू काव्यधाराका अर्का पक्ष हुन्| पारिजात, इन्द्रबहादुर राई, अगमसिंह गिरी, शङ्कर लामिछाने, बीपी कोइराला, रूपनारायण सिंह, हरिभक्त कटुवाल, वीरेन्द्र सुब्बा, ओकियामा ग्वाइन, कृष्णसिंह मोक्तान, विन्द्या सुब्बा, शिवकुमार राई, डा. कुमार प्रधान, राजनारायण प्रधानको आफ्नै मौलिकता र मिठास छन्| म जस्तो साधारण पाठकलाई एउटा पुस्तकभन्दा पनि कुनै पनि स्रष्टाको लेखकीय समग्रतामा हेर्न मन पर्छ| ध्रुवचन्द्र गौतम, नयनराज पाण्डे, सरुभक्त, विजय मल्ल, गोठाले तथा समालोचकको उपल्लो पहिचान भएर पनि मौलिक लेखनका लागि अब्बल रामकृष्ण शर्मा, गुमानसिंह चामलिङ, डा. कविता लामा, अर्जुन प्रधान, गोविन्दराज भट्टराई, अभि सुवेदीका पुस्तकहरू खोजी खोजी नयाँ पुस्ताले पढ़्नु पर्छ| धेरै लामो समयको व्यस्ततालाई पर पन्साएर यसपल्ट मनका कुरा डा. कविता लामासित गरेका छौँ| उनी सिक्किम केन्द्रीय विश्वमविद्यालयका नेपाली विभागका प्रमुख साथै समालोचक पनि हुन्| मनका कुरामा विभिन्न विषयमा खुल्ला रूपमा चर्चा गरेका छौँ| सोधिएका दशवटा प्रश्नवले निश्चयय साहित्यमा रुचि राख्नेहरूका लागि मिठो, पिरो, अमिलो, टर्रोको स्वाद पाउनु हुने आशा राखेका छौँ|

 प्र. भारतेली नेपाली प्रौढ़ साहित्य र बाल साहित्यको भविष्य कस्तो देख्नुहुन्छ?

उत्तरः भविष्यवाणी गर्न त मिल्दैन| प्रौढ़ र बाल साहित्यको लेखन परम्परा बेग्लाबेग्लै परिस्थितिमा बेग्लाबेग्लै कालखण्ड भएर आरम्भ भएको हो| सोही अनुरूप यसको विकास भइरहेको छ| प्रौढ़ साहित्यको विकास द्रुत गतिले भइरहेछ भने बाल साहित्यको विकास सुस्त छ| तर टाक्सिएको छैन| अनुमानित भविष्य राम्रो र उज्यालो छ भन्ने अपेक्षा राख्दछु|

प्र. भारतेली बाल साहित्य फस्टाउन नसक्नुका पछाड़ि के कस्ता कारण रहेको ठान्नुहुन्छ? बाल साहित्य मौलाउन के के गर्नुपर्छ भनेर तपाईँलाई लागेको छ?

उत्तरः­­­ शिबुज्यू, यसका धेरैवटा कारणहरू छन्| तीमध्ये एउटा मूल कारण हो बाल पाठकको कमी| तपाईँ स्वयम् एकजना बाल साहित्यकार हुनुहुन्छ, बाल साहित्य यदि फस्टाउन सकिरहेको छैन भन्ने लाग्छ भने त्यसको उत्तर तपाईँलाई पनि थाहा हुनुपर्ने| बाल पाठक अतिरिक्त आजसम्म लिखित र प्रकाशित बाल कृतिहरूको बजार व्यवस्थापन पनि सही र गम्भीरतापूर्वक भइरहेको छैन जस्तो लाग्छ| बाल साहित्यका पुस्तकहरू बाल पाठकहरूका निम्ति बजारमा आइसकेका छन् भन्ने मुख्य कुरा हामी ठूलाहरूलाई मात्र थाहा भएर के गर्नु? बालक बालिकालाई यी सबै थाहै हुँदैन| यो एउटा तितो सत्य हो| आफ्ना कृतिहरू बाल पाठकसम्म पुऱ्याउने जे जति प्रयास र पहल गरिएको देखिँदैछन्, ती केही सचेत बाल साहित्यकारले आफ्नो व्यक्तिगत स्तरबाट गरिरहेका छन्| तर बाल साहित्य फस्टाउनमा यो पर्याप्त होइन| गत २८ मार्चदेखि १ अप्रेलसम्म सुकनामा २६औँ वार्षिक दार्जीलिङ जिल्ला पुस्तक मेलाको आयोजना गरिएको थियो| त्यहाँ लगाइएका पुस्तक पसलमा पनि हाम्रा बाल सर्जकहरूका बाल पुस्तकहरू कम भन्दा कम बिक्रीमा राखिएका थिए| बालक बालिकाहरू आमा बाबासित पुस्तक मेला घुम्न आएनन् अनि आएका केही विद्यार्थीहरूले पुस्तक किन्दै गरेको पनि कतै देखिएन| मबाट त्यो कुरा छुट्टिन पनि सक्छ| तर जुन कुरा देखिनँ त्यसलाई कसरी देखे भन्नु? बाल पुस्तकको क्रय विक्रय निराशाजनक देखेँ| यस अवस्थामा बाल सर्जकहरूले कति चाहिँ प्रयास गरून्, अब तपाईँ नै भन्नुहोस्| बाल समाजमा बाल साहित्यको प्रचार प्रसार गर्नलाई हामीसित धेरै परियोजनाहरू हुनुपर्छ| बालक बालिकालाई साथ लिएर साहित्य लेखन कार्यशालादेखि पुस्तक पठन कार्यशाला, बाल लेखकसँगको भेट र अन्तर्क्रियात्मक कार्यक्रम, बाल साहित्यमाथि सङ्गोष्ठी, बाल पुस्तक मेला आदिको आयोजना गरिन अनिवार्य छ| यस्ता कार्यक्रमले बालक बालिका र बाल लेखकमाझ सहज परिवेश निर्माण गर्नाका साथै उनीहरू एकाअर्कामा नजिक हुनमा पनि सहयोग पुग्दछ| बालक बालिकाको मनोविज्ञान बुझ्न बालक बालिकासित खुलेर कुराकानी गर्न सके त्यसले निश्चवय केही त फाइदा पुऱ्याउँछ| उनीहरूको रुचि, जिज्ञासा, बौद्धिक स्तर आदिलाई साहित्यमा सम्बोधन गर्न यस्ता कार्यशालाको आयोजना गर्न सके बाल साहित्य मौलाएर जानेछ|

प्र. तपाईँ एकजना बाल सर्जक, प्रौढ़ सर्जक, समालोचक साथै शिक्षाविद्लाई समय अनुरूपको सिर्जना हुन नसक्दा नै हाम्रा बालक बालिकाहरू कार्टुन जगतको शरण लिन पुगेका हुन् जस्तो लाग्छ कि! तपाईँलाई के लाग्छ?

उत्तरः अचेलका बालक बालिकाहरू प्राविधिक रूपले बुद्धिमानी छन्| मोबाइल उनीहरूको जीवनको महत्त्वपूर्ण अङ्ग भएको देखिन्छ| साथी भाइ, घर परिवार कोही पनि चाहिँदैन उनीहरूलाई मोबाइल भए पुग्छ| मोबाइलले सारा संसार घुमाउँछ उनीहरूलाई| कोठाभित्र थुनिएर मोबाइलमा गेम खेल्ने, कार्टुन हेर्ने र मनोरञ्जन लिने नानीहरूले किताब हातमा लिएर कहिले पढ्छन् होला, मलाई चिन्ता यस कुरामा छ| किताब पढ़े पो किताबका विषय समय अनुरूप छन् वा छैनन् त्यसबारे छलफल गर्न मिल्छ तर स्कूलमा पढ़ाइने किताबबाहेक साहित्यका अन्य किताब पढ्ने अभ्यास गर्दैनन् अचेलका नानीहरू,किताब पढ्ने रुचि नै कहाँ छ र ? साना बालक बालिकाको यस्तो जीवन शैली देखेर म धेरै चिन्तित छु| एकान्तमय वातावरणमा बस्न रुचाउने बालकबालिकालाई परिवार, समाज र सामाजिक अन्तर्क्रियाको महत्त्व र भूमिकाबारे केही थाहा छैन, न त थाहा गर्न चाहन्छन्| अब हाम्रा बाल सर्जकहरूले यस अवस्थामा कस्ता बाल कृतिहरू लेखिदिए उनीहरूले पढ्ने छन् होला? यो कुरा मैले यहाँ नानीहरूको मनोविज्ञान नबुझी भन्न मिल्दैन| मसिनप्रद जीवनसित अभ्यस्त बनेका बालक बालिकामा संवेदना मरिरहेको देख्छु म| उनीहरू साना साना कुरामा आक्रोशित बन्छन्, झिजो मान्छन्, धैर्य पटक्कै छैन| अहिलेको अहिले चीजहरू काखमा रेडिमेट माग्छन् उनीहरू| घरको दुःख बुझ्दैनन्| अब पनि अभिभावकले बालक बालिकाको यस बदलिँदो स्वभावमा ध्यान नपुऱ्याए पछि गएर आफ्ना नानीहरूलाई बुझ्न र उनीहरूको समस्या समाधान गर्न धेरै कठिन हुनेछ| घरमा, साथीहरूको सङ्गत तथा बालक बालिकाका हरेक क्रियाकलापमाथि आमा बाबाको दृष्टि निरन्तर रहन आवश्यक छ|

प्र. तपाईँलाई मन परेका पाँचवटा कृति र लेखकका नाम बताइदिनुहोस् न|

उत्तरः आफूलाई मन पर्ने किताबका नामहरू पनि समय र अध्ययनसितै परिवर्तन हुँदै जाँदो रहेछ| अहिलेका नयाँ पुस्ताबाट धेरैजना कवि-लेखकहरू मेरा मन पर्ने सूचीमा समाविष्ट हुँदै आइरहेका छन्| तर अघिल्ला पुस्ताका लेखकहरूबाट नाम लिन पर्दा मेरो अलटाइम फेभरेट किताबहरूमा कुमार प्रधानको पहिलो पहर, इन्द्रबहादुर राईको आज रमिता छ, मनप्रसाद सुब्बाको ऋतु क्यानभासमा रेखाहरू, पारिजातको शिरिषको फूल, गुप्त प्रधानको धूमिल पृष्ठहरू र मोहन ठकुरीको सर्जक सन्दर्भ आदि हुन्| यसबाहेक पनि अन्य केही महत्त्वपूर्ण किताबहरू छन् जसलाई यहाँ क्रमैले राख्न असक्षम छु|

प्र. अकादमी पुरस्कारले भारतेली नेपाली साहित्यलाई उकास्न कति सफल रहेको ठान्नु हुन्छ? यस्ता धेरै कृति छन् जसले अकादमी पुरस्कार नपाए पनि पाठकहरूले अहिले पनि खोजेर पढ्ने गरेका छन्|

उत्तरः शिबुज्यू, कति मिठो कुरा हुँदाहुँदै तपाईँ फेरि यो अकादमी पुरस्कारमा कसरी आइपुग्नुभयो? यस प्रश्नले मेरो दाँतमा ढुङ्गा लागे जस्तो भयो नि| प्रश्न सोधी हाल्नुभयो, उत्तर म यसरी दिन्छु| साहित्यको विकासमा पुरस्कारले केही सीमासम्म साहित्य सर्जकलाई उत्साह दिने र जिम्मेदारी बोध गराउने गर्छ| तर पुरस्कार नपाउनेलाई यसले त्यति फरक पर्दैन| समर्पित लेखकहरूले आफ्नो धर्म निर्वाह गर्नलाई पुरस्कारको आशा पनि गर्दैनन्| तसर्थ पुरस्कारद्वारा मात्र साहित्य उकासिएर माथि पुग्छ भन्ने कुरा मलाई सही लाग्दैन| भारतीय नेपाली साहित्यको विकासमा नयाँ दिल्ली, अकादमी पुरस्कारको पनि सीमित सहयोग रहेको मात्र ठान्छु| विगतमा यस पुरस्कारको जुन गरिमा र मर्यादा थियो अहिले यो पुरस्कार पटक पटक विवादको घेरामा आइरहेकाले पनि यसप्रति साधारण पाठकको चासो कमै रहेको छ| योग्य साहित्यकार तर अकादमी पुरस्कारका निम्ति अयोग्य ठानिएका साहित्यकारको नाम औँलामा लिन पर्दा कुमार प्रधान, बद्रीनारायण प्रधान, राजनारायण प्रधान, मोहन पी. दाहाल, नोर्ज्याङ स्याङदेन, राजेन्द्र भण्डारी, घनश्याम नेपाल, प्रदीप गुरुङ, नारायण प्रधान, कालुसिंह रनपहेँली, सञ्जय विष्ट, सञ्जय बान्तवा, सुधीर छेत्री,प्रवीण राई जुमेली, अर्जुन प्रधान, राजु प्रधान हिंमाशु, रेमिका थापा, सुधा राई, इन्दु प्रभा देवी आदि हुन्| उनीहरूका कृतिहरू पाठकहरूले खोजी खोजी पढ्ने गर्छन्| पाठकको असीम माया र सम्मान पाउनु जस्तो ठूलो पुरस्कार उनीहरूका लागि अरू के हुन सक्छ र? अकादमी पुरस्कार नपाए पनि हाम्रा यी प्रतिबद्ध साहित्यकारहरूले आफ्नो सिर्जना समाज, जाति र देशलाई दिइरहेका छन्| हामी यसैमा गौरवान्वित छौँ|

प्र. अहिलेका पिँढ़ीलाई साहित्य लेखनतर्फ आकर्षित गर्न कार्यशालाको आयोजना गर्नुपर्ने होइन र? हामी यस कार्यमा पनि चुकिरहेको अनुभव तपाईँ गर्नुहुन्छ?

उत्तरः साहित्य सिर्जना भनेको प्रतिभाले मात्र हुने हो भन्ने विश्वासीहरू यस्ता कार्यशालाको आयोजना गर्ने पक्षमा देखिँदैनन्| सर्जक बन्नलाई प्रतिभा चाहिन्छ, प्रतिभालाई पनि तिखार्ने माध्यम हो कार्यशाला| विषय विशेषज्ञ एवम् स्रोत व्यक्तिहरूले यस्ता कार्यशालामा आएर रुचि भएका प्रतिभाशाली तथा परिश्रमी नानीहरूलाई लेखन अभ्यास गराउँछन्| यसका विविध प्रविधिहरूबारे जानकारी गराउँछन्| लेखनगत कमी कमजोरी कसरी चिन्ने? ती कुराहरूमाथि प्रकाश पार्छन्| साहित्यको महत्त्व र लेखन कौशलताबारे बालक बालिकालाई सबिस्तार बताउँछन्| यस्ता कार्यशालाको आयोजनालाई म उपयोगी मान्दछु| तर हामीसित आयोजक राष्ट्रिय संस्थाहरू छैनन्| स्थानीय संस्थाहरूको ध्यान यसमाथि पुग्नु समयको माग हो| आमा बाबाले आफ्ना नानीहरूको प्रतिभा हेरेर चित्रमा रुचि राख्नेलाई चित्रकारिताको क्लास, सङ्गीतमा झुकाउ राख्नेलाई सङ्गीतको क्लास, गाउन मन पराउनेलाई गायन क्लासमा गुरुबाट शिक्षा आर्जन गर्न पठाउँछन् भने कविता-कथा लेख्ने नानीहरूलाई पनि यस्ता कार्यशालामा सहभागी हुने अवसर दिइए अवश्यै यस पिँढ़ीको आकर्षण साहित्य लेखन र पठन दुवैतर्फ बढ़ेर जानेछ| यस कुरामा म विश्वयस्त छु|

प्र. हामी जहिले पनि विवाद रुचाउने जाति| भर्खरै मात्र भइरहेको विवादमा भानुभक्तको सालिग चौरस्ताबाट हटाएर अगमसिंह गिरीको सालिग राख्नुपर्ने सामाजिक सञ्जालबाट थाहा भयो| यस विवादको विरुद्ध कला, साहित्य, सङ्गीतका क्षेत्रबाट वा हरेक स्तरका मानिसहरू लामबद्ध हुनुपर्ने हो तर हाम्राहरू अघि आएर विरोध गर्न नसक्ने भएका छन्| तपाईँलाई कस्तो लाग्छ?

उत्तरः शिबुज्यू, मलाई मुक समाजभन्दा विवाद गर्ने समाज मन पर्छ| विवाद सिर्जना हुनलाई म सकारात्मक रूपमा हेर्छु| विवाद भएको राम्रो ठान्छु| विवाद भए, विमर्श हुन्छ, विमर्श भए विकास| जाति, समाज र साहित्यमा विवादले विमर्श निम्ताउँछ, छलफल हुन्छ, मन्तव्यको आदान प्रदान हुन्छ र त्यसले हामीलाई एउटा निर्णयमा पुऱ्याउँछ| तर हरेक कुरामा जबरजस्ती विवाद निम्ताउनु राम्रो होइन| त्यसले जाति र समाजको विकास होइन पतन गराउँछ| समाजको सांस्कृतिक मूल्य र मान्यतामा ह्रास ल्याउँछ| चौरस्तामा कवि भानुको सालिग हटाएर कवि गिरीको सालिग राखिने कुरा बिना कारण र ब्यर्थमा ल्याइएको विवाद थियो| एकजना व्यक्तिको अस्वस्थ विचारको उपज थियो| म आफ्नो समाज, जाति, भाष-साहित्य र देशको एकजना दायित्वशील नागरिक हुँ | त्यो स्टाटस पढ्न साथ म केही क्षण विचलित बनेँ| मलाई त्यहाँ लेखिएका शब्दहरूले हाम्रो शान्तमय र मैत्रीपूर्ण वातावरणलाई विकृत पार्न, खल्बलाउन, हामीलाई उत्तेजित बनाएको जस्तो लाग्यो, समग्रमा त्यस स्टाटसको उद्देश्य घातक लाग्यो र मैले तुरुन्तै सामाजिक सञ्जालमा आफ्नो स्वतन्त्र स्टाटस लेखेर त्यसको विरोध गरेँ| यसमा सहमत हुने मेरा केही साथी भाइबाहेक धेरैजना भारत बाहिरबाट थिए| अहिले पनि त्यो स्टाटस मेरो टाइमलाइममा पाउनु हुनेछ| मलाई लाग्छ, शिबुज्यू, तपाईँले त्यो पढ्नुभएर नै मलाई यो प्रश्नब गर्नुभएको हो| तपाईँको प्रश्नमा मैले उत्तर पनि पाएँ| यसभन्दा धेर यसलाई व्याख्या गर्ने आवश्यकता मलाई लाग्दैन|

प्र. तपाईँको नयाँ कृति बबी जामा पढ्दा म जस्तो साधारण पाठकको मन छोयो| यो कृति एक दशक अघि आउनुपर्ने थियो| ढिलो आयो भनेर पछुतो लागेको छैन|

उत्तरः खुसी छु, यस पटक म साँच्चै आम पाठकसम्म पुग्न सक्षम भएँ बबी जामाको माध्यमबाट| पाठकबाट अग्घोरै माया र आशीष पाएँ| बबी जामा सही समयमा नै लेखेछु| यसभन्दा ढिलो गरेकी भएँ, पछुतो गर्नुपर्ने थियो|

प्र. भारतेली नेपाली साहित्यमा यस्ता धेरै राम्रा कृतिको समालोचना सठिक ढङ्गमा भएको जस्तो लाग्दैन| अर्कोतिर कमसल कृतिको समालोचना राम्ररी भएको देखेका छौँ| यसलाई तपाईँले कसरी हेर्नुभएको छ?

उत्तरः भारतको नेपाली साहित्यमा सर्जकका तुलनामा कम समालोचकहरू छन्| अहिलेसम्म जति पनि समालोचना लेखिएका छन् त्यसलाई सही ढङ्गमा भएको छैन नभनेर म सन्तुलित ढङ्गमा भएको छैन भन्छु| समालोचनाका पनि धेरै प्रकार हुन्छन्, समालोचकहरूले कुन प्रकारका समालोचना लेख्छन् वा लेखिरहेका छन् त्यसलाई सहज तरिकाले खुट्ट्याउन गाह्रो भइरहेको अवस्था छ कारण समालोचक स्वयमलाई यसबारे सही जानकारी छैन| समालोचकले सर्वप्रथम आफ्नो समालोचना प्रकारलाई चिन्न आवश्यक छ| समालोचना निकै चुनौतीपूर्ण विधा हो| सैद्धान्तिक आधारमा समालोचना गर्दा त्यस सिद्धान्तको राम्रो ज्ञान नभई समालोचकले त्यस कृतिको विश्लेधषण गरे त्यस अध्ययनले कृति वा लेखलाई पूर्ण न्याय दिन सकेको हुँदैन| यस्ता गल्ती समालोचकबाट नभएकै वेश हो| गहन अध्ययनले समालोचनालाई स्वस्थ र पोसिलो बनाउन सके, समालोचक सधैँ आफूलाई सहज बोध गर्न सक्छन्| कहिलेकाहीँ आफ्नो साथी भाइको समूहलाई विशेष प्राथमिकतामा राखी कमसल कृतिको पनि समालोचना भएको देखिन्छ| यो त समालोचकका योग्यतामा भर पर्दछ| साधारण पाठकले ठानेको कमसल पुस्तकलाई एउटा असल समालोचकले राम्रो समालोचना लेखेर त्यसलाई उत्कृष्ट कृतिका रूपमा स्थापित गरे त्यो पुस्तक असल पुस्तकका श्रेणीमा पर्न सक्छ| यस्ता अध्ययन विश्लेषणलाई म राम्रो मान्छु|

प्र. हाम्रो साहित्यको दुर्बल अनि सबल पक्ष के कस्तो रहेको देख्नुहुन्छ?

उत्तर: हाम्रो साहित्यको सबल पक्ष, हाम्रा सर्जकहरूले विषम परिस्थितिमा पनि साहित्य सिर्जना गर्न छोड्दैनन्| आफ्नो लगानीमा पुस्तक प्रकाशन गरिरहेछन्|बजार व्यवस्था दयनीय छ| पुस्तक पसलबाट सायदै किताबहरू बिक्री होलान्| पुस्तक वितरण साथी भाइमा चलिरहने प्रक्रियाले पुस्तक पठन संस्कारलाई हुर्काएको देखिन्छ| किताबको लगानी उठने आशा नभए पनि लोकार्पित पुस्तकमाथि चर्चाको कार्यक्रम आयोजना हुनु पनि साहित्यको सबल पक्ष नै हो|अनवरत रूपमा साहित्यकारहरू तन मन धनले लेखिरहेका छन्| कविता र आख्यान मात्र होइन हिजोआज लोक साहित्य, निबन्ध, नाटक, स्मरण विधाहरू पनि अघि बढ्ने क्रममा छन| गीत, चलचित्र, पत्रकारिता र अनुवाद विधालाई साहित्यको महत्त्वपूर्णविधाका रूपमा स्विकारिएको एउटा सुखद समाचार पनि छ नेपाली साहित्यको सबल पक्ष मान्छु| हालमा समकालीन विषय एवम् शिल्प चेतनाका दृष्टिले भारतीय नेपाली साहित्य समृद्ध बन्दै गएको देखिन्छ| दुर्बल पक्ष भनेको लिखित र प्रकाशित कृतिहरूमाथि पर्याप्त चर्चा परिचर्चा नहुनु हो| कृतिमाथि खुलेर विमर्श गरिने परिवेश निर्माणमा हामी पछि देखिन्छौँ| हाम्रो साहित्यमा अझ पनि अध्ययनशील र चिन्तनशील लेखक पाठकको खॉंचो रहेको देखिन्छ| प्रशंसा गर्ने अतिवादी समालोचकले पनि साहित्यको दुर्बलतालाई छोप्ने काम गरिरहेका छन्| स्वस्थ परिवेशमा पूर्वाग्रहपूर्ण साहित्य पठन हुनु पनि साहित्यको दुर्बल पक्ष नै हो| परिश्रम नगरी, दुःख नगरी अहिलेघरि च्याउ सरह उम्रिरहेको र हुर्किरहेको वाट्सअप विश्वाविद्यालयमार्फत आफ्नो काम सहज तरिकाले बनाउने, नाम कमाउने सुविधाभोगी सर्जकहरूले पनि साहित्यलाई दुर्बल बनाउनमा सहयोग गरिरहेको छ| यस्तो प्रचलनले साहित्य विकासमा वाधा पुर्यायउने भइरहेको देख्छु म| यो अवश्यै शुभ सङ्केत होइन|

प्र.: भारतेली नेपाली साहित्यमा आर्थिक व्यापार वाणिज्यलाई केन्द्र गरी लेखिएको देखिँदैन| यसो भएको कारण ज्ञानको कमी वा सजिलो बाटो हिँड्ने हुँदा, तपाईँलाई कस्तो लाग्छ?

उत्तर: भारतेली नेपाली साहित्यमा आर्थिक व्यापार वाणिज्य मात्र होइन अन्यान्य ज्ञानानुशासनलाई समेट्न सकेको छैन| यसलाई अन्तर्विषयक साहित्य बनाउने प्रयास भइरहेको छ| ज्ञान नभएर भन्दा पनि ज्ञान भएकाले यसमाथि विमर्श गरिदिए, केही सिर्जना गरिदिए| त्यसले आगामी दिनमा हाम्रो साहित्य समाज निश्चदय लाभान्वित बन्नेछ|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement